शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टरपोल नोटिसको नालीबेली : धमाधम पक्राउ पर्दै विदेशमा लुकेका अपराधी

यसरी जारी हुन्छन् ७ प्रकारका नोटिस !
बिहीबार, ०५ असार २०७६, ११ : २४
बिहीबार, ०५ असार २०७६

पछिल्लो वर्ष इन्टरपोलको सहयोगमा नेपालमा आपराधिक क्रियाकलाप गरेर विदेशमा लुकेर बस्दै आएका व्यक्तिहरूलाई नेपाल प्रहरीले धमाधम पक्राउ गर्दै नेपाल ल्याइरहेको छ ।

सन् २०१८ मा मात्र नेपाल प्रहरीको इन्टरपोल शाखाले ९ जनालाई पक्राउ गरेर नेपाल ल्याएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जसमा ७ जना रेड नोटिसको आधारमा पक्राउ परेका हुन् भने २ जना डिफ्युजन नोटिसको आधारमा ।

पछिल्लो ९ वर्षमा नेपाल प्रहरीले १९ जनालाई पक्राउ गरेर नेपाल ल्याएको छ । सन् २०१८ मा सबैधन्दा धेरै पक्राउ परेका छन् ।

सन् २०११ मा जालसाजी मुद्दामा क्यानाडाबाट रोशन पाण्डेलाई पक्राउ गरेर नेपाल ल्याएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै सन् २०१२ मा जालसाजी मुद्दामा एकजना र हत्यामा एक जनालाई पक्राउ गरी नेपाल ल्याइएको छ । विनिता प्रधान थाइल्यान्डबाट र अनिल राजलाई भारतबाट पक्राउ गरेर ल्याइएको हो ।

सन् २०१५ मा २ जनालाई वन्यजन्तु अपराध र हत्यामा संलग्न पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी तथ्याङ्कमा उल्लेख छ । राजकुमार पर्जालाई मलेसियाबाट पक्राउ गरिएको हो भने सञ्जय यसमाली साउदी अरबबाट पक्राउ परेका हुन् ।

सन् २०१७ मा ४ जनालाई पक्राउ गरेर नेपाल ल्याइएको छ । सुन ओसारपोसारमा दुबईबाट गुप्तलाल भुषाल र राजनप्रसाद पन्थ पक्राउ परेका हुन् ।

यस्तै अपहरणमा दुबईबाट प्रकाश लामिछाने र हत्यामा साउदी अरबबाट जीवनबहादुर अधिकारीलाई पक्राउ गरेर नेपाल ल्याइएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै २०१८ मा पक्राउ परेर नेपाल ल्याइनेहरूमा कतारबाट २ जना, भारतबाट २ जना, कुवेतबाट २ जना, दुबईबाट २ जना र चीनबाट १ जना रहेका प्रहरी तथ्याङ्कमा उल्लेख छ । 

पक्राउ पर्नेहरूमा ५ जना हत्यामा संलग्न, वन्यजन्तु अपराधमा १ जना, बलात्कारमा २ जना र मानव बेचबिखनमा २ जना रहेका छन् ।

तुलबहादुर सिरजाली, मुखिया गुरुङ, एमडी सकुल हुसेन, लोडु डिम, मिना लामा, श्यामकुमार लामा, सिङलाल थिङ, सोमनाथ निरौला र बेनु श्रेष्ठलाई पक्राउ गरेर नेपाल ल्याइएको हो ।

नेपालमा अपराध गरेर विदेश पुगेकाहरू धमाधम पक्राउ पर्न थालेपछि इन्टरपोलसँग नेपाल प्रहरीको सहकार्य, सद्भाव र विश्वास बढिरहेको सहजै बुझ्न सकिने नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेल बताउँछन् ।

यस्ता हुन्छ रेड नोटिसमा जारी हुने अपराध

ठगी 

हत्या

जबर्जस्ती करणी 

वन्यजन्तुसम्बन्धी अपराध

अवैध सुन ओसारपसार 

सरकारी कागजात कीर्ते 

नक्कली मुद्रा अपराध

भीओआईपी 

मानव ओसारपसार 

अपहरण 

मोस्ट वान्टेडको सूचीमा रहेका गुरुङ पक्राउ

यस्तै सन् २०१९ मा इन्टरपोलको सहयोगमा नेपालमा अपराध गरेर विदेशमा लुक्दै आएका परशुराम गुरुङलाई नेपाल ल्याइयो ।

गुरुङ दुई वर्षदेखि नेपाल प्रहरीको मोस्टवान्टेड सूचीमा समेत थिए । गुरुङले दुई सयभन्दा धेरै नेपालीलाई क्यानडा पठाउने भनेर करोडौँ ठगी गरेका थिए ।

गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र इन्टरपोल शाखाको पहलमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको हो । कारण थाई प्रहरी र नेपाल प्रहरीको सम्बन्ध सुमधुर हुनु ।

कमल, पारस, किम, अधिराज थापा मगर, प्रताप जस्ता ५ फर्जी नामबाट नेपाली युवालाई विभिन्न प्रलोभनमा पार्दै उनले ठगी गर्दै आएको सीआईबीको अनुसन्धानबाट खुलेको छ । यस्तै उनले विभिन्न २४ वटा नम्बरबाट ठगी गर्ने गर्थे ।

गुरुङले धेरैलाई सामाजिक सञ्जालबाट सम्पर्क बढाउने र वैदेशिक रोजगारीमा जाने चाहने व्यक्तिको पहिचान गरी विभिन्न ‘जब अफर’हरू पठाएर फसाउने गर्थे । हाल उनी सीआईबीको हिरासतमा छन् ।

नेपाल प्रहरीसँग आवश्यक स्रोत, साधन र पैसा नहुँदा पनि अनुसन्धानको क्षेत्रमा अब्बल रहेको पूर्वडीआईजी तथा सुरक्षा विश्लेषक हेमन्त मल्ल ठकुरी बताउँछन् । 

१०४ जनामाथि रेड नोटिस जारी

नेपाल प्रहरीको इन्टरपोल शाखाले नेपालमा अपराध गरेर विदेशमा लुक्दै आएका १०४ जनालाई रेड कर्नर नोटिस जारी गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । विदशेमा लुकेर बसेको भन्दै ३२ जनामाथि रेड कर्नर नोटिस जारी गरेको हो ।

यस्तै भारतमा अपराध गरेर अन्य कुनै देशमा लुकेको भन्दै भारतले २८ जना नेपाली नागरिकमाथि रेड कर्नर नोटिस जारी गरेको नेपाल प्रहरीको तथ्याङ्कमा पाइएको छ ।

भूपेन्द्र खड्का, भक्तबहादुर लामा, विष्णुबहादुर लामा, रामबहादुर तामाङ, केशव दर्लामी मगर, सुदर्शन गौतम, फकिर रियाज, रामुकमार यादव, पवनकुमार कार्की, भीमलाल शर्मालगायत नेपालभित्रै लुकेर बसेको हुनसक्ने भन्दै रेड कर्नर नोटिस जारी गरेको छ ।

प्रायः मानव बेचविचखन, हत्या, बलात्कार र बैङ्किङ कसुरका व्यक्ति छन् ।

कुन देशले कति नेपालीको नाममा रेड नोटिस जारी गर्यो ?

नेपालबाट – ३२ जना

भारतबाट – २८ जना

अमेरिकाबाट – ५ जना

बेलारुसबाट – १ जना

यूएईबाट – १६ जना

कतारबाट – १५ जना

साउदी अरेवियाबाट – ३ जना

पोर्चुगलबाट – १ जना

पोल्यान्डबाट – १ जना

बहराइनबाट – १ जना

मलेसियाबाट – १ जना

७ प्रकारको नोटिस

नेपाल प्रहरीका अनुसार नेपालमा अपराध गरेर विदेशमा लुक्दै आउने व्यक्तिहरूमाथि ७ प्रकारको नोटिस जारी हुने गर्छ ।

रेड नोटिस, एल्लो नोटिस, डिफ्युजन नोटिस, ब्लु नोटिस, ग्रिन नोटिस, ब्ल्याक नोटिस र अरेन्ज नोटिसको आधारमा छुट्याइएको छ ।

नेपालबाट सबैभन्दा धेरै रेड कर्नर नोटिस र डिफ्युजन नोटिस जारी हुने गरेको नेपाल प्रहरीको तथ्याङ्कले पुष्टि गर्छ ।

रेड नोटिस

कुनै पनि अपराध गरेर देशबाहिर गएका र अदालतबाट दोषी ठहरिएका व्यक्तिलाई पक्राउ गर्न जारी गरिने नोटिसलाई रेड नोटिस भनिन्छ ।

एल्लो नोटिस

हराएका व्यक्तिको खोजी गर्न इन्टरपोलमार्फत जारी गरिने नोटिसलाई एल्लो नोटिस भनिन्छ ।

नेपाल प्रहरीले इन्टरपोलमार्फत १२ जनामाथि एल्लो नोटिस जारी गरेको छ । जसमा नेपालबाट ८ जना, आइरल्यान्डबाट १ जना, इक्वोडरबाट १ जना र कोस्टारिकाबाट २ जनालाई एल्लो नोटिस जारी गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

डिफ्युजन नोटिस

प्रहरी अनुसन्धानका क्रममा यदि कोही व्यक्ति देश छाडेर भाग्यो अथवा अनुसन्धानमा बोलाउँदा अटेर गर्यो र भाग्यो भने त्यस्ता व्यक्तिलाई निगरानी गर्न जारी गरिने नोटिसलाई डिफ्युजन नोटिस भनिन्छ ।

नेपाल प्रहरीको तथ्याङ्क हेर्दा ३६ जनामाथि डिफ्युजन नोटिस जारी गरिएको छ । जसमा ३० जना नेपाली नागरिक रहेका छन् भने ६ जना विदेशी नागरिक रहेका छन् ।

ब्लु नोटिस 

कुनै अपराधीबारे जानकारी दिनुपरे जारी गरिने नोटिसलाई ब्लु नोटिस भनिन्छ ।

भारतबाट २ जना र हङकङबाट १ जना गरी ३ जनामाथि ब्लु नोटिस जारी गरिएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

राजीन्द्र बहादुर र शिव कुमार मुखियाविरुद्ध भारतबाट र राम गुरुङ विरुद्ध हङकङबाट ब्लु नोटिस जारी भएको हो ।

ग्रिन नोटिस

अपराधीको कार्यशैली जानकारी दिन जारी गरिने नोटिसलाई ग्रिन नोटिस भनिन्छ ।

अमेरिकाबाट गोविन्द बहादुर बस्नेतमाथि ग्रिन नोटिस जारी गरेको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

पोर्नोग्राफी र बाल यौन शोषण मुद्धामा बस्नेतमाथि ग्रिन  नोटिस जारी भएको हो ।

ब्ल्याक नोटिस

सनाखत हुन नसकेको शवबारे जानकारी दिन ब्ल्याक नोटिस जारी गरिन्छ ।

ब्ल्याक नोटिस पनि एक जनामाथि जारी गरिएको छ ।

अरेन्ज/परपल नोटिस

कुनै देशबाट हतियार लिएर कुनै व्यक्ति अर्को देश जाँदै छ भने हतियारबारे जानकारी दिन जारी गरिने नोटिसलाई अरेन्ज नोटिस भनिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप