शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शशिशङ्कर ग्यालरी उद्घाटन, रिमालका चित्रमूर्ति र स्थापत्यकला प्रदर्शनी

बिहीबार, ०५ असार २०७६, २३ : ३२
बिहीबार, ०५ असार २०७६

काठमाडौं-इञ्जिनीयर, आर्किटेक्ट तथा चित्रमूर्तिकार शङ्करनाथ रिमाल र उनकी धर्मपत्नी शशी रिमालका नामबाट सञ्चालित ‘शशिशङ्कर ग्यालरी’ आजदेखि उद्घाटन भएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशतवार्षिकी र रिमाललको ८५ औँ जन्मोत्सवका उपलक्ष्यमा स्थापित ग्यालरीमा शङ्करनाथका इञ्जिनीयरिङ, स्थापत्यकला,  चित्रकला, मूर्तिकला, उहाँद्वारा लिखित एवं सङ्कलित पुस्तक तथा धर्मपत्नी शशि रिमालका साहित्यिक कृति समाविष्ट छन् । 

रिमालको निजी निवास नक्साल, नारायणचौरमा ग्यालरीको उद्घाटन गर्दै   वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नन्दीबहाल, नागपोखरी, नारायणचौर आसपास निजी रुपमा सञ्चालित ग्यालरी भए पनि सो ग्यालरी कला पारखी र पर्यटकहरुको आगमन भई राष्ट्रिय सम्पदा बन्ने विश्वास व्यक्त गरे । 

“रिमालमा चित्रकला, मूर्तिकला र  वास्तुकला सिर्जना गर्ने खूबी छ”, जोशीले भने । तीस वर्षदेखिका आफ्नो चित्र मूर्तिकला तथा आर्किटेक्चर ‘शङ्करनाथ रिमाल रेट्रोस्पेक्ट एक्जिबिशन’(सिंहावलोकन प्रदर्शनी) मा राखिएको रिमालले जानकारी दिए । “आजसम्म मैले कुनै पनि एकल प्रदर्शनी नगरेकाले यस पटक गर्न लागेको हुँ”, नेपाल कला परिषद्का महासचिव समेत रहेका रिमालले भने । आफ्ना काम जनतामा समर्पण गर्ने नै आफ्नो मुख्य उद्देश्य रहेको उनले बताए । 

कार्यक्रम सहआयोजक स्पेशेश म्यागाजिनका निर्देशक अनु राजवंश भावीपुस्तालाई रिमालको ज्ञान र काम हस्तान्तरण गर्न प्रदर्शनी आयोजना गरिएको जानकारी दिए । ग्यालरीको उद्घाटनसँगै शुरु भएको प्रदर्शनीमा ४० चित्र, एक सय आर्किटेक्चर र १५ वटा  मूर्ति राखिएको छ । उनका चित्र मूर्तअमूर्त दुवै खालको पाइन्छ । जलरङ, एक्रेलिक, पेन एण्ड इन्क, पेन्सिल, अँगार र  मैन माध्यमबाट बनाइएका उनका चित्रमा आध्यात्मिकता, स्थिर जीवन, यथार्थवादी, मुहारचित्र, न्यूड, फिगरेटिभ  भूदृश्य आदि  भाव  भेटिन्छ ।

तामा, ढलोट, काँस माध्यमबाट बनाइएका मूर्तिमा  पनि मूर्तअमूर्त भाव पाइन्छ । नेपाली आधुनिक कलाका पिता लैनसिंह बाङ्देलबाट प्रशिक्षित उनी न्यू आर्ट सर्कलका संस्थापक अध्यक्ष र सोसाइटी अफ मोडर्न आर्टका कार्यकारी सदस्य पनि हुन् । चार पटक नेपाल इञ्जिनीयरिङ एशोसियशनको नेतृत्व गरेका राष्ट्रिय योजना आयोगका पूर्वसदस्य रिमालको ‘लुम्बिनी चक्र’ शीर्षक पुस्तक प्रकाशित छ भने ‘श्रीयन्त्र’ र आत्मजीवनी प्रकाशनोन्मुख छन् । 

रिमालले नेपालका महत्वपूर्ण सम्पदामध्ये शहीदढोका, नारायणहिटी दरबारको भूदृश्य वास्तुकला, मङ्गल सदन र नानीगञ्ज, नेपाल प्रज्ञाप्रतिष्ठान, सोल्टी होटल, भरतपुरको दियालो बङ्गला, पशुपतिनाथको उन्मत्त भैरव, देवघाटको नर्मदेश्वर र हरिऔनको चतुर्भुजेश्वर मन्दिर, चन्द्रागिरिको भालेश्वर मन्दिर, सिङ्गापुरमा विष्णु मन्दिर र  अमेरिकामा हिन्दू मन्दिर, हिँड्ने र खुट्टेघर, सिंहदरबारस्थित पहिलेको परराष्ट्र मन्त्रालय भवन, जनकपुर चुरोट कारखाना, जनकपुरस्थित रामानन्द चोकको ढोका, देवघाटको सन्न्यास आश्रम, नक्साल काठमाडौँको रेयुकाइ भवन, स्याङ्जाको गोरखास्मारकलगायत थुपैै्र निजी भवनको समेत डिजाइन गरेका छन् ।
नेपालको राष्ट्रिय झण्डाको स्तरीकरण गरी मापदण्ड उनले नै तयार गरेका हुन् जुन नेपालको संविधान २०१९देखि हालसम्म कायम नै छ । प्रदर्शनी चार दिनसम्म चल्नेछ । सो अवसरमा साहित्यकार धर्मराज बरालले कलाकार रिमाललाई ढाकाटोपी लगाएर सम्मान गरेका थिए भने रिमाल दम्पतीले वाङ्मय शताब्दी पुरुषलाई भूदृश्य कला समर्पण गरेको थियो  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप