बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा नयाँ रेकर्ड, यसकारण मूल्य अझै बढ्न सक्छ

आइतबार, ०८ असार २०७६, १४ : ३१
आइतबार, ०८ असार २०७६

काठमाडौं–सुनको मूल्य लगातार बढिरहेको छ । विश्व अर्थतन्त्रमा अहिले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएको लगातार बढिरहेको सुनको मूल्यले पुष्टि गर्छ । आज सुन तोलामा ६५ हजार रुपैयाँमा कारोबार भइरहेको  छ । शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो । यो मूल्य नेपाली बजारको हालसम्मकै उच्च हो । 

सरकारले बजेटमार्फत सुन आयातमा भन्सार महसुल बढाएपछि सुन लगातार बढ्न थालेको हो । अहिले नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।  

इरान र अमेरिकाको राजनीतिक युद्ध, अमेरिका र चीनको व्यापारिक युद्ध तथा भारत र अमेरिकाको व्यापारिक युद्धजस्ता कारणले सुनको मूल्य बढेको व्यवसायीहरू बताउँछन् । 

सुनलाई तरल पुँजीको रूपमा लिने गरिएको छ । यही तरल पुँजीका रूपमा लिएको सुन पछिल्लो समय बढिरहँदा कतिपयलाई आफूसँग भएको सुन बेचेर नगद हात पार्ने सोच पनि होला । तर व्यवसायीहरू अझै सुनको मूल्य बढ्न सक्ने बताउँछन् । तत्काल ठूला देशहरूको युद्ध मत्थर हुने सङ्केत नदेखिएको सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए । 

खासगरी नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्छ र सुनको किनबेच डलरमा हुन्छ । तर अमेरिका पटक पटक  कुनै न कुनै देशसँगको विवादमा  फस्ने गरेको छ । यसले गर्दा ग्लोबल लगानीकर्ताहरूले गर्ने डलरको लगानी सुनतर्फ लगाउने गरेका छन् । 

तर पछिल्लो मूल्य भने नेपाल आउँदा दुई गुणा बढ्नुमा सरकारले बजेटमार्फत सुनको आयात गर्दा बढाएको भन्सार महसुल वृद्धि नै हो । सरकारले बजेटमा सुनमा प्रतितोला एक हजारको दरले भन्सार महसुल वृद्धि गरेको छ । १० ग्राममा ८ सय रुपैयाँ तिर्नुपर्छ ।

सुन अझै बढ्छः मणिरत्न शाक्य
 
सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष मणिरत्न शाक्य ग्लोबल अर्थतन्त्रमा लगानीकर्ताहरू अन्य क्षेत्रमा लगानी गर्न डराएकाले सुनमा लगानी आकर्षित हुन  थालेको बताउँछन् । 

शाक्य भन्छन्, ‘इरानले अमेरिकी जासुसी ड्रोन खसालेपछि थप द्वन्द्व चर्कने देखिएको छ । अमेरिकाले पर्सियन खानीमा अचानक सेना तैनाथ गरेको छ । इरान र अमेरिकाको राजनीति युद्ध सुरु भएको छ । ग्लोबल मार्केटमा लगानीकर्ताहरू अरू क्षेत्रको लगानीबाट त्रसित भएर सुनतर्फ लागेका छन् ।’

अर्कोतर्फ अमेरिका र चाइनाको व्यापार युद्ध निरन्तर भइरहेको छ । हालसम्म उनीहरू कुनै मिलन विन्दुमा पुग्न सकेक छैनन् । एसियन क्षेत्रका लगानीकर्ताहरू यो डरले गर्दा पनि आफ्नो लगानी सुनमा केन्द्रित गराउन थालेका छन्, शाक्यले भने । 

भारत र अमेरिकाको पनि व्यापार युद्ध सुरु भएको छ । अमेरिकाले भारतको सामान आायत गर्दा ट्याक्स बढाउने, त्यसको विरुद्धमा अमेरिकाले उत्पादनहरूलाई उनीहरूको देशमा कर बढाउने जस्ता द्वन्द्व देखिएको छ । 

शक्ति राष्ट्रहरूबीचको द्वन्द्वका कारण  सुनको भाउ तलमाथि हुने गरेको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपालमा स्वतः बढ्छ ।  उनीहरूकै दरमा नेपालमा सुन आउँछ । नेपालभित्र आइपुग्दा दोब्बर हुन पुग्छ ।  यसको कारण भनेको भन्सार दर नै हो । 

सुनको मूल्य ठूला देशहरूको युद्ध के हुन्छ, त्यसमा भर पर्ने भएको बताउँदै शाक्यले अझै यो द्वन्द्व मत्थर हुने नदेखिएकाले अझै केही दिन सुन पुरानो मूल्यमा फर्कन नसक्ने जनाए । 

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले प्रत्येक दिन अन्तर्राष्ट्रिय मूल्यको आधारमा नेपालमा सुनको मूल्य तोक्ने गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप