केन्द्रीय संस्करण

सबैका लागि र सधैँका लागि योग

person explore access_timeअसार ६, २०७६ chat_bubble_outline0
नरनाथ पाण्डे

रातोपाटी

पृष्ठभूमि

योग शब्दको उत्पत्ति संस्कृत भाषाको युजिर योगे धातुबाट भएको हो । जसको अर्थ सम्मिलित हुनु वा एक हुनु भन्ने हुन्छ । जीवात्मा तथा परमात्मामा एकीकरण हुनु, मानिसको शारीरिक, मानसिक, बौद्धिक तथा आध्यात्मिक पक्षको एकीकरण हुनु र व्यक्ति तथा समाजबीच एकीकरण हुनु भन्ने विज्ञान नै योग हो । पतञ्जलिको योगसूत्रका अनुसार योग चित्तवृत्ति निरोधको (योगश्चित्तवृत्तिनिरोधः यो.सू. १:२) अवस्था हो । भगवत गीताका अनुसार योग दुःख र वेदनाको मुक्तिको अवस्था हो (योग कर्मसु कौशलम्, दुःख संयोगवियोगं योगसंज्ञितम्, समत्वं योगमुच्यते) ।

योग दिवसलाई विश्व योग दिवसका नाममा जुन २१ तारिखका दिन विगत ४ वर्षदेखि मनाउने गरिएको छ । उक्त दिन नेपालमा पनि अन्तर्राष्ट्रिय योग दिवस भव्यताका साथ मनाउन केन्द्र, जिल्ला र पालिका स्तरमा समेत विभिन्न समिति गठन भई व्यापक तयारी भएको छ । यसरी अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइने कुराको सुरुवात, योग र योगदर्शनको बारेमा यस आलेखमा प्रकाश पार्ने जमर्को गरिएको छ ।

भारतमा नरेन्द्र मोदी पहिलो पटक भारतका प्रधानमन्त्री भएपछि २७ सेप्टेम्बर २०१४ सालमा योग दिवससम्बन्धी प्रस्ताव तयार गरी अन्तर्राष्ट्रिय स्तरको संयुक्त राष्ट्र सङ्घको ६९औँ बैठकमा पेश गरे । यो प्रस्तावलाई सोही दिन १७५ देशले समर्थन गरी इतिहासमै एकै दिनमा यति धेरै समर्थन प्राप्त गर्न सफल प्रस्तावको रेकर्डसमेत राखेको थियो । उक्त प्रस्तावमा योग व्यक्तिलाई प्राचीन परम्पराले दिएको एक उपहार हो, योगले मस्तिष्क र शरीरलाई जोड्छ, सोचाइ र कार्यलाई जोड्छ, सबैलाई पूर्ण स्वस्थ बनाउने यो निकै महत्त्वपूर्ण उपागम हो । योग शारीरिक मात्र अभ्यास नभई सम्पूर्ण व्यक्तिको आफ्नोपन, विश्व र प्रकृतिलाई समेत ओगट्ने साधन भएको र यसको वैज्ञानिक रूपमा पुष्टि भइसकेको कुराहरूलाई देखाई संसारभरका मानिसहरूलाई स्वस्थ हुन वा निरोगी बन्न योग अपरिहार्य भएको कुरा उल्लेख गरिएको थियो । पछि विश्व स्वास्थ्य सङ्गठनले समेत योगलाई असाध्य रोग निवारणको राम्रो माध्यम भएको भनी सबै सदस्य राष्ट्रहरूलाई आफ्नो देशमा लागू गर्न निर्देशन दियो । साथै योग दिवसको उपयुक्त दिन वर्षको सबैभन्दा लामो जुन २१ तारिखका दिन ठीक हुने तर्कसहितको प्रस्ताव गरेपछि उक्त प्रस्ताव पास भयो र डिसेम्बर ११, २०१४ का दिन संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवस मनाउने घोषणा गर्यो । यसरी भारतबाट योग विस्तारै पश्चिमा देशहरू हुँदै संसारभर गएको मान्न सकिन्छ । यसरी अन्तर्राष्ट्रिय स्तरमा योगको महत्त्वलाई पहिचान गराई भारतको प्रस्तावमा विश्वभर योग दिवस मनाउन सुरु गरिएको हो । अहिले हामीले मनाउन गइरहेको योग दिवस ५औँ अन्तर्राष्ट्रिय योग दिवस हो ।

नेपालमा भने प्रत्येक वर्ष राष्ट्रिय योग दिवस माघ १ गते मनाउने गरिन्छ । २०३६ सालमा नेपालमा योगका प्रवर्तक राष्ट्रयोगी गुरु डा. हरिप्रसाद पोखरेल (मानसाग्नि) को पहलबाट मनाउन थालिएको हो । सुरुमा नेपालमा अन्तर्राष्ट्रिय योग दिवस भनेर मनाउन थालिए पनि विश्वभर नेपालले योगको ध्यानाकर्षण गराउन सकेन । हामीले संयुक्त राष्ट्रसङ्घमा लैजानुपर्ने प्रस्ताव पहुँचको आधारमा ओझेलमा परिरहेको थियो । यही परिप्रेक्ष्यमा भारतका नरेन्द्र मोदीले विश्वभर आफ्नो प्रभाव र पहुँच पु¥याई प्रस्ताव लैजान सफल भएपछि उनैको प्रस्तावअनुसार संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरी सन् २०१४ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । तत्पश्चात नेपालमा अन्तर्राष्ट्रिय योग दिवसको सट्टा राष्ट्रिय योग दिवस भनेर माघ १ गते मनाउन थालियो । सदाझैँ यस वर्ष पनि गत २०७५ माघ १ गते “शान्ति र समृद्धिका लागि योग, योगी बनौँ र योग सिकाऔँ” भन्ने नाराका साथ राष्ट्रिय योग दिवस मनाइसकिएको छ ।

२. के छ योगदर्शनमा ?

योगदर्शनका प्रतिपादक ऋषि पतञ्जली हुन् । त्यसैले यस दर्शनलाई पतञ्जली योग पनि भनिन्छ । भारतीय तथा पश्चिमाहरूले योगलाई योगा भन्ने गर्छन् । योगदर्शन पूर्वीय दर्शनशास्त्रको एउटा अत्यन्त पुरानो शाखा हो जसलाई व्यवस्थित रूप दिने काम ऋषि पतञ्जलीले गरेका हुन् । हाल स्वामी रामदेवले पतञ्जलीकै नामबाट योगलाई बढी लोकप्रिय गराउने काम गरेका छन् । वेद, उपनिषद्, स्मृति र पुराणमा योगको उल्लेख पाइन्छ । यो सैद्धान्तिक मात्र नभई व्यावहारिक दर्शन पनि हो । स्वस्थ शरीर र शक्तिशाली आत्मा योग दर्शनका मुख्य विषयवस्तु हुन् । योग गर्ने समयमा शिर र गर्धनलाई सीधा पारेर राख्नु, इन्द्रियलाई मनले वशमा राख्नु, श्वास प्रश्वासको नियम पालना गर्नु र पवित्र मनको अनुकूल स्थानमा अभ्यास गर्नुजस्ता विधान यस दर्शनमा पाइन्छन् । यस दर्शनले शरीरलाई कहल्यै मिथ्या मान्दैन बरु उपयोगी वस्तु मान्छ । यसले स्वस्थ शरीरमा शुद्ध दिमाग हुन्छ र शुद्ध दिमागले मात्र मुक्ति प्राप्त गर्न सकिन्छ भन्छ । योगदर्शन नै एउटा यस्तो दर्शन हो, जुन मानव जीवनमा अध्यात्मवाद, वादविवाद या तर्कशास्त्रलाई महत्त्व नदिएर जीवनको उद्धारका लागि मानव शरीरको व्यावहारिक र प्रयोगात्मक पक्षमा विशेष बल दिइन्छ । त्यसैले यस दर्शनमा आसन, यौगिक क्रिया, प्राणायाम तथा अन्य व्यायामहरूको माध्यमबाट आध्यात्मिक उपलब्धि पाउन सकिन्छ भन्ने कुराहरू दर्साइएको छ । यसै विशेषताका कारण प्राचीन कालदेखि आजसम्म योगले आफ्नो उपयोगिता वैज्ञानिक रूपमै सिद्ध गरेको छ ।

प्राचीन ऋषिमुनिहरूको अन्तरदृष्टिको कारणमा योग साधना नै मुख्य थियो भनिन्छ । त्यस्तै बुद्ध धर्मका पालित्रिपिटकहरूमा, संस्कृत ग्रन्थहरूमा पनि योगका चर्चा भएका छन् । जैनधर्ममा महावीर स्वामी आफै योगी थिए र उनको समयमा योगको विवेचना बढी भएको पाइन्छ । गोरखनाथको नाथ सम्प्रदायमा पनि योगको यति आदर गरिन्छ कि त्यस सम्प्रदायलाई योगी सम्प्रदाय भनिन्छ । यसरी योग हरेक धर्म र सम्प्रदायमा लोकप्रिय नै रहेको पाइन्छ । योगका चार प्रकारहरू पाइन्छन् । ती हुन्– मन्त्रयोग, लययोग, हठयोग र राजयोग । तीमध्ये पतञ्जलीले राजयोगलाई अघि बढाएका छन् । त्यसकारण आज हामी योग भन्नासाथ पतञ्जलीको राजयोग भनी बुझ्छौँ । पतञ्जली योगसूत्रका रचयिता र व्याकरण भाष्यका निर्माता हुन्, जसको रचना विक्रमपूर्व दोस्रो शताब्दीमा भएको थियो । योगसूत्रलाई समाधिपाद, साधनपाद, विभूतिपाद र कौवल्यपाद गरी ४ सूत्रमा वर्णन गरिएको छ । समाधिपादमा समाधिको रूप तथा भेद, चित्त र चित्तवृत्तिहरूको वर्णन गरिएको छ । साधनपादमा दुईवटा साधनहरू आन्तरिक र बाह्य साधनअन्तर्गत विभिन्न कुराहरूको चर्चा गरिएको छ । आन्तरिक साधनमा धारण, ध्यान र समाधिको चर्चा छ भने बाह्य साधनमा यम, नियम, आसन, प्राणायाम र प्रत्याहारहरूको वर्णन गरिएको छ ।  विभूतिपादमा योगाभ्यास र सिद्धियोगको चर्चा छ । यसैगरी कौवल्यपादमा मुक्ति वा मोक्षका स्वरूपको विवेचना गरिएको छ ।

यस दर्शनमा प्रकृति र पुरुष नै मूल तत्वको रूपमा आउँछन् । यस दर्शनले ईश्वरलाई विशिष्ट तत्वका रूपमा त मानेको छ तर सृष्टिका लागि ईश्वर कारण होइन कि जीवनको कर्मफल अनुसार प्रकृतिद्वारा पुरुषको संयोग र वियोग गराउने निमित्त कारण मात्र हो भन्छ । सांख्य दर्शन र योगदर्शनको निकै घनिष्ठ सम्बन्ध छ । वास्तवमा सांख्य दर्शनको सैद्धान्तिक रूपको व्यावहारिक प्रयोग नै योगदर्शन हो भनिन्छ । सांख्य दर्शनले २५ वटा तत्वलाई मानेको छ र योगले पनि त्यसैलाई नै मान्दछ तर योगदर्शनमा एउटा थप तत्व ईश्वर समेत जोडिएकाले यस दर्शनलाई ‘सेश्वर सांख्य’ पनि भनिन्छ । यसले पनि सांख्य दर्शनले जस्तै सत्कार्यवादलाई मानेको छ तर कार्य र कारण शब्द प्रयोग नगरी धर्म (परिणाम÷विकृति) र धर्मी (मूलतत्व÷प्रकृति) शब्दको प्रयोग गरेको छ ।

सारांशमा योगको अर्थ जोड्नु हो । अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो भनिन्छ । तर पतञ्जलीको दर्शनमा योग त्यो प्रयत्न हो, त्यो साधन वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रियलाई वशमा गरिन्छ । यहाँ योग भनेको जोड्नुको अर्थमा नआई प्रयत्नको अर्थमा आएको छ । वास्तवमा चित्तमा आउने विकार रोक्नु नै योग हो । शरीर, इन्द्रिय, मन, वुद्धि र अहंकार माथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरूप पाउन सकिन्छ र योग चित्तवृत्तिको निरोध हो जसलाई समाधि पनि भनिन्छ ।

३. के योगदर्शन हिन्दू धर्म विशेषको नै हो त ?

योग दर्शन वास्तवमा कुनै पनि धर्म, सम्प्रदायसँग सम्बन्धित छैन । हुनसक्छ कि हिन्दू धर्मले यस दर्शनको विकास र प्रचार प्रसार बढी गरेको होला तर यसमा कुनै पनि धर्मप्रति विभेद छैन । यस दर्शनमा धर्म कर्मका लागि यज्ञ यज्ञादि र पूजापाठको कुनै गुञ्जायस छैन । केवल यस दर्शनमा शारीरिक तथा मानसिक शक्तिको उचित प्रयोग गर्ने प्रेरणा पाइन्छ । यस दर्शनले स्वअध्ययनका लागि प्रेरणा दिन्छ भने ईश्वरको ध्यान गर्दा ईश्वर वाचक ओउम्को उच्चारण गरी चित्त एकाग्र गराउन भन्छ । योग भारतीय मनिषीहरूको आध्यात्मिक चिन्तनको सारभूत तत्व हो पनि यो दर्शनले पूर्व तथा पश्चिमका सारा जगतहरूलाई जोड्ने काम गरेको छ । सबै किसिमका धर्म तथा सम्प्रदायले यसको अभ्यास गरेका हुनाले योगलाई सार्वभौम अभ्यास पनि भन्ने गरिन्छ । लगभग सबै खालका धर्म तथा दर्शनहरूमा योगाभ्यासको महत्त्व दिइएको हुनाले योगदर्शनको महत्त्व बढी छ । हिन्दू र बौद्धबाहेकका अन्य धर्महरू जस्तै; इसाई धर्ममा योगको व्यावहारिक उपयोगका कुराहरू पाइन्छन् । मुहमद्ले योगको राम्रो अभ्यास गरेका थिए र पछि गएर उनी आध्यात्मवादका चिन्तक बने । इस्लाममा नमाज पढ्नका लागि बसिने आसन योगासन हो । सुफीहरूको साधनमा ध्यानको निकै महत्त्व रहेको पाइन्छ । इसाई धर्मका प्रवर्तक इसामसिह ठूला योगी थिए जसको बारेमा न्युगेस्टामेटमा कहानीहरू दिइएको छ । उनले आफ्नो साधनाका धेरै समय भारतका सिद्धहरूसँग बिताएको पाइन्छ । यस्ता उदाहरणहरूले के पुष्टि गर्न सकिन्छ भने योग सबैका लागि र सधैँका लागि आवश्यक अभ्यास हो । जसले सबै धर्म, जात, भाषाभाषी, वर्ण, लिङ्ग, सम्प्रदाय आदिलाई जोड्ने काम गर्छ । यसले शरीर तथा मनलाई अनुशासित गराई जीवनका चरम उद्देश्य आनन्दलाई प्राप्त गर्न सहायक सिद्ध हुन्छ । यसले आत्माभित्र रहेका विशेषतालाई खोजेर निकाल्छ । मनुष्य जगतका मानसिकतामाथि सकारात्मक प्रभाव पार्ने काम गर्छ । योगलाई आधुनिक चिकित्साको माध्यममा समेत समावेश गर्नुले योग निकै कल्याणकारी स्वास्थ्यको मानक पनि हो भन्न सकिन्छ । योगको महत्त्व दिन प्रतिदिन अझै बढ्दै जाने कुरामा पनि कुनै शङ्का छैन ।

यस दर्शनले ईश्वरलाई परम गुरु वा परम पुरुष मान्छ, जुन सबै जीवभन्दा माथि र सबै दोषबाट मुक्त छ । ईश्वर सर्वव्यापी, सर्वज्ञ, सर्वशक्तिमान र पूर्ण परमात्मा हो भन्छ । मोक्षको मुख्य मार्ग नै योग, साधक र समाधी हुन् भन्ने यस दर्शनले मुक्ति प्राप्तिका लागि ८ वटा मार्गहरू (अष्टाङ्ग योग) उल्लेख गरेको छ । ती हुन्

-              यम : हिंसा, चोरी, लोभ आदि नगर्नु अर्थात अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह ।

-              नियम : ५ नियमहरूको पालना गर्नु जस्तै–शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वरप्रति विश्वास ।

-              आसन : मन एकाग्र गरी आनन्दको अनुभूति गर्नु ।

-              प्राणायाम : श्वास प्रश्वास नियन्त्रण गरी मनलाई एकाग्र राख्नु ।

-              प्रत्याहार : इन्द्रियको कुप्रभाव मनमा पर्न नदिनु ।

-              धारण : अन्तरनिहित वस्तुको पहिचानमा मन लगाउनु ।

-              ध्यान : निश्चित विषयमा एकाग्रतापूर्वक सोचविचार गर्नु ।

-              समाधि : सम्पूर्ण चेतनालाई खिचेर आत्मामा लिन गराउनु । उल्लेखित यस्ता उपायहरूद्वारा मुक्ति मिल्दछ भन्नु योगदर्शनको मुख्य मर्म हो ।

४. सारांशमा

योगदर्शनमा सैद्धान्तिक ज्ञान मात्र छैन कि यसमा धेरै व्यावहारिक ज्ञानहरू पनि छन् । हामी जति पनि शारीरिक अभ्यास, दौड, बिहानको हिँडाइ, कठिन परिश्रम आदि जे जति गरे पनि ती अभ्यासबाट पूर्ण व्यायाम हुन सक्दैन । अझै भन्ने हो भने ती अभ्यासबाट केवल शारीरिक व्यायाम हुन्छ तर मानसिक, संवेगात्मक र आध्यात्मिक अभ्यास त हुनै सक्दैन । तर योग नै एउटा यस्तो माध्यम हो जसबाट माथि उल्लेखित सम्पूर्ण अभ्यासहरू सम्पन्न भई पूर्ण व्यायाम हुन्छ । यसरी पूर्ण व्यायामका लागि योग अति महत्त्वपूर्ण र मानव जीवनमा अति आवश्यक भएकाले हामीले पनि आजैदेखि ढिला नगरी योगकर्ममा जुटिहालौँ ।

अन्त्यम, सबैका लागि र सधैँका लागि योग भएकाले योगदर्शन अहिलेको युगमा आइपुग्दा पनि वैज्ञानिक दर्शनकै रूपमा रहेको कुरा प्रमाणित गर्न सकिन्छ ।

 

कावासोती—८, नवलपुर

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...