शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

न कुनै रोग न खाने लत तरपनि तौल ३ सय ३० केजी, कसरी ?

आइतबार, ०८ असार २०७६, ०८ : ३८
आइतबार, ०८ असार २०७६

उमर दराज नंगियाना /बीबीसी

नूर अल हसन सुतेर खाना खान्छन् किनभने बसेर खाने कोसिसमा उनको हात टेबलसम्म पुग्न सक्दैनँ र बीचमा पेट आउँछ ।

उनी सुत्दा घोप्टो परेर सुत्छन् किनभने सिधा सुत्दा उनलाई सास फेर्न गाह्रो हुन्छ ।

पाकिस्तानको सुबा पंजाब शहर सादिकाबादमा बस्ने साठी वर्षका नूल अल हसन पछिल्लो आठ वर्षदेखि यस्तै हातलमा बाँच्न बाध्य भएका छन् ।

यसको कारण हो उनको असामान्य तौल जुन यतिबेला ३ सय ३० किलो छ ।

उनको जीवन घरको एउटा कोठासम्म मात्र सिमित थियो र उनको दिशा–पिसाबका लागि एउटा कुर्सी उनकै कोठामा राखिएको थियो ।

नूर अल हसनलाई हालै सेनाको एउटा एयर एम्बुलेन्समार्फत् लाहौर ल्याइयो । त्यहाँको शालीमार अस्पतालमा उनको उपचार चलिरहेको छ ।

मोटोपना कम गर्नका लागि उनको शल्यक्रिया गरिनेछ ।

अस्पतालमा उनका लागि एउटा विशेष खाट तयार गरिएको छ । त्यहाँ डक्टरको निगरानीमा उनी धेरै वर्षपछि कोल्टो परेर सुत्न सकेका छन् ।

अब उनलाई मोटोपना कम गर्नका लागि लेप्रोस्कोपिक सर्जरीका लागि तयार गरिँदैछ ।

अस्पतालको बेडमा सुतिरहेका नूर उल हसनले १० वर्षदेखि घरमै सिमित हुनुपरेकोमा आफूलाई  कैद महसुस गर्ने गरेको उनले बताए ।

‘म तपाईंलाई के भनुँ । मेरो आफ्नै भतिजोको मृत्यु भयो तर म उसको अन्तिम संस्कारमा पनि जान सकिनँ । म उभिन सक्दिनथेँ । न बस्न नै सक्थेँ ।’

नूर अल हसनका अनुसार उनलाई आफ्नो जीवन देखेर दिक्क लाग्न थालिसकेको थियो । उनी भन्छन्, ‘मलाई कसैले भनेको थियो कि मोटोपनाको त उपचार हुनै सक्दैनँ । मैले अल्लाहसँग कि त मलाई सम्हाल्न वा सुखीको दिन देखाइदिन प्रार्थना गरेँ ।’

Photo: BBC URDU

उनको तौल किन यसरी बढ्यो ?

मोटोपनाको शिकार हुनुअघि नूर अल हसन ट्रक चलाउँथे । अली सुस्त उनी धेरैजसो बसिरहन्थे । आफूलाई यत्तिका तौल बढ्न प्रेरित गर्ने कुनै रोग पनि नलागेको नूर अल हसनले दाबी गरे ।

उनी खानको समेत शौखिन नभएको बताउँछन् । उनी भन्छन्, ‘म भोक लाग्दा मात्र खान्थेँ । एक प्लेट अचारसँग दुईवटा रोटी ।’

नूर उल हसनका अनुसार उनको ढिला सुस्ती गर्ने बानीले नै उनको तौल बढ्यो ।

‘म खाना खाएपछि बस्थेँ । खाना खाएपछि गाडीको स्टेरिङ समाउँथे र गाडी चलाइरहन्थेँ ।’

सुरुमा उनको तौल बिस्तारै बढ्न सुरु भयो । तर उनले त्यसलाई ध्यान दिएनन् ।

‘म व्यायाम गर्दिनथेँ, हिँड्दैनथेँ र पसिना आउने कुनै पनि काम गर्दिनथेँ ।’

उनको तौल जतिजति बढ्न थाल्यो उनी पहिलेको भन्दा सुस्त हुन थाले । यस्तो समय आयो कि उनले हिँड्न–डुल्न पनि कम गरिसकेका थिए । जुन क्रमशः बढ्दै गयो र अन्ततः पूर्ण रुपमा बन्द भयो ।

डाक्टरका अनुसार त्यसपछि उनको तौल अत्यधिक बढ्न सुरु भयो । पछिल्लो १० वर्षमा उनको तौल डेढ सय किलो बढेको छ ।

Photo: SCIENCE PHOTO LIBRARY

लाहौरको अस्पताल कसरी पुगे ?

नूर अल हसनका अनुसार उनले मद्दतका लागि धेरैलाई गुहारे तर कसैले सहयोग गरेनन् । दुई वर्षअघि उनले लाहौरको एक डाक्टरसँग कुराकानी गर्दा शल्यक्रिया र उपचारमा १० लाख रुपैयाँसम्म खर्च हुनसक्ने बताएको जानकारी दिए । आफूसँग त्यति धेरै पैसा नभएका कारण उनी चुप लागेको बसेको बताए ।

एक वर्षअघि जब उनीबारे समाचार प्रकाशित भयो तब लाहौरका चर्चित लेप्रोस्कोपिक सर्जन डाक्टर माज अल हसनलाई उनीबारे धेरै जानकारी प्राप्त भयो । डाक्टर माजले उनलाई  सम्पर्क गरे र निःशुल्क उपचार गराउने आश्वासन दिलाए ।

बीबीसीसँगको कुराकानीमा डाक्टर माज उल हसनले उपचारका लागि उनले ६ महिना अघिदेखि नूर उल हसनलाई प्रोटिन खुवाउन सुरु गरेको जानकारी दिए ।

‘यसअघि उनको तौल ३ सय ६० किलो थियो तर समस्याको कुरा के थियो भने उनलाई लाहौर कसरी ल्याउने ?’

सादिकाबादबाट लाहौर पुग्न बसमा आठदेखि ९ घण्टा लाग्छ । यस्तोमा खतरा यो थियो कि यति धेरै तौल भएका मानिसको रगत जम्न सक्थ्यो । त्यसकारण उनलाई हवाई एम्बुलेन्समा ल्याइयो ।

नूर अल हसनले सोसल मिडियामा आफ्नो भिडियो साझा गरेर मानिसहरुसँग मद्दत पनि मागेका थिए । अन्त्यमा उनलाई पाकिस्तानी सेनाको हेलिकोप्टरले लाहौर पुर्यायो ।

डाक्टर माजका अनुसार पाकिस्तानमा मोटोपनाका बिरामीलाई एयर एम्बुलेन्सबाट ल्याइएको यो पहिलो घटना हो ।

डाक्टर माजका अनुसार जब नूल अल हसनलाई अस्पताल ल्याइयो तब उनका सबै महत्वपूर्ण अंगले सामान्य रुपमा काम गरिरहेको थियो । उनलाई विशेषज्ञ डाकटरको निगरानीमा राखिएको थियो ।

‘जबसम्म म दुई सय प्रतिशत सन्तुष्ट हुन्नँ तबसम्म म अपरेशन थिएटरभित्र जादिनँ ।’

तीन सय बढी तौल भएका जुन व्यक्तिको उनले यसअघि शल्यक्रिया गरेका थिए, उनीहरु सबै जवान भएको उनले बताए ।

‘पाकिस्तानमा यस्तो प्रकारको यो पहिलो शल्यक्रिया हो ।’

Photo: BBC URDU

नूर उल हसनको शल्यक्रिया कसरी हुनेछ ?

डाक्टर माजका अनुसार नूल अल हसनका शल्यक्रिया जुन तरिकाले गरिन्छ त्यसलाई लेप्रोसोकोपिक सिलियो ग्याट्रिटमी भनिन्छ । यो शरीरमा प्वाल पारेर गरिने शल्यक्रिया हो जसमा बिरामीको पेट चिरिँदैन ।

उनका अनुसार यो शल्यक्रियापछि दुई वर्षपछि बिरामीको तौल डेढ सयदेखि दुई सय किलोसम्म कम हुन्छ ।

‘जब नूर उल हसनको तौल कम हुनेछ तब उनको शरीरको बोसो लत्रिनेछ जसलाई प्लास्टिक सर्जरीमार्फत काटेर मिलाइन्छ ।’

डाक्टर माजका अनुसार नूल अल हसनको तौल बढ्नुको प्रमुख कारण उनको सुस्तता हो ।

‘जब तपाईं एक विशेष हदसम्म तौल बढाउनुहुन्छ र बसिरहनुहुन्छ भने तपाईंको शरीरभित्र जाने सामान्य खाना पनि बोसोमा परिवर्तन हुन सुरु हुन्छ ।’

१० वर्षसम्म नूर अल हसन जब घरमा मोटोपनाका कारण कैद भए तब उनकी श्रीमती र छोरीहरुले अरुको घरमा काम गरेर घर खर्च चलाए ।

उनलाई आशा छ कि उनी ठिक भएपछि परिश्रम पर्ने कामको खोजी गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप