शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आठबीसकोट बन्यो मदिरामुक्त नगरपालिका

सोमबार, ०९ असार २०७६, १९ : ५६
सोमबार, ०९ असार २०७६

रुकुम । आठबीसकोट नगरपालिका मदिरामुक्त घोषणा भएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आज जिल्लाको पहिलो स्थानीय तहका रुपमा नगरपालिकालाई मदिरामुक्त घोषणा गरे ।

नगरपालिकामा कुनै पनि प्रकारको मदिराजन्य पदार्थको आयात, उत्पादन, बिक्री–वितरण तथा सेवन पूर्णरुपमा रोक्न सफल भएपछि नगरपालिकालाई नै मदिरामुक्त घोषणा गरिएको हो । 

नगरपालिकाका १४ मध्ये १३ वडा यसअघि नै मदिरामुक्त घोषणा भइसकेको र नगरपालिकाको केन्द्रसमेत रहेको वडा नं ९ र नगरपालिकालाई सँगै मदिरामुक्त घोषणा गरिएको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । 

उनका अनुसार नगरपालिकामा हाल घरेलु मदिरा तथा अन्य कुनै पनि प्रकारको मदिरा छैन । घरेलु मदिरा उत्पादनलाई पूर्णरुपमा रोकिएको छ भने इजाजत प्राप्त मदिरा बिक्रेतालाई यस पेशाबाट विस्थापित गरी अन्य पेशामा लाग्ने प्रेरित गरेको केसीको भनाइ छ । 

जिल्ला समन्वय समिति रुकुमपश्चिमको गत माघ ५ गतेको निर्णयअनुसार नगरपालिकालाई मदिरामुक्त घोषणा गरिएको बताइएको छ । जिल्लामा मदिराकै कारण आपराधिक क्रियाकलाप बढेको भन्दै गत माघ ५ गते जिल्ला समन्वय समितिको बैठकले फागुन १६ गतेदेखि जिल्लामा मदिरा नियन्त्रण गर्ने निर्णय गरेको थियो । 

समितिको उक्त निर्णयको खारेजीको माग गर्दै मदिरा व्यवसायीहरुले उच्च अदालत सुर्खेतमा मुद्दा दिएका थिए । उक्त मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले मदिरा बन्द नगर्न अन्तरिम आदेश दिएको थियो । पछि सर्वोच्च अदालतले उच्च अदालतको आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि जिल्लामा मदिरा नियन्त्रणका लागि बाटो खुलेको हो । 

गत फागुन १४ गते वडा नं ३ लाई मदिरामुक्त घोषणा गरिएसँगै नगरपालिकामा मदिरामुक्त घोषणाको अभियान शुरु भएको थियो । कूल १३ वटा वडा मदिरामुक्त भइसकेको अवस्थामा नगरपालिकाको केन्द्र रहेको वडा नं ९ र नगरपालिकालाई एकैचोटि आज मदिरामुक्त घोषणा गरिएको हो । 

मदिरामुक्त घोषणा गरिएसँगै यसको कार्यान्वयनका लागि नगरपालिकाले चारबुँदे प्रतिबद्धता व्यक्त गरेको छ । आगामी दिनमा नगरपालिकामा मदिरा आयात, उत्पादन, बिक्री–वितरण तथा सेवनलाई पूर्णरुपमा रोकी मदिरामुक्त नगरपालिका घोषणालाई पूर्णरुपमा कार्यान्वयन गर्ने नगरपालिकाका निमित्त प्रमुख रामबहादुर केसीले प्रतिबद्धता व्यक्त गरे । 

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आठबीसकोट नगरपालिकाले कर्णाली प्रदेशमै सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन् । 

नगरपालिकालाई मदिरामुक्त घोषणा गर्दै मन्त्री ज्वालाले आठबीसकोटले एउटा ठूलो सांस्कृतिक तथा आर्थिक अभियानको शुरुआत गरेको बताउए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप