बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाल मेडिसिटी अस्पतालमा फोक्सोपछि स्तन ट्यूूमरका लागि माइक्रोवेभ एबलेसन प्रक्रिया सफल

सोमबार, ०९ असार २०७६, १८ : ५८
सोमबार, ०९ असार २०७६

ललितपुर– ३ साता अघि ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘बाट फोक्सोमा रहेको ट्यूूमरको सफल उपचार गर्न सफल नेपाल मेडिसिटी अस्पतालमा स्तनमा रहेको फाइब्रोडेनोमा अर्थात ट्यूूमरको पनि सफल उपचार गरिएको छ । १६ वर्षिय किशोरीको दुवै स्तनमा रहेका ट्यूूमरहरुलाई ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘बाटै निष्क्रिय गरिएको हो । 

उपचारमा संलग्न चिकित्सक डा. ओम विजु पन्तका अनुसार सो किशोरीको बायाँ स्तनमा ३ तथा दायाँमा ४ स्थानमा ट्यूूमर रहेको थियो । स्तनका लागि यस किसिमको अभ्यास नेपालमा पहिलो भएको उनले बताए ।

केहि साता अघिमात्रै नेपाल मेडिसिटी अस्पतालमा नेपालमै पहिलो पटक एक २० वर्षीय युवकको फोक्सोको ट्यूूमरलाई सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘ अर्थात बिना शल्यक्रियानै उपचार गरिएको थियो । 

माइक्रोवेभ एब्लेसन एक यस्तो प्रविधि हो जसले कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी, स्तन तथा हड्डी लगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्यूूमरको उपचार गर्न सक्छ । साधारणतया महिलाहरुको स्तनमा देखिने क्यान्सर रहित ट्यूूमरलाई फाइब्रोडेनोमा भन्ने गरिन्छ । 

मांसपेशीमा मात्र लठ्ठाएर गरिएको यस माइक्रोवेभ एब्लेसनले शरिरमा दाग नपार्ने र एकैपटकमा धेरैवटा घाउँहरुको उपचार गर्न सकिने चिकित्सकको भनाइ छ । 

नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ सर्जन डा. सुनिल कुमार शर्मा ढकालसँगै इन्टरभेन्सन रेडियोलोजिस्ट डा. ओम विजु पन्त र डा. विवेक गुरुङ तथा एनेस्थेसियोलोजिष्ट डा. अपुर्व शर्माको संलग्नतामा स्तनको माइक्रोवेभ एब्लेसन सफल भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप