शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसको डेनमार्क भेला : यी चार विषयमा हुँदैछ छलफल र बहस !

बिहीबार, ०५ असार २०७६, १० : ३२
बिहीबार, ०५ असार २०७६

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट प्रवासस्थित जनसम्पर्क समितिको विश्व भेला भोलि (असार ६ गते) डेनमार्कको कोपनहेगनमा हुँदैछ ।

उक्त भेला काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुन लागेको हो । नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति तथा महासमिति सदस्य वीरेन्द्र सिंहले भेलाको संयोजन गर्दै छन् ।

रातोपाटीसँगको कुराकानीमा सभापति सिंहले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार डेनमार्कका कोपनहेगनको भेस्टरपोर्टस्थित रिचमन्ड होटलको सेमिनार हलमा कार्यक्रम ३ दिनसम्म चल्ने छ । अतिथिहरूलाई कार्यक्रम आयोजना हुने होटलमा नै बस्ने व्यवस्था गरिएको छ ।

कार्यक्रम व्यवस्थापनको सहजताका लागि जनसम्पर्क समिति, डेनमार्कका वर्तमान सभापतिको संयोजकत्वमा, पूर्वसभापति र वर्तमान महामन्त्रीहरू सम्मिलित तयारी समिति बनाइएको सभापति सिंहले जानकारी दिए । जसका लागि उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल कोपेनहेगन पुगेका छन् । महामन्त्री डा. शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता सदस्य डा. रामशरण महत, अनुशासन समिति संयोजक भीष्मराज आङ्दम्बे, नेता  धनराज गुरुङ,  गोविन्द भट्टराई, आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, महिला नेता प्रतिमा गौतम लगायत हिजो साँझ डेनमार्क प्रस्थान गरेका छन् ।

प्रशिक्षणमा ३३ देशका नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहनेछ । यता पार्टी प्रवक्त विश्वप्रकाश शर्माले पनि नेपाली राजनीतिको इतिहासमा विदेशमा रहेका नेपालीसँग मुलुकको विकास र समृद्धिका लागि गरिन लागेको पहिलो कार्यक्रम भएको दाबी गरे ।

प्रवक्ता शर्माका अनुसार  विश्वस्तरीय सो कार्यक्रममा आन्तरिक सङ्गठनात्मक विषयवस्तुहरूमाथि प्रशिक्षणका अलावा नेपालको समृद्धिमा डायस्पोराको भूमिका लगायतका विषयमा विषगत अन्तक्रिया  हुनेछ । बढ्दो तापक्रम र नेपाल प्रभाव, विश्वको बदलिँदो राजनीति, दक्षिण एसिया र नेपाल, समाजवादको युरोप अनुभवको आलोकमा नेपाल भन्ने विषयमा पनि छलफल हुनेछ ।

कार्यक्रमबारे डेनमार्कका सभापति सिंहको धारणा

कार्यक्रमको मूल उद्देश्य

नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोनजना एवम् नेपाली जनसम्पर्क समिति, डेनमार्कको संयोजन तथा व्यवस्थापनमा यही जुन २१, २२ र २३ मा आयोजना हुन गैरहेको नेपाली जनसम्पर्क समितिहरूको विश्वस्तरीय भेला एवम् प्रशिक्षण कार्यक्रमको मूल उद्देश्य विदेशमा रहेर पनि राष्ट्र, राष्ट्रियताप्रति बफादार कार्यकर्ताहरू, जसका माध्यमबाट राष्ट्रको हरेक परिवर्तनको नेतृत्व गरेको देशकै ठूलो र पुरानो पार्टी नेपाली काँग्रेस, जसले प्रजातान्त्रिक समाजवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त मान्छ ।

यसर्थ स्क्याडिनेभियन क्षेत्रमा रहेको समाजवादी राष्ट्र डेनमार्कले प्रजातान्त्रिक समाजवादको कसरी सफल प्रयोग गरेका छ ? यसै विषयमा गहन छलफल गरी  नेपाली काँग्रेस पार्टीलाई व्यावहारिक रूपमै प्रजातान्त्रिक समाजवादी पार्टीका रूपमा कसरी अगाडि लिएर जान सकिन्छ र हाम्रो देशमा आर्थिक, सामाजिक रूपमा विपन्न तथा पिछाडिएका जनताको जीवन स्तरलाई माथि उठाउन सकिन्छ ? देशलाई  समृद्धिको दिशामा कसरी अगाडि बढाउन सकिन्छ ? यो नै कार्यक्रमको मूल उद्देश्य रहेको छ ।

साथै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई अझ बलियो र सुदृढ कसरी बनाउन सकिन्छ भन्नेबारे पनि बहस हुन्छ । नेपाली काँग्रेसको महासमिति बैठकबाट पारित समावेशी विधानजस्ता महत्त्वपूर्ण विषयहरूमा पनि केन्द्रीय नेतृत्वहरूसँग जिज्ञासा राख्नेछौँ ।

छलफल विषयमा

यस कार्यक्रममा समाजवादी राष्ट्रहरूको डेमोक्रेटिक कल्चरबारे आइडिया सेयर गर्ने, नेपालमा भएको परिवर्तनलाई विदेशमा भएका नेपालीले कसरी लिएका छन् र नेपालको शान्ति, समृद्धिमा उनीहरूले कसरी योगदान गर्न सक्छन ? बदलिँदो विश्व राजनिति एवम् नेपालको वर्तमान अवस्था, नेपालमा परेको त्यसको असर, नेपाली जनसम्पर्क समितिहरूबीचको अन्तरसम्बन्ध, नेपालको विकासमा विदेशमा बस्ने नेपालीहरूले पुर्याउन सक्ने योगदान, विदेशमा बस्ने नेपालीको मताधिकारको आवाजलाई अगाडि बढाई कसरी दबाब सिर्जना गर्न सकिन्छ ? खस्किँदो अवस्थमा रहेको विदेशमा बस्ने नेपालीहरूको साझा संस्था एनआरएनलाई माथि उठाउन जनसम्पर्क समितिले कस्तो भूमिका खेल्न सक्छ ? नेपाली काँग्रेसको महासमिति बैठकबाट पारित समावेशी विधान जस्ता महत्त्वपूर्ण विषयमा छलफल गरिने छ ।

साथै समाजवादी राष्ट्रहरूको डेमोक्रेटिक कल्चरबारे आइडिया सेयर गर्ने, नेपालमा भएको परिवर्तनलाई विदेशमा भएका नेपालीले कसरी लिएका छन् ? नेपालको, समृद्धिमा विदेशबाट कसरी योगदान दिन सकिन्छ ? यी विभिन्न विषयमा फरक–फरक सेसन बनाएर छलफल हुनेछ ।

महासमिति बैठकको समीक्षा

नेपाली काँग्रेसले गत महासमिति बैठकबाट पार्टीले जुन किसिमले पार्टीको विधानका अलावा पार्टीको भावि राजनीतिक एवं आर्थिक नीतिसम्बन्धी कार्यदिशा कस्तो हुने भन्ने विषयमा व्यापक छलफल र बहस हुनुपर्ने थियो । त्यो नहुन दुखद् हो ।

२०४६ सालपछि पार्टीले गरेका राम्रा र नराम्रा गतिविधिहरूको गम्भीर समीक्षा गर्ने सुनौल अवसर थियो । यो महासमिति बैठक तर त्यसो हुन सकेन । पार्टी शीर्ष नेतृत्वहरू बीचमा कुरा मिल्दा सबै विधिवत हुने तर मतभेद हुँदा विधानका प्रत्येक खेस्रा केलाएर आफू अनुकूल व्याख्या विश्लेषण गर्ने र कार्यकर्तालाई त्यसैअनुसार पक्षविपक्षमा बाँडिन बाध्य पार्ने प्रवृति व्याप्त छ ।

 जुन प्रवृत्ति यो महासमिति बैठकमा पनि देखियो । तर पनि काँग्रेसको विधान समावेशी चरित्रको बन्नु, संविधानमै व्यवस्था गरिएको प्रावधान अनुसार नै महिलालाई ३३ प्रतिशत स्थान सुरक्षित गर्नु, आठवटै क्लस्टरबाट एक–एक सहमहामन्त्रीको व्यवस्था हुनु, सबै पदाधिकारीहरू निर्वाचित भएर आउने  व्यवस्था हुनु सकारात्मक रूपमा लिन सकिन्छ ।

एकातर्फ हाम्रो देशको अर्थतन्त्र निकै जर्जर भइसकेको स्थिति छ भने अर्कोतर्फ चरम गरिबी र बेरोजगारीले देशलाई गाँजेको छ । पछिल्लो तथ्याङ्क हेर्ने हो भने नेपालको कुल जनसङ्ख्याको २५.२ प्रतिशत जनसङ्ख्या चरम गरिबमा बाँच्न बाध्य छन्, जसले दैनिक २०० रूपैयाँभन्दा थोरै आम्दानीको भरमा गुजारा चलाउन बाध्य छन् ।

 गरिबी र बेरोजगारलाई अन्त्य कसरी गर्न सकिन्छ भनेर महासमितिको बैठकमा छलफल नहुनु साथै युवा नेत्तृत्वहरूले समृद्ध नेपाल बनाउने आधारसहितको छुट्टै वैकल्पिक नीतिगत दस्तावेज लिएर महासमिति बैठकममा प्रस्तुत हुन नसक्नु दुखद् पक्ष रूपमा लिनै पर्ने हुन्छ । वर्षौंको अथक प्रयासका बाबजुद मुलुकले प्राप्त गरेका राजनीतिक उपलब्धिलाई सरकारले सशक्त ढङ्गबाट कार्यान्वयन गर्न सकेको छैन । त्यसबारे महासमितिमा जुन किसिमले छलफल हुनुपथ्र्याे त्यो हुन सकेन । महासमितिको ध्यान विधानका विषयमा लामो समयसम्म केन्द्रित हुनाले छलफल गर्नुपर्ने अन्य महत्त्वपूर्ण कुरा छुटेका छन् । यस कारण पनि पार्टी नीति निर्माण हामी जनसम्पर्क समितिले खेल्न सक्ने भूमिकाका विषयमा छलफल गर्नेछाैं ।

विभागबारे छलफल

नेपाली काँग्रेस पार्टीमा ४२ वटा विभागहरू छन् तर यी विभागहरूले पार्टीको नीति निर्माण गर्ने काममा सहयोगी हुन सकेका छैनन् । पार्टी केन्द्रीय कार्यालयको एउटा फ्लोर खालि गरेर पार्टीले भोलिका दिनमा देशको समृद्धिको खाका कोर्न सक्ने सम्बन्धी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको मातहतमा रहने गरी एउटा छुट्टै  खडा गरी स्वदेश तथा विदेशमा अध्ययन गरेर विभिन्न विषयमा विज्ञता हासिल गरेका युवालाई समेटेर विभिन्न अध्ययन, अनुसन्धान, सेमिनार आदि गरेर देशलाई समृद्ध बनाउने खालको, आत्मनिर्भर हुने खालको, रोजगारी अवसर सिर्जना गर्ने खालको, बढ्दो बेरोजगारी अन्त्य गर्ने खालको, परनिर्भरताको अन्त्य गरी राष्ट्रलाई कसरी आत्मानिर्भर बनाउने खालको यिनै विषयलाई समेटेर रिसर्चमा आधारित भएर पार्टीको स्पष्ट नीति बनाउनु आवश्यक छ ।

यसर्थ नेपाली काँग्रेसले यो चुनौतीलाई अवसरको रूपमा लिन अब कुनै हालतमा चुक्नु हुँदैन । नीति निर्माणमा विदेशमा रहेर दक्षता प्राप्त गरेका विज्ञहरूलाई परिचाल कसरी गर्न सकिन्छ त यस विषयमा व्यापक छलफल गर्दछौँ ।

विदेशमा रहेका नेपालीको मताधिकारको कुरा

दक्षिण एसियाली राष्ट्रबाहेक विभिन्न पेसा, व्यावसाय, रोजगारी र अध्ययनका सिलसिलामा विदेशमा बस्ने नेपालीको सङ्ख्या करिब करिब ७० लाख छ । यी विदेशमा बस्ने सिपमूलक युवाहरूको क्षमतालाई नेपालका कुनै पनि राजनीतिक शक्तिले राम्रोसँग चिन्न सकेका छैनन् । सर्वोच्च अदालतले विदेशमा बस्ने नेपालीहरूको मताधिकारलाई सुनिश्चितता गरिसक्दा पनि नेपालका राजनीतिक शक्तिहरूले विदेशमा बस्ने नेपालीहरूको स्वअधिकारको सुनिश्चितता गर्नेतर्फ मौन बसेको अवस्था छ ।

बाध्यात्मक रूपमा विदेशिएका लाखौँ नेपालीहरू राजनीतिक पार्टीहरूको मौनताका विषयमा चिन्तित एवं चिडिएका अवश्य पनि छन् । पछिल्लो डेढ दशकदेखिको राष्ट्रको अर्थ तन्त्र यिनै विदेशमा बस्ने युवाहरूले पठाएको रेमिट्यान्सबाट धानिएको छ । यिनै युवाहरूले पठाएको रेमिट्यान्सले परिवारका दुई चार सदस्य पालिएका छन् । राष्ट्रियता र माटो गन्धको महत्त्व स्वदेशमा बस्नेलाई भन्दा विदेशमा बस्नेलाई हुँदो रहेछ ।

एकातिर विदेशमा तेस्रो दर्जाको नागरिक हुनु पर्दाको पीडा विदेशमा बस्ने प्रत्येक नेपाली भोगिरहेका छन् भने अर्कोतर्फ स्वदेशका राजनीतिक शक्तिले स्पष्ट नीति लिएर देशलाई समय सापेक्ष आर्थिक समृद्धिको गतिमा अगाडि बढाउन नसकेको प्रति चिन्तित छन् । पुराना राजनीतिक शक्तिले जनमतप्रतिको जिम्मेवारी बोध गरेर देशलाई परिवर्तन गर्न सक्दैनन् कि भन्ने कुरामा विदेशमा बस्ने नेपालीहरूको सशंकित हुनेको सङ्ख्या बढदो छ ।

एकातिर करिब दुई तिहाइ जनमत प्राप्त कम्युनिस्ट सरकारले केही गर्न नसक्ने अर्को तर्फ नेपाली काँग्रेस स्पष्ट नीति लिई एकजुट भएर नआउने हो र भोलिका दिनमा स्पष्ट नीति, कार्ययोजना लिएर कुनै नयाँ वैकल्पिक शक्ति अगाडि आउँदै गर्दा विदेशिएका नेपालीहरूको जनमत त्यतातिर जाने सम्भावनालाई नजरअन्दाज गर्न मिल्दैन ।

नेपालका राजनीतिक शक्तिहरूले विदेशिएका नेपालीहरूलाई सम्बन्धित देशबाटै मताधिकार गर्न पाउने अधिकारबाट त वञ्चित गर्न सक्लान् विदेशिएका नेपालीले पठाएको रेमिट्यान्सले धानिएको लाखौँको परिवारका प्रत्येक विदेशमा बस्ने सदस्यले परिवारका २, ४ सदस्यलाई अवश्य पनि प्रभावमा पार्न सक्छ ।

जसले स्वदेशको करोडौँ मतलाई असर पार्न सक्छन् । यसर्थ विदेशमा रहेका नेपालीहरूको राम्रो जनमत भएको नेपाली काँग्रेसले समयमै यो विषयमा विशेष ध्यान दिन जरुरी छ । यो विषयमा पार्टी नेतृत्व माझ कुरा उठाउँछौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप