विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनका कार्यक्रम घोषणा
शुक्रबार, ०६ असार २०७६, १३ : ५४
१
![विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनका कार्यक्रम घोषणा](https://rpcdn.ratopati.com/media/albums/biplab1_XJCGU2rtEG.jpg.405x290_q100_crop_R98EXF1pmc.jpg)
काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या विरुद्ध ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
ओली नेतृत्वको सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा निशस्त्र कार्यकर्ता माथिको हत्याश्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासचिव विप्लवले विज्ञप्तिमा जनाएका छन् ।
आन्दोलनका कार्यक्रमहरुमा असार ७ गते प्रचार–प्रसार, असार ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ । विज्ञप्तिमा असार ५ गते भएको पौडेल हत्याकाण्डको छानविनको माग समेत गरिएको छ ।