शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कबिर सिंह जस्तो फिल्म हेरेर किन ताली बजाइरहेका छन् मानिसहरु ?

सोमबार, ०९ असार २०७६, ११ : ५४
सोमबार, ०९ असार २०७६

दिव्या आर्य /बीबीसी

फिल्म ‘कबिर सिंह’ प्रेम कहानी होइन । यो एक व्यक्तिको पागलपनको कहानी हो । कबिर सिंहको पागलपन घिनलाग्दो छ । र फिल्मले त्यही घिनलाग्दो व्यक्तिलाई हिरो बनाएको छ ।

ती व्यक्तिले जब आफ्नो प्रेम पाउँदैन तब बाटो हिँड्ने जोसुकै महिलासँग शारीरिक सम्बन्ध स्थापित गर्न चाहन्छ ।

यहाँसम्म कि एक युवतीले अस्विकार गर्दा चक्कु देखाएर उनलाई कपडा उतार्न लगाउँछन् ।

उनले यसअघि आफ्नी प्रेमिकासँग साढे चार सय पटक यौन सम्बन्ध स्थापित गरिसकेका छन् र उनी नभएको अवस्थामा उनले आफ्नो गर्मीलाई शान्त गर्नका लागि खुल्लमखुल्ला आफ्नो पाइन्टभित्र बरफ हाल्छन् ।

र पुरुषार्थको यो प्रदर्शनीमा सिनेमा हलमा हाँसोको फोहोरा उठ्छ ।

तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ मा आधारित यो फिल्म ती प्रेमीको कहानी हो जसको प्रेमिकाको परिवार उनीहरुको सम्बन्धको विरुद्धमा छन् र प्रेमिकाको विवाह जबरजस्ती कुनै अन्य पुरुषसँग गराइदिन्छन् ।

Photo: FACEBOOK/KABIRSINGHMOVIE

जंगलीपनामा परिवर्तन भएको विलापः

त्यसपछि प्रेमी कबिर सिंहको विलाप जंगलीपनामा परिवर्तन हुन्छ किनभने त्यो भूमिकाको मानसिकता सुरुदेखि नै महिलालाई आफ्नो जागिर ठान्ने र ‘उनी मेरो हुन सकिनन् भने कसैको हुन दिन्नँ’ भन्ने किसिमको छ ।

प्रेमिका सधैंभरी कुर्ता सुरुवाल र सलमा देखिन्छिन् तर उनले उनलाई घाँटी छोप्न भन्छन् ।

उनी ‘उसको’ हो भनेर स्पष्ट पार्नका लागि पूरा कलेजलाई धम्काउँछ । होलीमा सबैभन्दा पहिले उसैले रंग लगाउनका लागि ठूलै प्रबन्ध मिलाउँछ ।

उनलाई योसम्म भन्छ कि उनकी प्रेमिकाको कुनै अस्तित्व छैन र ‘कलेजमा कबिर सिंहको प्रेमिका भएका कारण मात्र मानिसहरुले उनलाई चिन्ने’ बताउँछन् ।

खुल्ला रुपमा रक्सी पिउने, चुरोटको धुँवा उडाउने र दिल्लीजस्तो खुल्ला विचार भएको शहरमा विवाह अघि साधारण रुपमा सेक्स गर्ने माहौल, यो सबै एउटा खेल हो ।

Photo: FACEBOOK/KABIRSINGHMOVIE

आधुनिक समाजका गुण्डा

यो फिल्ममा प्रगतिशील, खुल्ला विचार, नयाँ सोच भन्नेजस्ता कुनै पनि कुरा छैनन् । यो फिल्मका हिरो आफ्नी प्रेमिकालाई कुनै पनि तरिकाले आफ्नो बसमा पार्न चाहन्छ र आफूले चाहेको कुरा भएन भने रिसाहा स्वभावको आडमा जंगली व्यवहार देखाउँछ ।

उनले पितामाथि दुर्व्यवहार गर्छन्, आफ्ना साथी र उनीहरुको कामलाई निच देखाउँछन्, आफ्नो कलेजको डीनको अपमान गर्छन्, हजुरआमामाथि चिच्याउँछन् र आफ्नो घरमा काम गर्ने सहयोगीले सिसाको गिलास फुटाउँदा उनलाई चार तल्लाको भर्याङबाट दौडाउँछन् ।

वास्तवमा कबिर सिंहका मुख्य पात्रलाई कुनै फुर्का नगाँसी भन्नु पर्दा उनी एक गुण्डा हुन् ।

प्रेम पाउने जिद्दी र नपाउँदाको चोट, दुबै बहाना मात्र हुन् । यो भूमिकाको व्यवहारलाई ठिक बताउनका लागि । उनलाई हिरो बनाउनका लागि ।

हिन्दी फिल्मका हिरोले जस्तोसुकै अपराध गरेपनि माफी दिइन्छ । ती पात्रको कमजोरीलाई यसरी पेश गरिन्छ कि हेर्नेहरुको नजरमा त्यो बाध्यतामा गरिएको गल्ती देखिने गर्छ ।

Photo: FACEBOOK/KABIRSINGHMOVIE

कबिर सिंहको अत्यधिक रिस होस्, दुरवचन होस् वा आफ्नी प्रेमिकासँग दुर्व्यवहार, उनका साथी, उनको परिवार, उनका सहपाठी, कलेजका डिन र उनकी प्रेमिकासम्मले उनलाई माफी दिन्छन् भने हेर्नेहरुले किन माफी नदिने ?

दशकौंदेखि महिलालाई नियन्त्रणमा राख्ने पुरुषार्थ देखाउने पात्रलाई यहाँ निकै रुचाइएको छ । यस्ता फिल्मले करोडौं कमाउँदै आएका छन् ।

कबिर सिंह जँड्याहा हुन्छन् तरपनि उनका साथीहरुले उनको साथ छोड्दैनन् । उनका एकजना साथीले आफ्नी बहिनीसँगको विवाहको प्रस्तावसमेत लिएर आउँछन् ।

‘मेरी बहिनीलाई तेरो बारे सबैकुरा थाहा छ तर पनि तँलाइं औधी रुचाउँछे, तँ उसँग विवाह गर्छस् ?’

एक महिलाले दिएको पीडाबाट निस्कनका लागि अर्की महिलाको बलिदान ।

Photo: FACEBOOK/KABIRSINGHMOVIE

यसको जिम्मेवार प्रेमिकाः

एक जँड्याहा बदमास व्यक्ति जो प्रेमको चोटलाई कारण बनाएर जो सुकै महिलासँग सुत्छ, यस्ता व्यक्तिलाई प्रेम गर्ने बहिनी ।

एकपटक पुनः एउटा फिल्म प्रेमको नाममा हिंसाको उत्सव मनाइरहेको छ । सिनेमा हलमा निकै ताली बजिरहेका छन् । सिठ्ठी बजाएर हिरोको प्रशंसा भइरहेको छ ।

तर महिलालाई कस्ता पुरुष मनपर्छ ? यस्तो त होइन । फिल्मको काल्पनिक दुनियाँमा पनि यस्तो व्यक्ति मेरो हिरो हुनसक्दैन ।

जसले मलाई प्रेम गर्छ तर मेरो अस्तित्वलाई अस्विकार गर्छ, मलाई हरेक क्षण नियन्त्रणमा राख्न खोज्छ, जसलाई मेरो धारणाबारे न थाहा छ न वास्ता नै ।

र यदि मैले उनलाई भेटिनँ भने किताबमा लेखिएको हरेक घृणित क्रियाकलाप गर्छ । फिल्ममा पटक–पटक ती सबै व्यवहारका लागि उनलाई होइन, उनकी प्रेमिकालाई जिम्मेवार देखाइएको छ ।

सबै समस्याको जड उनलाई बताइएको छ । कबिर सिंहको रिस, रक्सीप्रति उनको आकर्षण, आत्महत्या गर्ने कोसिस, यो सबैका लागि उनकी प्रेमिका जिम्मेवार बताइएको छ ।

ती प्रेमिकाको जीवन, उनको एक्लोपन, यसबारे कुनै चर्चा हुँदैन । र अन्त्यमा उनी अचानक कबिर सिंहको हरेक ती गल्तीलाई माफी गरिदिन्छिन् र उनी हिरो बन्छन् ।

प्रेमजस्तो सुन्दर सम्बन्धमा हिंसालाई कुनै पनि तरिकाले सही मान्न सकिँदैन । दशकौंदेखि जुन बराबरी र आत्मसम्मानको लडाईं महिलाले लडिरहेका छन् त्यसबारे कसरी चेत खुल्छ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप