बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कहाँ छन् मधेश आन्दोलन हाँक्ने ती युवा ?

जसले आन्दोलन तताए, आज उनीहरु नै सेलाए
आइतबार, ०८ असार २०७६, १० : १०
आइतबार, ०८ असार २०७६

पहिलो मधेश आन्दोलन भएको १३ वर्ष भइसक्यो । त्यतिबेला मधेश आन्दोलन उठान गर्न युवाहरुको भूमिका निकै महत्त्वपूर्ण थियो । यद्यपि, आन्दोलनका लागि अहोरात खट्ने अधिकांश मधेशी युवाहरु अहिले भने प्रत्यक्ष राजनीतिमा संलग्न देखिएका छैनन् ।

आन्दोलनमा सक्रिय भएपछि युवाहरु राजनीतिमा लाग्ने दृष्टान्त रहँदै आएकोमा मधेश आन्दोलन उठाउन गर्ने युवाहरु भने कोही शिक्षक भएका छन्, कोही कर्मचारी त कोही एनजिओमा लागेका छन् । कोही घरमै बसेका छन् भने कोही विदेश पलायन भएका छन् । आन्दोलनपछि राजनीतिलाई निरन्तरता दिएका केही युवा भने पार्टीको ठूलै पदमा पुगेका छन् भने केही मन्त्रीसम्म पनि भएका छन् । तर यो संख्या न्यून छ ।

मधेश आन्दोलन युवाहरुले हाँकेपनि मधेश केन्द्रीत पार्टीको नेतृत्वमा अझै पनि बुढा नेताहरुकै हालिमुहाली रहेको छ । मधेश आन्दोलन गर्ने युवा, सहादत दिने युवा, घाइते हुने युवा तर पकट–पटक अवसर भने तिनै बुढा नेतारुले पाए । त्यही कारणले अधिकांश मधेशी युवाहरु राजनीतिबाट पलायन भएका छन् ।

सिरहाका अजितलाल कर्ण भन्छन्, ‘मधेश आन्दोलनपछि अवसरवादीहरु हावी भए । त्यसैले वास्तवमा जसले आन्दोलन गरे ती सबै साइड लागे ।’ तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका विद्यार्थी नेताको रुपमा मधेश आन्दोलनमा शुरुदेखि सक्रिय रहेका कर्ण अहिले धनुषामा गाई फार्म सञ्चालन गरेर बसेका छन् । ‘मधेशको राजनीतिबाट युवाहरु निराश भएर धेरै पलायन भए । त्यसको खोजखबर गर्ने कसैलाई फुर्सद छैन,’ उनी भन्छन् ।

‘त्यतिबेला आन्दोलनको तयारीदेखि सफल पर्नेसम्म सक्रिय भएर लागेका युवामध्ये मुस्किल पाँच–छ जना राजनीतिमा सक्रिय छन्,’ उनले भने, ‘बाँकी को कहाँ गए, कसैसँग सम्पर्क छैन ।’

तत्कालिन मधेशी जनअधिकार फोरम नेपालको विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा तय गरेका केशव झा भने अझै पनि राजनीतिकमा सक्रिय छन् । उनी विभिन्न दल हुँदै अहिले राजपा नेपालका महासचिव हुन् । मधेश आन्दोलनको शुरुवातदेखि अहिलेसम्म सक्रिय रहेका उनी भन्छन्, ‘राजनीतिमा धैर्यता धेरै महत्वपूर्ण कुरा हो । आजैको आजै सबै कुरा प्राप्त गर्छु भनेर हुँदैन त्यसका लागि धैर्य गर्नुपर्छ । दुःखका बीच धैर्य गरेर बसेका थुप्रै युवाहरुले अवसर पाएका छन् ।’

कतिपय युवामाथि अन्याय नभएको भनि नकार्न नसकिने भन्दै उनले नेपालको राजनीति युवाका लागि त्यति सजिलो नरहेको बताए । तर, राजनीतिमा युवाका लागि जति चुनौति छ, त्यति नै अवसर पनि रहेको बताए ।

तत्कालिन फोरम नेपालकै विद्यार्थी नेता सुरेश मण्डल अहिले प्रदेश २ का राज्यमन्त्री छन् । फोरम नेपाल हुँदै विभिन्न आरोह अवरोह पार गर्दै राजपा नेपालका सह–महामन्त्री भए । उनी विद्यार्थी राजनीतिबाट मन्त्री हुँदा धेरैका लागि उदाहरण बनेका छन् । तर उनीसँगै आन्दोलन गरेका मुकेश चौधरी, इन्द्रकुमार मधेशानन्द, मुकेश यादव, नरेश यादव, विजय यादव, आजम परवेजलगायतका युवाहरु भने राजनीतिबाट पलायन भएका छन् ।

मुकेश चौधरी हाल जेलमा छन् । जनकपुर बमकण्डमा मुछिएपछि उनी जेलमा छन् । उनलाई मधेशको राजनीतिमा निकै सम्भावना भएका युवा नेताका रुपमा लिइन्थ्यो । तर एउटा घटनाले उनलाई राजनीतिबाट टाढा बनायो ।

इन्द्रकुमार मधेशानन्द एक यस्तो युवा हुन् जो २४ घण्टा आन्दालनमै हुन्थे । उनी राजनीतिमा सक्रिय जस्तो देखिन्छन् । तर उनी अझै अवसरबाट बञ्चित छन् । हाल उनी शिक्षक पेसामा आबद्ध छन् ।

रातोपाटीले सम्पर्क गर्दा उनले भने, ‘हामीले जीवनको महत्त्वपूर्ण समय मधेश आन्दोलनलाई दिएका छौँ । त्यो समयमा मधेशको बारेमा कोही बोल्ने व्यक्ति थिएन । आन्दोलन शुरु गर्दा मानिसहरु मधेशको बारेमा बोल्न डराउँथे ।’

आफूले अवसर नपाउँदा कुनै गुनासो नरहेको बताउँदै उनले भने, ‘अहिले म शिक्षक पेसामा भएपनि आवश्यक पर्यो भने जागिर छाडेर मधेशका लागि आन्दोलन गर्छु ।’

सिरहाका विजय यादव मधेश आन्दोलनमा निकै सक्रिय थिए । त्यसमा उनको भूमिका अग्रनी हुन्थ्यो तर उनी निस्कृय भएका छन् । फोरम नेपालको विद्यार्थी राजनीतिबाट मधेश आन्दोलनमा सक्रिय सप्तरीका अशोक यादव हाल समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनी राजनीतिमा सक्रिय भएपनि अवसरबाट निकै टाढा देखिन्छ । पार्टीले शुरुदेखि नै उनीमाथि अन्याय गर्दै आएको चर्चा पार्टीभित्रै सुनिन्छ ।

त्यस्तै शम्भु निर्दोषी राजपा नेपाल विद्यार्थी संगठनका उपाध्यक्ष हुन् । यद्यपी मधेश आन्दोलनको शुरुवातदेखि नै राजनीतिमा लागेका छन् । तर प्रगति शुन्य रहेको छ ।

उनी पनि मधेश राजनीतिबाट फ्रस्टेटेड छन् । त्यस्तै अर्को नाम आउँछ दिनेश पुर्वेको । मधेश आन्दोलनमा शुरुदेखि लागेका पूर्वे वैदेशिक रोजगारीबाट फर्केर समाजिक कार्यकर्ताको रुपमा सक्रिय छन् । रामजानकी धर्मशाला बनाउने अभियानमा लागेका छन् उनी ।

मधेशी युवाको रुपमा मधेश आन्दोलन गरेका फुलाराम थारु अहिले काँग्रेसमा छन् । विजयकुमार गच्छदारसँग लामो समयसम्म मधेश राजनीतिमा सक्रिय उनी गच्छदारसँगै काँग्रेसमा गएका छन् । मधेशको पछिल्लो राजनीति घटनाक्रमबाट उनी पनि असन्तुष्ट छन् । उनले मधेशका लागि दिएको योगदान त्यतिकै खेर गएको बताउँछन् ।

कपिलवस्तुका सीपी चौधरी मधेशको राजनीति छाडेर कलेज पढाउन थालेका छन् । विद्यार्थी राजनीतिबाट मधेश आन्दोलनमा सक्रिय दीपक गुप्ता अहिले निष्कृय छन् । राजनीति छाडेर उनी पढाइलेखाइ र अध्ययन अनुसन्धानमा फर्केका छन् ।

काठमाडौँ उपत्यकामा विद्यार्थी नेताको रुपमा परिचित राधेश्याम चौधरी पनि अहिले राजनीतिबाट धेरै टाढा गइसकेका छन् । उनी जनकपुरको एक कलेजमा अध्यापन गराउन थालेका छन् । मधेशका लागि आन्दोलन गरे तर अवसर अरुले नै हाइज्याक गरेको उनको गुनासो छ ।

शुरुको मधेश आन्दोलनमा सक्रिय धुपेन्द्र झा नेपाल सरकारको जागिरे भएका छन् भने विजय पटेल, सुभाष वैठा अमेरिका पलायन भएका छन् । अभिनाश सिंह भारत पालयन भएका छन् । उनी पनि मधेश आन्दोलनको समयमा निकै सक्रिय युवा थिए । तर आन्दोलनपछि मधेश राजनीतिमा निराशा मात्र आएपछि उनी निस्कृय हुँदै गए ।

सप्तरीका विनोद साफी राजनीति छाडेर व्यावसाय गरिरहेका छन् भने तुला माझी राजपा नेपालमा भएपनि उनी औषधी पसल सञ्चालन गरेर बसेका छन् । त्यस्तै सप्तरीका सुरेन्द्र साह जो मधेश आन्दोनलको समयमा उनको भूमिका महत्वपूर्ण थियो तर उनी जेपी गुप्तासँगै निस्कृय भएका छन् । काठमाडौ उपत्यका युवा आन्दोलनकारीको रुपमा परिचित जितेन्द्र साह आन्दोलनकै क्रममा वेपत्ता भएका थिए तर अहिलेसम्म उनको कुनै अत्तोपत्तो छैन ।

तत्कालिन युवा फोरममा सक्रिय उनको खोजी गर्न उनको पार्टीले पनि चासो देखाएको छैन । विजय मस्त मधेश आन्दोलनमा धेरै सुनिएको नाम हो । तर उनी अहिलेको राजनीतिबाट टाढा छन् । आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएका उनी आइएनजीओमा जागिरे छन् । हरी यादव विद्यार्थी नेताका रुपमा सक्रिय थिए तर पछिल्लो राजनीतिक घटनाक्रमले उनलाई निस्कृय बनायो ।

प्रियङ्का झा शुरुदेखि मधेश आन्दोलनमा सक्रिय थिइन् तर अहिले धनुषामा शिक्षिका भएकी छन् । त्यस्तै जेपी गुप्ताको साथमा रहेर मधेश राजनीतिमा सक्रिय राजेन्द्र राम अहिले राजनीतिबाट टाढा भएका छन् । बीपी यादव जो पहिलो मधेश आन्दोलनका प्रमुख हर्ताकर्ता थिए । मधेश आन्दोलनको शुरुवातादेखि लागेका उनी राजपा नेपालका केन्द्रीय सदस्य हुन् ।

रातोपासपोर्ट काण्डमा मुछिएपछि निष्कृय भएका हाल उनी विकास निर्माण कार्यमा अनियमितता गरेको आरोपमा थुनामा छन् । भाग्यनाथ बैठा पनि कुनै लेनदेनको मुद्दामा थुनामा छन्

बाराका पप्पु सिंह शिक्षक भएका छन् भने मधेश आन्दोलनमा शुरुदेखि सक्रिय अनिल गुप्ता अहिले निष्कृय भएका छन् र क्रिकेट खेल प्रशिक्षक भएर काम गरिरहेका छन् ।

विद्यार्थी नेता ओमलोक सिंह प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको स्वीकय सचिव भएर काम गरिरहेका छन् भने कैलाश महतो सिके राउतको पार्टीमा सक्रिय छन् । राजीव झा शिक्षक पेसा अँगाल्न बाध्य भएका छन् । यस्ता थुप्रै युवाहरु छन् जो मधेशका लागि आफ्नो योगदान दिए तर अहिले ओझेल भएका छन् । त्यसमध्येका अब्दुल सलाम, पर्साका रञ्जित साह, सन्तोष परियार, सिरहाका दिनेश्वर गुप्ता, कृष्ण यादव पनि हुन् ।

महोत्तरीका अभिराम शर्मा जो शुरुदेखि मधेश आन्दोलनमा सक्रिय थिए अहिले उनी प्रदेश २ का राज्यमन्त्री हुन् । त्यस्तै सप्तरीका शैलेन्द्र साह, धनुषाका ज्ञानेन्द्र कुमार यादव प्रदेश २ का मन्त्री बनेका छन् । मधेश आन्दोलन हुँदा सिरहाको मोर्चा सम्हालेका विजय यादव पनि प्रदेश २ का मन्त्री भएका छन् ।

सुनसरीका कपलेश्वर यादव जो मधेश आन्दोलनको शुरुवातदेखि नै सक्रिय थिए । तत्कालिन फोरम नेपालको विद्यार्थी नेताको रुपमा सक्रिय उनी अहिले विजयकुमार गच्छदारका साथमा काँग्रेसमा छन् । उनी अहिले नेविसंघका महासचिव हुन् । चितवनका हेमन्त झा राजपाको जिल्ला अध्यक्ष भएका छन् भने सप्तरीका पंकज देव राजपा नेपालमा रहेपनि उनी निष्कृय जस्तै छन् ।

शुरुदेखि मधेश आन्दोलनमा सक्रिय भएर लागेका शिवजी सोनी अहिले पनि उनी समाजवादी पार्टी फोरम नेपालका विद्यार्थी नेताका रुपमा सक्रिय छन् । यता, कन्हैया ठाकुर विजयकुमार गच्छदारको स्वकीय सचिव भएर काम गरिरहेका छन् । शुरुदेखि मधेश आन्दोलनमा लागेका उनी पछिल्लो समय सशस्त्र समूहमा लागेका थिए र हाल उनी जेलमा छन् ।

सप्तरीका बलराम यादव र सिरहाका काशिन्द्र यादव पनि राजनीतिबाट टाढा छन् । त्रिविमा अध्ययन गर्ने क्रममा मधेश आन्दोलनको तयारीमा सक्रिय भएर लागेका उनीहरु केही दिन मधेश राजनीतिमा सक्रिय थिए तर अहिले टाढिएका छन् । यद्यपी उनीहरु कुनै पार्टीमा नभएपनि मधेशको बारेमा बोल्ने र लेख्ने काम गर्दै आएका छन् । सिरहाका रामसुफल सदाय पनि मधेश आन्दोलनको समयमा निकै सक्रिय थिए तर पछिल्लो समय निष्कृय भएर शिक्षक पेसामा लागेका छन् । उनी भन्छन्, मधेश आन्दोलन गर्ने हामी अवसर लिने बेला अरु आएपछि हामी आफै साइड लागेका हौँ ।’ मधेश आन्दोलनले अवसरवादी मात्र जन्माएको उनको गुनासो छ ।

धनुषाका दीपक झाले त मधेश आन्दोलनकारी नेतृत्वकर्ता समूह २०६३ नै गठन गरेका छन् । मधेश आन्दोलनको शुरुवातदेखि लागेका आन्दोलनकारीलाई जोड्नका लागि यो संगठन बनाएका हुन् । उनी भन्छन्, ‘शुरुदेखि ज–जसले मधेश आन्दोलन गरे ती सबै अहिले निष्कृय भएका छन् उनीहरुलाई खोज्ने र सक्रिय बनाउनका लागि संगठन बनाएका हौँ ।’

२०६३ सालतिर मधेशको नाम लिने अवस्था थिएन । कोही आन्दोलनमा आउन तयार थिएनन् र त्यतिबेला केही युवा नेताहरुले आँट गरेर आन्दोलन जगाए । जसले सडक तताए, आज उनीहरु नै सेलाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप