शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्यूरोडको स्मार्ट पार्किङ : सेवाग्राही भन्छन्, ‘सिस्टम ठीकै हो तर महँगो भयो’ (भिडियो)

महङ्गो गर्ने नीति अनुसार नै गरेको हो : महानगर
शुक्रबार, ०६ असार २०७६, १२ : ००
शुक्रबार, ०६ असार २०७६

शुक्रबार काठमाडौँका प्रशु श्रेष्ठ न्यूरोडमा मोबाइल फोनको कभर फेर्न पुगेका थिए । पाको न्यूरोडमा झन्डै १० मिनेट उनले मोटरसाइकल पार्किङ गरे । पार्किङबाट फर्किन लाग्दा उनको हातमा २५ रुपैयाँको बिल आइपुग्यो । एकछिन पार्किङ गरेको २५ रुपैयाँ तिर्नुपर्दा उनले खिन्नता व्यक्त गरे ।

यस्तै न्यूरोडमा किनमेल गर्न आएका राजेश श्रेष्ठले पनि पार्किङ शुल्क महङ्गो भएको गुनासो गरे । उनले भने–‘यो स्मार्ट पार्किङ गरेको त राम्रो हो तर शुल्क भने धेरै भयो । २५ रुपैयाँ लिनु भनेको त धेरै ठूलो कुरा हो नी । मैले आधी घण्टा राखेँ, २५ रुपैयाँ तिरेँ । पहिला हामीले दश–पन्ध्र रुपैयाँ तिरे पुग्थ्यो । बरु २ घण्टाको २० रुपैयाँ लिओस् न त्यो राम्रो हो ।’

गत जेठको दोस्रो साताबाट सुरु गरिएको स्मार्ट पार्किङमा मोटर साइकलका लागि १ घण्टासम्म २५ रुपैँया र साना सवारी साधनका लागि प्रतिघण्टा ८० रुपैँया शूल्क तोकिएको छ ।

अहिले न्यूरोडको पाको, प्युखा लगायत ३ ठाँउमा सुरु गरिएको स्मार्ट पार्किङ इन्द्रचोक, धर्मपथ, खिचापोखरीमा सुरु गर्न लागिएको कम्पनीका प्राविधिक इन्जिनियर बिक्रान्त कार्कीले बताए ।

छिन छिनमा ठूलो मात्रामा सवारी सधानको चाप हुने सो क्षेत्रमा घरमै बसेर मोबाइल एपमार्फत पार्किङ बुक सकिने भनेपनि त्यो व्यवहारिक नहुने स्थानीय बताउँछन् । तर, पार्किङ स्थलको अवस्थाका बारेमा मोबाइलको एप पार्क केटीएमबाट थाहा पाउन सकिने कम्पनीको भनाई छ । कम्पनीले स्मार्ट पार्किङमा एकपटक ८ सय बढी मोटरसाइकल र ४० वटा गाडि पार्किङ गर्न सकिने बताएको छ ।

काठमाडौँ महानगरपालिकाले ह्विल्स ट्रयुली योर्स प्रालिलाई पार्किङ ठेक्का दिएको हो । कम्पनीले दिएको प्रपोजलका आधारमा परिक्षणका लागि अस्थायी प्रकृतिको अनुमति दिइएको काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले यसअघि न्यूरोडका सबै ठाउँमा निःशुल्क पार्किङको व्यवस्था गरेको थियो । त्यसअघि ठेक्कामा पार्किङ गर्न दिने गरेपनि मनपरी शुल्क लिने तथा ठेक्का विवाद भएपछि महानगरले काठमाडौँका विभिन्न स्थानमा निःशुल्क पार्किङको व्यवस्था गरेको थियो ।  

महङ्गो गर्ने नीति अनुसार नै गरेको : महानगर

काठमाडौँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले सवारी चाप घटोस् भनेर पार्किङ शुल्क महंगो लिएको बताए । उनले भने–‘हामीले शुल्क महंगो गर्न खोजेको हो, किनभने सहरको मध्य भागमा सवारी पार्किङ धेरै भयो । पार्किङ महंगो नगर्ने हो भने चौबिसै घण्टा पार्किङ गरेर डिस्र्टब गर्ने धेरै भए ।’

उनले पार्किङको पैसा महङ्गो लिएको अर्थ सो क्षेत्रमा ट्राफिक समस्या हटाउनका लागि गरेको दावी गरे । बजारमा आउनेहरु एकछिन सवारी साधन राखेपछि फर्किने भएपनि न्यूरोडका व्यवसायीहरुले दिनभरी सवारी पार्किङ गर्दा महङ्गो हुने उनले बताए । उनले भने–‘उनीहरुले पनि बुझ्नुप¥यो, पार्किङलाई बाह्रै घण्टा मेरो हो भनेर ओगट्न भएन ।’

उनले पहिला निःशुल्क पार्किङको सुविधा दिँदा पनि जथाभावी पार्किङ गरेर सवारी साधन निकाल्नै नसक्ने गरी भद्रगोल भएको बताउँदै शुल्क लिएर व्यवस्थित गर्न माग आएका कारण अहिलेको व्यवस्था गरेको उल्लेख गरे । 

उनले महानगरपालिकाले अहिले परिक्षणका रुपमा सो कम्पनीलाई पार्किङ ब्यवस्थापनको जिम्मा दिएको बताए । उठाइएको पार्किङ शूल्क मध्ये २० प्रतिशत महानगरलाई दिने र ८० प्रतिशत कम्पनीले राख्ने र पार्किङ क्षेत्रका लागि कर्मचारी ब्यवस्थापन कम्पनीले गर्ने सम्झौता भएको छ ।

प्रवक्ता डंगोलले अहिले केही समयका लागि अस्थायी प्रकृतिको पार्किङ व्यवस्थापन गरेको बताउँदै न्यूरोडको भूगोलपार्कमा लिफ्ट सिष्टमबाट तीन सय भन्दा बढी सवारीसाधन अटाउने पार्किङस्थल बनाउन लागेको जानकारी दिए । त्यसको डिजाइनको काम अन्तिम चरणमा पुगेको र आगामी वर्षबाट काम सुरु गरिने उनको भनाई छ ।

न्यूरोडमा सवारी साधन गुड्ने सडकको दायाँ बायाँ भागलाई नै पार्किङ क्षेत्र बनाएर स्मार्ट पार्किङका नाममा चर्काे शुल्क असुलेकाे भन्दै सवारी पार्किङकर्ताहरुले भने गुनासो गरेका छन् । ५ मिनेट मात्रै पार्किङ गरेपनि मोटरसाइलकको २५ र अन्य सवारी साधनको ८० रुपैयाँ रुपैयाँ शुल्क लिने गरेपछि सर्वसाधारणले असन्तोष व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप