शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सकिबको सानदार प्रदर्शनमा बंगलादेश विजयी

मङ्गलबार, १० असार २०७६, ०९ : ५८
मङ्गलबार, १० असार २०७६

सकिब अल हसनले सानदार खेल प्रदर्शन गरेपछि बंगलादेशले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा तेस्रो जित निकालेको छ । रोज बल स्टेडियममा सोमबार राति भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले हरायो । 

जारी विश्वकपमा बंगलादेशको तेस्रो जित हो । यस जितसँगै बंगलादेश तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । बंगलादेशले सात खेलबाट सात अंक बनाएको छ । सातै खेलमा हार खेपेको अफगानिस्तान अन्तिममा छ । अफगानिस्तान विश्वकपबाट बाहिरि सकेको छ । 

बंगलादेशले दिएको दुई सय ६३ रनको विजय लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा सबै विकेट गुमाएर दुई सय रनमा समेटिएको थियो । अफगानिस्तानका लागि समिउल्लाह सिनवारीले सर्वाधिक ४९ रन बनाए । गुलबदिन नइबले ४७ रन बनाए । ७५ बलको सामना गरेका उनले तीन चौका हानेका थिए । 

रहमत शाहले २४ रन बनाए । नाजिबुल्लाह जार्दनले २३, अस्घर अफगानले २०, हसमुल्लाह सहिदी र इक्राम अलिखिलले समान ११ रन बनाए । बंगलादेशका सकिब अल हसनले पाँच विकेट लिए । मुस्ताफिदुर रहमानले दुई तथा मोसदक होसेन र मोहम्मद सैफुद्धिनले एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ६२ रन बनाएको थियो । बंगलादेशका लागि मुसफिकर रहिमले ८३ रन बनाए । सकिब अल हसनले ५१ रनको योगदान दिए । 

तामिक इक्बाल ३६, मोसदक होसेनले ३५, महमुदुल्लाहले २७ र लिटन दासले १६ रन बनाए । अफगानिस्तानका मजिब उर रहमानले तीन विकेट लिए । कप्तान गुलबदिन नाइबले दुई, दवलत जद्रान र मोहम्मद नाबीले एक एक विकेट लिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप