केन्द्रीय संस्करण
सन्दर्भ रूपचन्द्र विष्ट स्मृति दिवस

थाहा र अहिले देशको वास्तविकता

person explore access_timeअसार ८, २०७६ chat_bubble_outline0

सांस्कृतिक रूपान्तरणको दृष्टिबाट हेर्दा अहिलेका राजनेता पनि देखियो । कथित दार्शनिक पनि देखियो । पढियो सुनियो । तर राजनेता, दार्शनिक अनि चुनावी अभ्याससहित विलक्षण प्रतिभा भएको व्यक्ति रुदाने (रूपचन्द्र दामन, नेपाल)सँग सङ्गत र सहकार्य  यो जीवनको गौरव गर्ने मुख्य कुरा ठानियोे । यो नै जीवन सार्थक भएको महसुस भएको छ । अरू र रुदानेमा फरक यति टाढा छ सो वर्णन गर्न कठिन छ । रुदानेका केही स्मरणहरू :

तत्कालीन राजा वीरेन्द्रको जन्मत्सव मूल समारोह समितिमा राष्ट्रिय पञ्चायत सदस्यको हैसियतमा सदस्य राखेछन् । उहाँलाई सोको चिठी आयो । रुदानेले सो चिठी ल्याउने व्यक्तिलाई सोही चिठीको पृष्ठ भागमा “आयोजक ! जिउँदो मान्छे अदालतमा लडी रहेको मुद्दा हो, यसको फैसला चिहानमा पुगेपछि मात्र हुन्छ । रापसरु”  लेखेर चिठीको भर्पाइ गरिदिनुभयो । अनि भन्नुभयो “त्यसैले मैले आफ्नो जन्मोत्सव मनाउने गरेको छैन ।

जसले आफ्नो जन्मत्सव मनाउँदैन उसलाई अरूको जन्मोत्सव मनाउने हक हुँदैन ।” रापसरु (राष्ट्रिय पञ्चायत सदस्य) भनेर लेखी सो पत्र फिर्ता पठाइदिनुभयो । यस विषयलाई लिएर तत्कालीन पञ्चेले रुदानेलाई कारबाही गरिनुपर्छ भनी पञ्चायत नीति तथा जाचबुझ समिति (पनीजाबुस)मा उजुरी हाले र जन्मत्सव सामारोहमा कारबाहीको माग गरी भाषण पनि गरे । पनीजाबुसको अध्यक्ष नवराज सुवेदीले रुदानेलाई स्पष्टीकरण सोधे तर रुदानेले सो पत्रको पृष्ट भागमा लेखेको कुरा नै स्पष्टीकरण हो भनी जवाफ दिए । यसभित्र ठुलै सैद्धान्तिक, दार्शनिक र राजनीतिक कुरा छन् ।  

के कुनै मान्छे जन्मेको कारण समाज र मानव जातिलाई कति सकारात्मक प्रभाव पर्यो ? त्यसअनुसार पो उत्सव मनाउने हो । नकारात्मक प्रभाव परेमा त शोक पो मनाउनुपर्ने हो नि । तर दुष्ट मनुष्यले पनि उत्सव मनाउने अरूले हो हो गर्ने काम किन प्रचलन भयो ? यो प्रश्नको उत्तर अहिलेका जन्म उत्सव मनाउन केक काटेर प्रचार गर्नेले दिन सक्छन् । केक काटेर उत्सव मनाउने चलन कहाँबाट किन आयो ? वर्तमान बुज्रुकले बलपूर्वक व्याख्या गर्न खोज्लान तर औचित्य पुिष्ट गर्न सक्दैनन् ।  निरङ्कुश राजतन्त्रमा चलेको कालोे व्यवस्थामा त्यसका नायकलाई रुदानेले दिएको उत्तर तत्कालीन शासकलाई कडा चुनौती नै थियो । तर आजको परिवर्तित समयमा पनि यो बेथिति घटाउन सकिएन । 

यसैगरी वडामहारानीको जन्मोत्सवमा रुदानेको नाममा एक चिठी आयो । स्मारिका प्रकाशन गर्न लागेकाले वडामहारानीका बारेमा रापसहरूसँग एक लेख मागियो । यसमा रुदानेले एक कागज माग्नुभयो र लेखिदिनुभयो, “ऐराल एक ठुली बढी आइमाई हुन किनकि उनले राजासँग विवाह गरिन् । रुदाने” यो कागज लिएर सो हल्कारा गयो । यसमा कम आटको कुरा छैन । मै हुँ भन्ने हालका नेताले पनि यो सहास गर्न सक्दैनथे । यसमा पञ्चे कराउन हिम्मत गरेनन् किनकि यसमा कागज छुट्टै थियो । ऐरालको अर्थ (ऐश्वर्यराज्य लक्ष्मी) लगाउनुपथ्र्यो । अनि राजासँग विवाह भनेको कुन राजा ? वडामाहाराजधिराज श्री ५ पो संवैधानिक राजा हुन् अरू त सयौँ राजा हुन्छन् नि आदि तर्क वितर्क उठ्यो । यस विषयमा पञ्चेहरू हाक्का हाक्की आउन सकेनन् । 

एक पटक दरबारको विरुद्धमा नै रुदानेले भाषण राष्ट्रिय पञ्चायतभित्रै गर्नुभयो । सरकार दरबारमा बसेकाहरूले अपराध अन्याय गरे जनता आपतमा परे भनेर भन्नुभयो ।  अनि पञ्चे रापसले तत्काल नियमापत्ति गरे । कारबाहीको माग राखे । अध्यक्षले रापसरुलाई स्पष्टीकरण दिन आदेश दिए ।  रुदानेले मैले भनेको कुरा सत्य छ । स्पष्टीकरण त सरकार दरबारमा बस्नेले दिनुपर्ने हो भनी जवाफ दिनुभयो । त्यसपछि सदनमा हङ्गामा नै भयो । केही मण्डले प्रवृत्ति भएकाले रुदानेले यो राजदरबारलाई भनेको हो । यस्तो भन्नेलाई कडा कारबाही गर्न पर्यो ।

 फेरि अध्यक्षबाट आदेश भयो मान्य रूपचन्द्र विष्ट प्रष्ट भन्नुपर्यो, यो के भन्न खोज्नुभएको हो ? रुदाने फेरि जवाफ दिनु भयो, “दरबार त मुलुकमा धेरै छन् । सिंहदरबार, बागदरबार, सेतो दरबार, लालदरबार आदि तर श्री ५ महाराजधिराजको दरबार वा राज दरबारलाई त राजप्रासाद पो भनिन्छ त । यति कुरा नबुझ्नेहरू चाकरी गर्न व्यस्त छन् । केही कारबाही हुन्छ भने जसले राज दरबार भन्ने शब्द जोडे उतै होस् ।” भनी जवाफ दिनुभयो । त्यसपछि सदनमा हाँसोको पर्रा छुट्यो । फेरि यसमा आपत्ति गर्ने आँट गरेनन् । वास्तवमा दरबार भनेको सामान्य रूपमा जनताले राजदरबार नै बुझ्ने हो । कर्मचारी पनि दरबार नै भन्थे । यसको मतलव राजदरबार नै हो । तर संसदीय अभ्यासमा रुदानेले ती निरङ्कुश पञ्चेलाई वैधानिक रूपमा पुष्टि गरिदिन्थे कि उनका भनाइ जनताले बुझ्ने तर कानुनले नसमात्ने यो क्षमता पनि इतिहासमा स्मरणीय छ । 

अहिले आफैले आफैलाई माननीय भन्न रुचाउनेको हुल बढ्दो छ । अझ सामन्ती सोच भएकाहरूले त सम्माननीय किन नभनेको भनी संसदमा आपत्ति गर्नेहरू पनि छन । सम्माननीय शब्द राजतन्त्रसँग सम्बन्धित छ । सामन्त प्रथासँग सम्बन्धित छ । जसरी अधिराज्य भन्ने शब्द राजतन्त्रसँग सम्बन्ध छ । बेलायतले राइट अनेरेबल भन्ने चलन चलायो । अप्पर हाउस, लर्ड हाउस भन्ने शब्द प्रयोग गर्यो । यी सबै सामन्ती सोचका कुरा हुन् । रुदानेलाई कसैले माननीय भनेर सम्बोधन गरेको अवस्थामा उहाँले सोध्नु हुन्थ्यो । जनता जाननीय भए ? यदि जनता जाननीय भएका छैनन् भने उसको प्रतिनिधि माननीय हँुदैन । जब जनता जाननीय हुन्छन् तब उसको प्रतिनिधि माननीय हुन्छ । यो जनतन्त्रसँग सम्बन्धित छ । भारतमा प्रधान मन्त्रीलाई सम्माननीय भनिँदैन । राष्ट्रपतिलाई पनि सम्माननीय भनिदैन । चीनमा पनि भनिदैन ।

अमेरिकामा पनि भनिदैन । तर बेलायतमा भनिन्छ किन ? सामान्य जवाफ छ । त्यहाँ राजतन्त्र छ  तर नेपालमा किन यस्तो भनिन्छ ? नेपालमा राजतन्त्र थियो । बेलायतको जस्तै प्रिभी काउन्सिल सट्टमा राजपरिषद् वा राजसभा थियो । तिनका सदस्यलाई सम्माननीय भन्ने प्रचलन राजाले बेलायतलाई हेरेर गरेका थिए । त्यसैले रुदानेले सदनमा कहिल्यै पनि सम्माननीय शब्द प्रयोग गर्ने काम गर्नुभएन । एक पटक यस विषयमा पनि रुदानेले अध्यक्षलाई सम्माननीय भनी सम्बोधन नभएको कुरामा नियमापत्ति भयो । रुदानेले आफैले अध्यक्षसँग तत्काल समय माग्नु भयो र भन्नु भयो, “मा. अध्यक्ष महोदय ! यो सदनभित्र कोही पनि सम्माननीय छैनन् ।

सबै माननीयको हैसियतमा उपस्थित छौँ ।  यदि कसैलाई सम्माननीय चाहिएको हो भने राजसभातिर खोज्न जानुपर्छ कि ? यस कुरालाई लोकेन्द्रबहादुर चन्दसहितका माननीयहरूले टेबुल ठटाएर समर्थन गरेका थिए ।  हालको अवस्थामा प्रधान मन्त्री केपी ओली रुदाने र उहाँको थाहा दर्शनमा पनि विज्ञ छन् । यसर्थ केही गर्न सकिन्छ कि आनीबानी र व्यवहार आचरण आदिमा । रुदानेले सार्वजनिक सभामा गर्ने सम्बोधानको मूल अंश यस्तो छ :

सभाध्यक्ष ! 
कलिलाबाट विद्रोहकारी परिवर्तन,
श्रमिकबाट क्रान्तिकारी परिवर्तन,
जीवन विषयी बुद्धिजीवीबाट बौद्धिक स्वतन्त्रताको प्रयोगकारी परिवर्तन, र

नारीबाट सामाजिक परिवर्तन पाइने मुख्य मुहानहरू भएकाले यही सम्बोधन गरियो । यसमा सबै परे होलान् । नपर्नेहरू सम्बोधनमा परेनन् । 

यी सूत्र आज बहुदल हुँदै सङ्घीय गणतन्त्र हुँदाका अवस्थामा बजेट यहीअनुसार बन्नुपर्ने हो । सरकारको कार्यनीति कार्यक्रम यही नीतिअनुसार हुनुपर्ने हो ।  यसैलाई केन्द्रविन्दु बनाएर बजेट नीति तर्जुमा गर्नुपर्ने हो । 
२०३९ सालमा रुदानेले सार्वजनिक  प्रश्न जनता समक्ष गर्नुभयो,  जात ठूलो कि जनता ? नाता ठूलो कि न्याय ? स्वार्थ ठूलो कि सत्य ? यो प्रश्न अहिलेका दल र नेतालाई पनि उत्तिकै महत्त्वको छ । यसैगरी “केटाकेटी बिग्रे आमाबाबु दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी अनि यर्थाथमुखी कर्तव्यमुखीबाहेक पछुवा भगुवा सारा दोषी ।” त्यो व्यवस्था बिग्रेको थियो । त्यो सरकार बिग्रेको थियो । जनता बिग्रेका थिए ।  व्यवस्थाको अगुवा (राजा)  थिए । तसर्थ दोषी राजा नै हुन् भन्ने कुरा किटान गरिएको यो कुरा पर्चामा नै आएको थियो ।   अहिलेका दल र नेताले यो मनन गर्नुपर्ने बेला भएको छ । नत्र उही काम एकाथरीलाई, कमाइ अर्को थरिलाई हुने सामाजवादको उल्टो व्यवस्था चलिरहन्छ ।

त्यसैले अहिलेका दल र नेताले तलको भनाइलाई आत्मसाथ गर्न आवश्यक छ ।

“थाहासँग प्रेम गर, थाहा तिमी कहाँ आउँछ । थाहाप्रति इमान राख कर्तव्य तिमी कहाँ आउँछ, कर्तव्य हो जिन्दगीको सक्कल” रुदाने ।

यही कुरामा ध्यान जाओस् र रुदानेलाई सम्झना राज्यले गरोस् । यो देश सप्रेमा वा विग्रेमा दोष अहिलेको नेतृत्वलाई जान्छ । यो कुरा रुदानेले २०२९ मा राजालाई लक्षित गरी अञ्चलाधीशसँग बयान दिँदा भन्नुभएको थियो । “जो जति शक्तिमा छ, समाज सप्रे विग्रेमा, त्यो त्यति जिम्मेवार छ ।” यो कुरा अब नेपाल कम्युनिस्ट पार्टीमा लागू हुन्छ । यसमा रुदानेको स्मरण गर्दै याद गरौँ । 

(लेखक सङ्घीय सांसद तथा वरिष्ठ अधिवक्ता हुन् ।) 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...