बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदको सयर, दूतावास हेर्ने बहानामा दलबलसहित विदेश जाँदै

आइतबार, ०८ असार २०७६, ०६ : ३७
आइतबार, ०८ असार २०७६

विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगको अवस्था बुझ्न भन्दै परिवार, आफन्तसहित सांसदको टोली विदेश भ्रमणमा जाँदै छ । संघीय संसद्को सार्वजनिक लेखा समितिका सांसदहरू सरकारी खर्चमा विदेश यात्रामा निस्कन लागेका हुन् ।

लेखा समितिअन्तर्गत गठित उपसमितिमा रहेका चार सांसदसहित समिति सभापति, एक जना समिति सचिवालय सदस्य र परराष्ट्र मन्त्रालयका उपसचिव यही साताभित्र पश्चिम एसिया र युरोपका चार मुलुकको भ्रमणमा जाने तयारीमा रहेको संसद् सचिवालयका एक अधिकारीले बताए । प्रधानमन्त्री केपी ओलीले सरकारमा आएलगत्तै अनावश्यक विदेश भ्रमण निरुत्साहित गर्ने बताएका थिए ।

राजेन्द्रकुमार केसी नेतृत्वमा रहेको उपसमितिमा चन्दा चौधरी, प्रेम आले र अमनलाल मोदी सदस्य छन् ।  उपसमिति सदस्यसँगै समिति सभापति भरतकुमार शाह पनि विदेश भ्रमणमा जाँदै छन् भने समिति सचिव डा. रोजनाथ पाण्डे पनि विदेश भ्रमणमा जानेको सूचीमा छन् । उनीहरूको यात्रा सहजीकरणका लागि परराष्ट्र मन्त्रालयका एक उपसचिव टोलीमा सहभागी हुँदैछन्। अर्थ मन्त्रालयबाट पनि एक सदस्य भ्रमण टोलीमा समावेश गर्नुपर्ने माग गरिएको छ ।

टोलीले साउदी अरेबिया, बेलायत, जर्मनी र फ्रान्समा रहेका नेपाली दूतावासको अनुगमन गर्नेछ। असार ५ गते नै विदेश जाने बताइए पनि प्रक्रिया लम्बिँदा ढिलाइ भइरहेको उपसमिति सदस्य चन्दा चौधरीले बताइन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप