शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब पलेँटीमा मुन–मदन

आइतबार, ०८ असार २०७६, १९ : २०
आइतबार, ०८ असार २०७६

काठमाडौं– असार महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा संगीतकार शान्ति ठटालले धुन भरेको मुना–मदन प्रस्तुत हुने भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुना–मदनमा शान्ति ठटालले सन् ७०ताका संगीत भरेकी थिइन् । 

संगीतकार ठटालकै अगुवाइमा सन् १९७७ मा गान्तोकमा यसको प्रदर्शन पनि भएको थियो । गीति नाटककै स्वरुपमा प्रदर्शित भएको सो कृतिका धुन भने बिस्तारै विस्मृतिमा गएका थिए ।  गतवर्ष पलेँटीमा सहभागी हुन् आएकी शान्ति ठटालबाटै पाएको त्यो जानकारीपछि पलेँटीले उनलाई आफ्ना पुराना धुन सम्झन अनुरोध गर्यो । उनले काठमाडौंको अनुरोधलाई सिक्किमको एकान्त बासमा पुगेर सम्झने सिलसिला शुरु गरिन् । त्यसकै परिणाम संगीतकार ठटालले सृजना गरेका मुना मदनका धुन पलेँटीको अभिलेखालयमा अंकित हुने भएका छन् ।

संगीतकार ठटालले गत महिनाको पलेँटीमा आफ्ना नयाँ पुराना संगीत प्रस्तुत गरेकी थिइन् । त्यसयता मुनामदनको संगीत संयोजनमा क्रियाशील ठटाल काठमाडौंमै रहेर आफ्ना धुनहरूलाई परिमार्जन गरीरहेकी छन् ।

नेपाली गीति साहित्यमा अत्यधिक लोकप्रिय मुना मदनले नेपाली भाषीहरूको ठूलो परिवेशलाई प्रभावित गरेको छ । त्यसको झलक यसपालीको पलेँटीमा स्पष्ट देखिने भएको छ । यो पलेँटीमा दार्जिलिङमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी संगीतकार ठटालसँगै मिरिकमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी बिमला सेन्चुरी प्रधान पनि संलग्न रहनेछिन् । 

त्यस्तै मनिपुरमा जन्मेकी लोकप्रिय गायिका मिना निरौलाले पनि मुनामदनका हरफहरूलाई स्वर दिनेछिन् ।  मुनामदनको यो प्रस्तुतिमा अर्को आकर्षण पनि रहेको छ । दुई महिना पहिलेको पलेँटीमा छन्द कविताहरूको प्रस्तुति गरेर प्रशंसा बटुलेकी भूषिता वशिष्ठ यसपालीको पलेँटीमा सूत्रधारको रुपमा प्रस्तुत हुनेछिन् । त्यसैले यो पलेँटीमार्फत् काठमाडौले सिक्किम, दार्जिलिङ र मनिपुरका चेलीहरूको संगम गराउने भएको छ । मुनामदनमा पलेँटीका संयोजक आभास लगायत बाँसुरी वादक बलराम समालको स्वर पनि सुन्न पाइने छ ।

नेपालयको ‘आर’शालामा अभ्यासरत शान्ति ठटाल र उनको टीमलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिइरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप