बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीलाई नै चकित बनाउने प्रसुति गृहको यो घटना

प्रहरी देख्ने बित्तिकै रोईकराई !
शुक्रबार, ०६ असार २०७६, १७ : २६
शुक्रबार, ०६ असार २०७६

मिति : २०७६ असार ४ गते

समय : बिहान ८ः३० बजे

स्थान : प्रसुति गृह, थापाथली

बानेश्वर डेरा गरेर बस्ने एक दम्पत्ती उपचार गर्न प्रसुति गृह पुग्छन् –धादिङ स्थायी घर भएका २२ वर्षीय मुस्कान तामाङ (श्रीमान) र २० वर्षीया सुष्मा तामाङ (श्रीमती) ।

उपचार गराउनुपर्ने थियो सुष्माको । सामान्य परिवारका मुस्कानको सानो जागिर थियो । बिहानै अस्पताल पुगेका मुस्कान जागिरमा १० बजे पुग्नुपर्ने भएकाले श्रीमतीलाई पहिलो तलामा गएर बस्न अह्राएर उपचार गरी घर आउनु भन्दै बाहिर निस्के ।

उपचार गराउन भनेर प्रसुति गृह पुगेकी सुष्मा टिकट पनि नकाटी पहिलो तलामा जान्छिन् । उपचारपछि घर आउँछे भन्ने आशमा रहेका मुस्कानले साँझसम्म नआएपछि सुष्मालाई फोन गर्छन् । उनीहरुबीच छोटो संवाद पनि हुन्छ ।

त्यसपछि उनीहरुबीच राती मोबाइलमा म्यासेजमा कुराकानी हुन्छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार उनीहरुबीच त्यो रात लामो म्यासेज कन्भरसेसनमा केटीले केटालाई बच्चा जन्मिएको कुरा भन्छिन् ।

प्रहरीका अनुसार लगत्तै केटाले केटीलाई के जन्मियो भनेर प्रश्न गरेको म्यासेज कन्भरसेसनमा देखिन्छ । केटीले पनि तत्कालै म्यासेजको रिप्लाई दिँदै ‘तिमी जस्तै’ भन्ने जवाफ दिएकी छन् । 

त्यो रात त्यत्तिकै बित्छ । अस्पतालमा सुष्मासँग उनकै आमा हुन्छिन् ।

प्रहरीका अनुसार उनीहरु त्यो राती प्रसुति गृहमै बसेको हुनुपर्छ । आमालाई केटासँग भएको म्यासेज कन्भरसेसनबारे जानकारी भए÷नभएको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता बिहीबार बिहान ५ बजे मुस्कान ले सुष्मालाई फेरि म्यासेज गर्छन । प्रहरीका अनुसार मुस्कानले दिउँसो १ बजे बच्चा हेर्न आउँछु भनेर म्यासेज गरेका छन् ।

त्यसपछि मुस्कान दिउँसो पौने २ बजेतिर प्रसुति गृह पुग्छन र बाहिरबाट सुष्मालाई फोन गर्छन् । फोन संवाद लगत्तै सुष्मा तल आउँछिन । सुष्मा एक्लै हिँडेर बाहिर निस्किन्छिन ।

मुस्कानलाई भेट्नासाथ सुष्माले बुधबार साँझ ६ बजेतिर जन्मिएको आफूहरुको बच्चा चोरी भयो भनेर भन्छिन् । यो खबर सुनेर मुस्कान आफन्त र प्रहरीलाई घटनाबारे जानकारी गराउँछन् ।

तत्कालै काठमाडौँ प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त सिंहदरबारको प्रहरी टोली प्रसुति गृह पुग्छ । प्रहरीलाई देख्ने बित्तिकै उनीहरुले पीडा भयो भन्दै रोईकराईसहित नाटक गर्दै आफ्नो बच्चा चोरिएको जानकारी गराउँछन् ।

यो सुनेपछि प्रहरीले तत्कालै अस्पातल प्रशासनलाई घटनाबारे के हो भनेर सोधपुछ गरेको महानगरीय प्रहरी वृत्त सिंहरबारका प्रमुख कौशल कुमार बुढाथोकीले जानकारी दिए । उनले भने, ‘बच्चा प्रसुति गृहबाट चोरिएको हो भनेपछि गम्भीर केस हो भन्ने लागेर प्रहरी परिचालन गर्यौं ।’

‘प्रसुति गृहको सीसी क्यामेराको फुटेजहरु चेक गर्यौं । कोही मान्छे त्यो साँझ बच्चा लिएर बाहिर आवतजावत गरेको देखिएन,’ डीएसपी बुढाथोकीले भने, ‘अस्पतालले पनि उहाँहरुले टिकट नै नकाटेको जानकारी गरायो ।’

त्यसपछि सुष्माको अल्ट्रासाउण्ड गर्ने कुरा भयो । अल्ट्रासाउन्ड गर्दा पाठेघर नर्मल देखिएको रिपोर्ट आयो ।  ‘बच्चा पाएको आधारहरु नदेखिएको अस्पतालले रिपोर्ट दियो,’ बुढाथोकीले भने ।

‘प्रहरी आफैँ चकित पर्दै फेरि सुष्मा तामाङको आमालाई सेक्रेट कोठामा छोरीलाई लगेर हेर्नुस भन्यौ,’ बुढाथोकीले भने, ‘किनभने भर्खर बच्चा जन्मेको हो भने ब्लीडिङ हुन्छ । चेक गर्नुस् भनिसकेपछि उनको आमाले पनि ब्लीडिङ केही पनि नभएको र पाठेघर नर्मल रहेको भन्नुभयो ।’

अनुसन्धान गहिरो बन्दै गएपछि र आफ्नो गल्ती नछोपिने भएपछि सुष्माले बिरामीको एक्टिङ गरेको प्रहरी समक्ष बताइन् । प्रहरीका अनुसार बुझ्दै जाँदा सुष्मामा साइकोसिस समस्या हो कि जस्तो देखिन्छ ।

सुष्माले के कति कारणले आफ्नो बच्चा हरायो भनेर त्यत्रो ठूलो हंगामा मच्चाइन यो भने सबैको चासोको विषय बनेको छ ।

अहिले उनीहरु सिंहदरबार प्रहरीको निगानीमा अस्पतालमै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप