शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युरोपियन मुलुक नेपालमा लगानी गर्न इच्छुक छः भवानी राणा

बिहीबार, ०५ असार २०७६, १९ : २९
बिहीबार, ०५ असार २०७६

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले युरोपियन राष्ट्रहरु नेपालमा जलविद्युत, पर्यटन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएकी छन् । उनले नेपाल–जर्मन उद्योग वाणिज्य संघको २५औं वार्षिक साधारण सभामा बोल्दै युरोपियन देश नेपालमा लगानीका लागि इच्छुक रहेको बताएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणका क्रममा व्यवसायीहरु नेपालमा लगानी गर्न तयार रहेको पाइएको भन्दै उनले भनिन् ‘नेपालमा बनेको लगानीको वातावरणले उनीहरुलाई आर्कषित गरेको छ ।’

यस्तै, कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जर्मनीबाट नेपालमा ९०० प्रकार सामान नेपालमा आयात हुने गरेको तर, नेपालबाट १७० प्रकारका सामान मात्र जर्मन निर्यात हुँदै आएको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले निजी क्षेत्र सक्रिय बनेर लागेमा आयात प्रतिस्थापनका साथै निर्यात बढाउन सक्ने बताए । निजी क्षेत्रको प्रवद्र्धनलाई राज्यले उच्च महत्व दिएको बताउँदै उनले जर्मनीले नेपालको आर्थिक विकासलाई विशेष महत्व दिएको बताए ।

नेपालका लागि जर्मनीका राजदुत रोलाण्ड शेफेरले नेपालमा वैदेशिक लगानीको वातावरण बन्दै गएको बताए । नेपालका लागि व्यवसायिक शिक्षा र सीप मूलक तालिम आवश्यक रहेकाले नेपालका उद्योग वाणिज्य संघहरुले त्यसतर्फ ध्यान दिनुपर्ने उनको तर्क थियो ।

कार्यक्रममा जर्मनीका लागि पूर्व नेपाली राजदुत मदनकुमार भट्टराईले प्रशासनिक ढिलासुस्ती र कर प्रणाली अन्त्य तथा ट्रेड युनियनहरु सुद्रिय वैदेशिक लगानीको वातावरण बन्दै जाने बताए । यस्तै, संघका अध्यक्ष सिनोन दोजी लामाले नेपाल र जर्मनीबीचको व्यापार प्रवद्र्धन गर्न तथा जर्मनीबाट लगानी भित्र्याउन पहल गर्ने बताए ।

साधारणसभाबाट अनुम बहादुर मल्लको नेतृत्वमा ११ जना सदस्यीहरु चयन गरेको छ । संघको सदस्यमा ज्ञानेन्द्रलाल प्रधान, सन्तोषचन्द्र कुँवर, नरेशलाल श्रेष्ठ, बविन्द्रथान ठाकुर, उत्तम भट्टराई, समिक बिक्रम शाह, भक्तबहादुर हमाल, एलेक्सलाल मोक्तान, प्रमोदराज सत्याल, ताइजेससुन्दरलाल कक्षपति र सुवाथिस थपलिया चयन भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप