शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तेत्तीस किलो सुन प्रकरणका न्यायाधीशलाई कारवाहीका लागि सिफारिश

बुधबार, ०४ असार २०७६, २२ : ०१
बुधबार, ०४ असार २०७६

काठमाडौं-न्यायपरिषद्ले साढे तेत्तीस किलो सुन तस्करीका अभियुक्तको सुनुवाइमा अनुचित प्रभावमा परी मुद्दाको कारवाही गर्ने न्यायाधीशलाई कारवाहीका लागि सिफारिश गर्ने निर्णय गरेको छ । 
 
परिषद्को मङ्गलबार बसेको बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश साधुराम सापकोटा, थीरबहादुर कार्की र उमेशकुमार सिंहलाई कारवाहीका लागि प्रधानन्यायाधीश समक्ष सिफारिश गरेको हो ।
 
परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्याय परिषद् ऐन २०७३ को दफा ११ को १ (च) मा भएको व्यवस्थाअनुसार सापकोटा, कार्की र सिंहलाई कारवाही गर्न बैठकले सिफारिश गरेको हो । सो दफामा अनुचित प्रभावमा परी मुद्दाको कारवाही गरेको र दफा ११ (२) मा न्यायाधीशको आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको हुँदा कारवाही किन नगर्ने भन्ने व्यवस्था छ । 
 
परिषद्ले सोही प्रकारणका उक्त अदालतका तत्कालीन मुख्य न्यायाधीश डा.कुलरत्न भुर्तेल, सारङ्गा सुवेदी र जनक पाण्डेलाई न्यायलयको मर्यादालाई श्रीवृद्धि गर्ने गरी प्रभावकारीरुपमा काम गर्न सेचत गराउने निर्णय गरेको छ । सोही प्रकरणका न्यायाधीश नागेन्द्रलाभ कर्ण र उमेशराज पौडेल अवकाश भइसक्नुभएकाले तामेलीमा राख्ने निर्णय भएकोसमेत प्रवक्ता कार्कीले जानकारी दिए । 
 
सुन तस्करी मुद्दामा छानबिनका लागि न्यायपरिषद्ले गत चैत २५ गते सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको थियो । उक्त समितिले अघिल्लो साता प्रधानन्यायाधीशसमक्ष प्रतिवेदन बुझाएको थियो । त्यसैगरी परिषद्को बैठकले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बाँनियालाई सचेत गराउनेसमेत निर्णय गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप