शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रधानमन्त्री ओली सिटामोल खाएर बर्बराउँदा, देश पनि बर्बरायो’

काँग्रेस नेताहरुको जमघटमा बीपी अपहरणको प्रसङ्ग
सोमबार, ०९ असार २०७६, १९ : २९
सोमबार, ०९ असार २०७६

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेताहरुले वर्तमान राज्य व्यवस्था उल्टिने खतरा बढ्दै गएको बताएका छन् । जीपी कोइराला अध्ययन केन्द्रद्वारा सोमबार काठमाडौंमा आयोजित ‘ देशको राजनीति परिस्थिति र नेपाली काँग्रसको भूमिका’ विचार गोष्ठीमा उनीहरुले यस्तो कतरा औंल्याएका हुन् । पार्टीमा तेस्रो धारको नेतृत्व गरिरहेका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारको दुई वर्षको मूल्याँकन गर्दा मुलुक दुर्घटना उन्मुख रहेको बताए । 

उनले भने, ‘मुलुकको पछिल्लो परिवर्तन त्यतिकै सम्भव भएको थिए । सबै राजनीतिक दललाई गिरिजाबाबुले एउटै अम्रेलामा लाउँदा सम्भव भएको थियो । तर वर्तमान सरकारको दुई वर्षको बाल्यकाललाई मूल्याँकन गर्ने हो भने मुलुक दुर्घटना उन्मुख पुगेको छ । सकार सञ्चालन गर्नेहरु र दलका नेताहरु पनि लोकतन्त्र विनाको समाजवादको कुरा गर्दै आएका छन् ।’

नेता सिटौलाले गुठी विधेयकका विरोधमा जनसागर उर्लिएको भन्दै सरकारले त्यसबाट चित खोल्नु पर्ने बताए । उनले भने, ‘केही दिनअघि काठमाडौंमा गुठी विधेयकका विरुद्ध जनसागर उर्लियो । सरकार सञ्चालन गर्ने व्यक्ति र दलले सोच्नुपर्छ । सकड तात्यो भने ठूलो संख्याले मात्र सरकार रहँदैन । त्यो तातेको सडक व्यवस्थासँग रिसाएपछि त्यो व्यवस्था पनि रहँदैन ।’  नेता सिटौलाले मुलुकमा समय–समयमा परिवर्तन हुने गरेको भन्दै त्यसलाइ स्थिरतारि लिन नसक्दा बारम्बार मुलुकले मूल्य चुकाउनुपरेको बताए । ‘२००७, ०१५, ०४६ सालमा पनि परिवर्तन आएको हो । त्यो आएको परिवर्तनलाई हामीले स्थिरतातिर लिन सकेनौँ । अब काँग्रेस चनाखो हुनुपर्छ,’ उनले भने,‘फेरि वर्तमान सरकारले संविधान र व्यवस्थामाथि नै प्रहार गरिरहेको छ । काँग्रेस थाकेको, डराएको जस्तो रुपमा बसेको छ ।

त्यसले यो व्यवस्थामाथि प्रश्न उठ्दै गएको छ ।’ सोही कार्यक्रममा नेता गगन थापाले प्रधानमन्त्री क्याम्बोडियाको हुसेन सरकारको बाटोमा लागेको आरोप लगाए । उनले भने, ‘हाम्रो प्रधानमन्त्रीलाई सबै भन्दा बढी मन पर्ने देश क्याम्बोडिया हो । उहाँ क्याम्बोडियाको हुसेन सरकारको बाटोमा जाँदै हुनुहन्छ । विश्वासमा यतिबेला बन्दुकबाट सत्ता कब्जा गर्ने भन्दा पनि जनताबाट निर्वाचित भएर आएको अनुदार शासकले सत्ता कब्जा गर्दै आएका छन् । त्यसको एउटा उदहारण हो क्याम्बोडिया ।’

नेता थापले विभिन्न निकाय कब्जामा लिन सरकारले कानुनी प्रक्रिया अगाडि बढाउन थालेको दाबी गरे । ‘संसदमा आएका मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि सम्बन्धि विधेयक, राष्ट्रय सुरक्षा परिषद् सम्बन्धि विधेयक पास ल्याउन खोजेर वर्तमान कम्युनिष्ट सरकार हुसेन सरकारको बाटो पछ्याइ रहेको छ ।’

यसैगरी केन्द्रीय सदस्य प्रदीप पौडेलले नेता देवराज चालिसेको भाषा सापट लिँदै प्रधानमन्त्री सिटामोल खादा खाँदा बर्कराउन थालेको संगिन आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री ज्यु सिटामोल खाएर बर्बराउनुभएको छ । उहाँ बर्बराउँदा देश नै बर्बराउन थाल्यो ।’ साथै नेता पौडेलले प्रधामन्त्री नालायक बन्दै जाँदा व्यवस्थामाथि नै जनता रिसाउने दिन आउँछ कि भन्ने आशंका व्यक्त गरे । सरकारले सबै निकाय कब्जामा राखेर पूर्व राजाको बाटोतिर लागेको पौडेलको आरोप छ । ‘प्रधानमन्त्रीले सबै नियकाय आफ्नो राख्नुभएको छ । हिजो राजाको तजबिजमा सेना परिचाल गरिन्थ्यो । आज प्रधानमन्त्रीले पनि आफ्नो तजबिजमा सेना परिचालन गर्न पाउने गरि विधेयक ल्याउनुभएको छ ।’

कार्यक्रममा सरकारमाथि सबै भन्दा खनिएका नेता देवराज चालिसेले प्रधामन्त्री केपी ओलीलाई गधामाथि चडेर भारी बोक्ने मुर्खको संज्ञा दिए । उनले भने, ‘म एउटा कथा भन्छु । भारतमा कौरवले मुर्ख खोज्न पठाउँदा बाटोमा गधामाथि चडर घाँसको भारी बोक्ने मुर्ख भेटाएका थिए । हाम्रो देश सञ्चालन गरिरहेको व्यक्ति पनि त्यस्ते मुर्ख जस्तो लाग्छ । उहाँले पनि सबै अधिकार आफूमा केन्द्रीत गर्न भएको छ ।’ साथै उनले प्रधानमन्त्री औषधीले बर्बराउने गरेको आरोप लगाए ।नेता हुमागाइले पछिल्लो समय देशमा उग्रवामपन्थी र उग्रदक्षिण पन्थीको मिलन हुँदै गएको बताए । उनले यसबाट मुलुकमाथि खतरा बढ्दै गएको बताए ।

सभापति देउवामाथि खनिए

नेताहरु सरकारमाथि मात्र खनिएनन् । पार्टी नेतृत्वप्रति पनि उनीहरुको उस्तै रोष छ । नेतृत्वले पार्टीलाई संघीय संरचनामा बेवस्ता गरेको नेता सिटौलाको आरोप छ । ‘काँग्रेस पार्टीमा मूल कुरा केन्द्रीय मानसिकता छ । मुलुक संघीय संरचनामा गएर कहाँ पुगिसक्यो । तर हामी केन्द्रीय मानसिकताबाट बाहिर आउन सकेका छैनौँ । हामीले पार्टीको तल्लो तहको युनिट बनाउन ढिलो गर्नु हुँदैन । जागरण अभियानमा यसको अभाव खड्कियो ।’ साथै नेता सिटौलाले सबै नेता बुथबाट निर्वाचित भएर आउने कुराबाट सभापति ब्याक भएकोप्रति कार्यकर्ताको ठूलो गुनासो रहेको बताए । ‘म जागरण अभियानको क्रममा कार्यकर्ता माझ जादा उहाँहरुले भन्नु हुन्छ । हामीले सँधै नेताहरुलाई मालिक मान्नुपर्ने ? तपाईहरुले बुथबाट निर्वाचन भएर जानुपर्दैन ? भन्छन् ।’ 

यस विषयमा सभापतिलाई पनि आफूले कुरा राख्दा गल्ती भएछ यसको सोच्छु भनेको नेता सिटौलाले बताए । उनले युवा नेताहरुलाई नेतृत्व हस्तान्तर गर्ने बुढा नेता कोही तयार नदेखिएको भन्दै रेसबाट ओभरट्याक गरेर आउन सुझाव दिए । नेता सिटौलाले पार्टीलाई जतिसक्दो चाँडो १४ औँ महाधिवेशनमा लैजानुको विकल्प नभएको पनि बताए ।

यस्तै नेता थापाले पनि पार्टी हितलाई ध्यानमा राखि फागुनमै अधिवेशनमा जानुपर्ने कुरामा जोड दिए । उनले भने, ‘फागुनमा महाधिवेशन गर्दा पार्टीलाई घाटा हुन्छ भन्ने कोही एक जना देखाउनुहोस् । कोही छैन । त्यसो भए महाधिवेशन गर्ने किन ढिलो गर्ने त ? सभापति ज्युलाई मेरो आग्रह छ । महाधिवेशन गर्न ढिलो गर्नुहोस् ।’ 

नेता थापाले आफूहरुबाट केही गल्ती भएको भन्दै त्यस्ता दाग हटाउनतिर लाग्नुपर्नेमा जोड दिए । हामीबाट केही गल्ती भएका छन् । हाम्रो अनुहारमा त्यसको दाग छ । त्यो दाग मेटाउनतिर लाग्ुनपर्छ । यो त हाँस्दा परेको डिम्पल हो भनेर हँुदैन । त्यसलाई हटाउँनैपर्छ ।

नेता पौडेलले पनि पार्टी संघीय संरचनामा जान नसक्दा जनमासमा प्रश्न खडा भएको बताए । उनले भने, ‘हामी सरकारले संघीयता विपरित काम गर्यो भन्छौँ । तर हाम्रो पार्टीको संरचना पनि संघीयताअनुसार छैन । जसले संघीयताको विषयमा जनमानसमा काँग्रेसप्रति आशंका छ । यसले संघीयता आत्मैदेखि स्वीकार्यको त छैन भनेर ।’ नेता पौडेले विधान विपरित पार्टीलाई संघीय संरचनामा लिन लागिएको भन्दै आफूलाई स्वीकार्य नहुने बताए । यस्तै नेता उमाकान्त चौधरीले काँग्रेस अरुलाई लोकतान्त्रिक संस्कार सिकाउने काँग्रेस आफै लोकतन्त्रिक विधि पद्धति विपरित अगाडि बढेको बताए । नेता चालिसेले नेतृत्वले पार्टीलाई ४ घण्टा पनि समय नदिएकाले काँग्रेस कमजोर बन्दै भएको बताए ।  काँग्रेसलाई राम्रो गाडीको संज्ञा दिँदै राम्रो गाडी मात्र भएर नहुने उनको तर्क छ ।

उनले भने, ‘नेपाली काँग्रेस राम्रो गाडी हो । यसले देशको परिवर्तनलाई बोकेको छ । तर गाडी राम्रो भएर मात्र हुँदैन । साचलक पनि राम्रो चाहिन्छ । यहाँ त कन्डक्टर पनि बेमान भए । पैसा चोर्न थाले । अनि गाडी राम्रो भएर के हुन्छ ।’ यस्तै नेविसंघका निवर्तमान महामन्त्री कुन्दन काफ्लेले काँग्रेस कागजी घोडाबाट नचल्ने बताए । उनले भने, ‘नेपाली काँग्रेस कागजी घोडाबाट चल्न सक्दैन । काँग्रेस चलाउन बायुपंखी घोडा चाहिन्छ ।’ साथै उनले एकातारि नीति र अर्कोतिर नेतृत्व हिँडेकाले काँग्रेस यो अवस्थामा पुगेको काफ्लेको भनाइ छ ।

वीपी अपहरण प्रसंग
काँग्रेसका संस्थापक नेता बीपी कोइरालको मेलमिलापको नीति राप्रपाले मागदर्शक सिद्धान्त बनाएकोप्रति उनीहरुले आपत्ति जानएका छन् । नेता सिटौलाले बीपीबारे गलत ब्याख्या गर्ने गरेको बताए ।  उनले भने, ‘यहाँ राजा महेन्द्र र बीपीलाई राष्ट्रप्रेमी र विकासप्रेमीको रुपमा ब्याख्या गरिने गरेको छ । बीपी सर्वसत्तावाद र निरंकुशता विरोधी हुनुहन्थ्यो । उहाँ र महेन्द्रलाई कसरी तुलन गर्न मिल्छ । बीपीबारे गलत ब्याख्या हुने गरेको छ । त्यसमा काँग्रेस चनाखो हुनुपर्छ ।’

यस्तै नेता थापाले बीपीको अपहरण भन्ने कुरा आएको भन्दै निर्वाचनमा बाबुराम, कमल थापा र उपेन्द्र यादवलाई बोक्नुको परिणाम भएको बताए । उनले भने, ‘बीपी अपहरण भएको भन्ने छ ।  निर्वाचनमा, बाबुराम, कमल थापा र उपेन्द्र यादवलाई बोक्दाको परिणाम हो । त्यसो किन गरिएको थियो भनेर सोध्दा कसैले केही जवाफ दिँदैन ।’ यस्तै नेता पौडलले गणतन्त्रवादी बीपीलाई राजावादीले गलत ब्याख्या गरेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप