बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुमार पौडेल प्रकरणमा जनार्दन शर्मा : हामीसँग जनताको रिर्पोट छ, गोली हानेको मान्छेको ५/६ ठाउँमा हात कसरी भाँचियो ?

सोमबार, ०९ असार २०७६, ११ : ४०
सोमबार, ०९ असार २०७६

काठमाडौं–नेकपाका नेता एवं सांसद जनार्दन शर्माले विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको घटना अस्वभाविक भएको बताएका छन् ।

 सोमबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रश्न गर्दै विगतमा झै मुठभेडका नाममा हत्या गर्ने शैलीको झल्को आएको बताए । 
पूर्वगृहमन्त्री समेत रहेका शर्माले हिजोका दिनका आफ्ना साथीहरु धनमाया लगायतको मुठभेडको नाममा हत्या भएको घटनाको स्मरण गर्दै प्रश्न गरे, ‘के हामी फेरि त्यही घटनालाई दोहोर्यान चाहन्छौँ ?

कमसेकम साधारण मानवअधिकारको त पालना त गर्नुपर्छ नि । प्रहरीको संविधान कार्यान्वन गर्नुपर्ने जिम्मेवारी छैन ? यस्ता घटनाका बारेका फेरि प्रश्न सोधिराख्ने ठाउँ नआओस् । पाँच सय जना कार्यकर्ता त पक्राउ गर्नुभएको छ नि, त्यसमा हामीले प्रश्न उठाएका छौँ र ? त्यसलाई वार्तामार्फत अघि बढाउनुपर्छ । 

उनले गृहमन्त्री रामबहादुर थापाले तलको प्रहरीले जे टिपायो त्यही रिर्पोट प्रस्तुत गरेको बताउँदै आफूसँग जनताको रिर्पोट रहेको बताए । 

उनले भने, ‘कुमार पौडेलको घटनामा सरकारको एउटा रिर्पोट होला । तर हामीसँग जनताको रिर्पोट पनि छ, फोटो पनि छ । ५/६ ठाँउमा त हात नै भाँचिएको छ । पहिले हात भाँचियो कि गोली हानेर हात भाँचिएको हो ? यसले त विद्रोह ल्याउँछ ।’ 

उनले अहिले जनता डिजिटल युगमा रहेको बताउँदै तथ्यलाई बंग्याउन थालियो भने जनताले विश्वास नगर्ने बताए । उनले अहिलेको सूचना प्रविधिको युगमा झुटो बोलेर भ्रम छर्न नसकिने बताए । 

नेपाल प्रहरी पनि सूचना प्रविधिको प्रयोगमा अभ्यस्त भइसकेको बताउँदै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रश्न गरे, ‘अहिलेको डिजिटल समयमा आइजीलाई को कहाँ बस्छ भन्ने सूचना आउँदैन ? आउँछ नि, किन आउँदैन ?  हिजो हामी द्धन्द्धमा छँदा प्रहरीले पनि त्यस्ता घटना नघटाइदिएको भए हामीसँग जनसमर्थन बढ्दैनथ्यो कि । त्यसैले प्रहरीले पनि द्धन्द्धलाई बढाउने काम गर्नुहुँदैन । यो घटनाको सत्यतथ्य छानविन र दोषीलाई कारवाही होस् ।’ 

उनले विप्लवमा प्रतिबन्द्ध लगाउन आवश्यक थियो भन्ने प्रश्न गर्दै द्धन्द्ध बढाउने काम नगर्न आग्रह गरे । द्वन्द्व भड्काउने, संविधानको पालना नगर्ने समूह अहिले पनि क्रियाशील रहेको बताउँदै उनले द्वन्द्वतिर  नभई शान्तितिर जानुपर्नेमा जोड दिए । 

उनले भने, ‘राजनीतिक रुपले अर्को द्वन्द्वको सुरुवात हुनुहुँदैन । संविधानले सबै व्यवस्था गर्दा पनि मुलुक फेरि द्वन्द्वको बाटोमा अघि बढनुहुँदैन । हामीसँग संविधान छ, त्यसको सरकार र हामी सबैले काम गर्नुपर्छ । संविधानको कार्यान्वन नगर्नु नै समस्या हो ।’ 

नेता शर्माले जनताको मनोभावना बुझेर मात्र काम गर्न पनि सुझाव दिए । जनताको मनोभावना बुझेर मात्रै कानुन बनाउनुपर्ने रैछ भन्ने कुरा गुठी आन्दोलनले प्रष्ट पारेको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप