बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरपालिकाको ज्येष्ठ नागरिक अस्पताल निर्माणको योजना

बिहीबार, ०५ असार २०७६, २२ : १२
बिहीबार, ०५ असार २०७६

सञ्चिता घिमिरे/शर्मिला पाठक

काठमडौं-काठमाडौँ महानगरपालिकाले प्रदेश तथा सङ्घीय सरकारसँगको समन्वयमा आगामी आर्थिक वर्षमा महानगर ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने योजना बनाएको छ । 

महानगरपालिकाको आव २०७६/७७ को नीति तथा कार्यक्रम आज आयोजित कार्यक्रममा प्रस्तुत गर्दै नगरप्रमुख विद्यासुन्दर शाक्यले वृद्धावस्थामा हुने रोगको समयमा नै निदान तथा उपचार गर्ने सुविधा सम्पन्न अस्पताल निर्माणको महानगरले योजना बनाएको बताए । महानगरपालिकाले स्वास्थ्यसँगै यातायात र सामाजिक सुरक्षाका क्षेत्रमा पनि ज्येष्ठ नागरिकलाई सम्मान र सुविधा दिने कार्यक्रम प्रस्ताव गरेको छ । 

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा ‘मनमोहन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ सञ्चालन गरेर नेपाल सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता घरघरमै उपलब्ध गराउने अभ्यासलाई निरन्तरता दिइने उनले बताए । त्यस्तै ७५ वर्ष उमेर पुगेका महिला र ८० पुगेका पुरुषलाई महानगरपालिकाले ‘महानगर विशेष भत्ता’ का रुपमा थप रु १२ हजार उपलब्ध गराउने भएको छ । उनले भने, “महानगरले ज्येष्ठ नागरिकलाई वरिष्ठ चिकित्सकद्वारा घरघरमा स्वास्थ्य जाँच र साझा बसमा निःशुल्क यात्रा गर्ने व्यवस्था मिलाइएको छ ।”

निमोनिया तथा अन्य सङ्क्रमणको रोकथामका लागि ‘मनमोहन अधिकारी ज्येष्ठ नागरिक निःशुल्क खोप कार्यक्रम’ सञ्चालन गरिने प्रमुख महर्जनले बताए । नेपाली काङ्ग्रेसका नेता गणेशमान सिंहले प्रजातन्त्रप्राप्तिका लागि गर्नुभएको योगदानलाई दिगो बनाउन हरेक वर्ष प्रजातन्त्रप्राप्तिको आन्दोलनमा समर्पित व्यक्तित्वलाई ‘गणेशमान सिंह सेनानी सम्मान’ बाट विभुषित गर्ने महानगरको कार्यक्रम छ । 

आगामी आवमा महानगरले संयुक्त आवास निर्माण गर्दा ९० प्रतिशतसम्म छुट दिने नीति लिएको प्रमुख शाक्यले बताए । दुई वा दुईभन्दा बढी जग्गाधनीको सहमतिमा एउटै आवासीय भवन निर्माण गरेर नक्सा पास गरेमा सो छुट दिइनेछ । नेपाली मौलिकता झल्कने कलात्मक घरलाई थप प्रोत्साहन गर्न कार्यविधि बनाइ लागू गरिने छ । भित्री शहरमा रहेका पुराना भवनको जोखिम न्यूनीकरणका लागि सुविधा सम्पन्न एकीकृत मौलिक बस्ती विकास गर्ने नीति लिइनेछ । 

उनले भने, “स्थानीय घरधनीको सहमति र प्रत्यक्ष सहभागितामा नमूना आवास क्षेत्रको विकास गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।” ‘नो माक्स सिटी’ का रुपमा विकास गर्न धुवाँधुलो नियन्त्रण गर्दै हाल प्रयोगमा ल्याइएका बु्रमरलाई थप प्रभावकारी बनाउने र आवश्यकताअनुसार थप गरिने कामनपाले जनाएको छ । महानगरमा सञ्चालित बु्रमरले उठाएको धुलोलाई प्रशोधन गरेर नयाँ वस्तु उत्पादन गर्न प्रोत्साहन गरिने नीति रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै महानगरपालिका प्रमुख शाक्य चीन भ्रमणमा जाँदा महानगरसँग भगिनी सम्बन्ध रहेको छेन्दु नगरपालिकासँग भएको सहमतिअनुसार दुई ब्रमुर प्राप्त भइसकेको छ । महानगरले आफैँले थप दुई बु्रमरको खरीद प्रक्रिया अघि बढाएको जनाएको छ । 

फोहरमैलाको अन्तिम व्यवस्थापनमा प्रभावकारिता हासिल गर्न आधुनिक प्रविधिको उपयोग गरिने प्रमुख शाक्यले बताए । कुहिने फोहर पुनःप्रयोग गर्न कम्पोष्ट प्लान्ट र बायो ग्यास प्लान्ट स्थापना गरिनेछ । प्रदूषण नियन्त्रणका लागि काठमाडौँ उपत्यकाभित्र आउने सवारी साधनबाट हुने धुलो प्रदूषणलाई नियन्त्रण गर्न नाकामा सम्बन्धित तहसँग समन्वय गरेर आधुनिक ‘भेहिकल क्लिनिङ सेन्टर’ निर्माण गर्ने महानगरपालिकाको योजना छ । 

महानगरपालिकाले निश्चित स्थानमा ‘सवारी निषेधित क्षेत्र’ घोषणा गर्ने, थप स्थानमा स्मार्ट पार्किङ लागू गर्ने, ‘भर्टिकल पार्किङ र अण्डरग्राउण्ड पार्किङ’ निर्माण गर्ने योजना बनाएको छ । काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५ कार्यान्वयन गर्ने प्रमुख शाक्यले जानकारी दिए । गत वर्षबाटै शुरु भएको ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत सडक बत्तीको निर्माण गरिनेछ । 

महानगरले महानगरस्तरीय एकीकृत सीप विकास प्रतिष्ठान सञ्चालनमा ल्याउन आवश्यक अध्ययन गरिरहेको जनाएको छ । युवाहरुलाई स्वदेशी उद्यममा आकर्षित गर्न स्वदेशी वस्तुको उत्पादन, प्रवद्र्धन र बजारीकरणमा प्रोत्साहन गरिनेछ । सेवामूलक उद्योगलाई प्रश्रय र प्रोत्साहन गर्ने नीति लिइनेछ । 

महानगरपालिका सफा, सुन्दर, सुरक्षित र जीवन्त शहरका रुपमा अघि बढाइने प्रमुख शाक्यले बताए । महानगरवासीको आवश्यकता र चाहनालाई आत्मसात् गर्दै हरेक वर्ष महानगरले नयाँ अभियान सञ्चालन गरिरहेको उनले बताए । उनले भने, “आगामी वर्ष सम्पदा संरक्षण तथा संवद्र्धन र पर्यटक प्रवद्र्धनका लागि पूर्वाधार विकास वर्षका रुपमा अभियान सञ्चालन हुनेछ ।” महानगरपालिकाले आज प्रस्तुत नीति तथा कार्यक्रमका आधारमा आगामी १० गते बजेट सार्वजनिक गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप