शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविता : न्याय नपाए माइतीघर जानु

शनिबार, ०७ असार २०७६, १० : ५९
शनिबार, ०७ असार २०७६

-अच्युतशाली घिमिरे

तीज आएपछि
चेलीबेटीहरू
आफ्नो दुःखसुख
बिसाउन
प्रश्नहरू तेस्र्याएर
उत्तरहरू खोज्न
माइतीघर जाने चलन
परापूर्व कालदेखि नै छ
जब जब देशमा नै
न्यायको खोजी हुन्छ
र उत्तरको अभाव हुन्छ
आजभोलि सर्वसाधरण
एवं देशभक्त जनताहरू
माइतीघर मण्डलामा
उत्रिने अवस्था
बनेको छ 

चाहे त्यो
चेलीको माइतीघर होस् वा
काठमाडौँको माइतीघर
हरेकको विश्वास आड भरोसाको
केन्द्र बन्दै आइरहेको छ,
 गुठी विधेयकका विरुद्धमा
उर्लिएको जनसागरले
यसलाई प्रमाणित गर्छ ।


आफ्नो परम्परा धर्म संस्कृतिमा
नेपाल सदिऔँदेखि 
चिनिँदै आएको छ 

यो मातृभूमिमा रहेको
आर्य सभ्यताले
विशाल युगसम्म
आध्यात्मिक पोषण पुर्याउन सक्छ,
तर यही
देशको गौरव र अस्मितामाथि
हँस्सी उडाउने हेतुले
गुठी विधेयक ल्याइएको छ
जसले आज तमाम प्रश्नहरू
उब्जिएका छन्
माइतीघरका सामुन्ने ।

के साच्चै नै
भोगचलन गर्दै आएका किसानलाई
जग्गाको मोहियानीहक दिनकै निम्ति
गुठी सर्वनाश गर्नै पर्छ र ?
वा यो गुठियारको अधिकार खोसेर
भूमाफियाको हातमा 
गुठी जग्गा सुम्पने खेल हो ?
अनि
गुठीलाई व्यवस्थित बनाउन
प्राधिकरण गठन गर्दा
नेपालको धार्मिक सांस्कृतिक
पक्षमाथि अतिक्रमण हुन्छ कि संरक्षण ?
के यो विधेयकले
बढ्दै गरेको क्रिस्चियन धर्म र होली वाइन प्रकरणमा पनि सम्बन्ध राख्छ ?
के गुठी कुनै जात सम्प्रदाय वा
काठमाडौँ उपत्यकामा मात्र सीमित छ र ?

प्रश्न अरू पनि छन् 
मन्दिरै मन्दिरको सहरमा
किन लोप हुँदैछन् सम्पदाहरू,
मन्दिर मस्दिज चैत्य गुम्बाहरू ?
के यी नेपाललाई मणि बनाउने कडी होइनन् र ?
अनि आफ्नो कुल गोत्र बन्धुवान्धवभित्र रहेर हुने
सामाजिक रीतिथितिको पालना 
समेत सरकारीकरण हुनुपर्ने जरुरी छ र ?
यी जात्रा पर्व परम्परा वंशमा
गुठियारको अधिकार खोस्नु
समस्याको हल हो र ?
के अब
धर्मशाला पाटी पौवा चौतारा पोखरी
इनार, घाट, पुल, औषधालय, पाठशाला
आदिको भोगचलन
सरकारी स्वामित्वमा नै हुन पर्ने हो र ?
कतै यो
गिद्धे नजर
नातेदार कार्यकर्ता वा भाइभारदारमा
जग्गा जमिन बाँड्ने
सत्तासीनहरूको कुप्रयास त होइन ?

सूर्योदयसँगै
बहने
सुनौला दृश्य रूपी
कान्तिपुरी नगरी
सम्पदाका खम्बाहरूमा
जोडिएको
यो सच्चा आर्यभावना
यो नवीन देवसंस्कार
सबै गहिराइमा छिपेको छ
तर आज आएको
गुठी विधेयकले
आधुनिकता र संरक्षणको
भुलभुलैयामा
असन्तोषहरू उमालिरहेछ
माइतीघर अशान्त बनिरहेछ
माइतीघरको रोदन क्रोदनलाई
सरकारले सुन्नु जरुरी छ
समयैमै चेतना भयो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप