बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम विजयी

आइतबार, ०८ असार २०७६, १६ : ०४
आइतबार, ०८ असार २०७६

कञ्चनपुर– कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा सुदूरपश्चिम विजयी भएको छ । आज यहाँस्थित क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर ५ लाई ५१ रनले पराजित गरेको छ ।

प्रदेश नम्बर पाँचले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको थियो । सुदूरपश्चिमले १६ दशमलव एक ओभरमा अलआउट हुँदै १०१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कविता कुँवरले उत्कृष्ट प्रर्दशन गर्दै जितका लागि योगदान दिइन् ।

पच्चीस बलको सामना गरेकी कविताले आठ चौकासहित ४३ रनको योगदान गरिन्  । त्यस्तै कविता जोशीले १९, रेवती धामीले नौ, निशा भट्टले आठ, मञ्जु बोकटी चार र टिम कप्तान जानकी भट्टले १० बलमा एक रन मात्रै बनाइन् । 

प्रदेश नम्बर ५ का लागि नेरी थापा र अलिसा केसीले तीन÷तीन विकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन् । एक सय एक रनको लक्ष्य पाएको प्रदेश नम्बर ५, १६ ओभरम ५० रनमै अलआउट हुन पुग्यो । प्रदेश नं ५ का लागि लक्ष्मी चौधरीले नटआउट १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । 

सुदूरपश्चिमका लागि कसिलो बलिङ गर्ने क्रममा टिम कप्तान जानकी भट्टले चार रन खर्चेर तीन विकेट लिइन् । त्यस्तै कविता कुँवर, सुनम विष्ट र लक्ष्मी साउदले समान दुई÷दुई विकेट लिए । उक्त प्रतियोगितामा प्लेयर अफ द म्याच कविता कुँवर घोषित भइन् । आजको दोस्रो खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र गण्डकी प्रदेशबीच हुने आयोजकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप