मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट मोटो रकम लिएर विद्यार्थी पास गराउने गिरोह पक्राउ

बुधबार, ०४ असार २०७६, १९ : ०६
बुधबार, ०४ असार २०७६

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुको आवरणमा फेल भएका विद्यार्थीहरुबाट मोटो रकम लिएर पास गराउने गिरोहलाई नियन्त्रणमा लिएको छ ।  अख्तियारले परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका प्रमुख रामु कर्मचार्यसहितको टोलीलाई पक्राउ गरेको हो । 

उनीहरुले परीक्षामा फेल भएका विद्यार्थीहरुबाट मोटो रकम लिएर पास गराउने गरेको सूचना प्राप्त भएपछि अख्तियार टोलीले उनीहरुको पिछा गरेको थियो ।  अख्तियार स्रोतका अनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुले लिने परीक्षामा फेल भएका र कम अंक ल्याएका विद्यार्थीलाई बढि अंक थपेर मोटो रकम लिने गिरोह मध्येका दुई जनालाई पक्राउ गरिएको हो । 

गोप्य सूचनाका आधारमा अधिवक्ता समेत रहेका विद्यार्थी सुरेन्द्र कोइरालाबाट स्नातकोत्तर तह अर्थशास्त्र विषयमा सबैभन्दा बढि अंक हालिदिन कर्मचार्य र कोइरालाबीच आर्थिक लेनदेनको जानकारी पाएपछि अख्तियारले उनीहरुको पिछा गरेको थियो । कर्मचार्य गत साता पक्राउ परेका थिए भने कोइराला बुधबार (आज) पक्राउ परेका छन् । 

कोइरालाले यसअघि ४ वटा विषयमा स्नातकोत्तर तह पास गरेका थिए । र, उनी अर्थशास्त्र विषयमा पाटन क्याम्पसमा स्नातकोत्तर तह अध्ययनरत थिए । उनलाई स्नाकोत्तर तहमा ‘गोल्ड मेडलिष्ट’ हुने रहर जागेको थियो । त्यही रहरलाई पूरा गर्न कोइराला विचौलियामार्फत परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखा प्रमुख कर्मचार्यसँग सम्पर्क भएको थियो । उनीहरुबीच मोटो रकमको डिल भएपछि कर्मचार्य कोइरालालाई पर्याप्त नम्बर थपेर ‘गोल्ड मेडलिष्ट’ बनाउन तयार भएका थिए । अन्तत उनीहरु दुबै अख्तियारको फन्दामा परेका हुन् । 

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाकाअनुसार कर्मचार्य र कोइराला प्रक्राउ परेको जानकारी दिए । तर उनले थप अनुसन्धान भइरहेकाले विस्तृतमा जानकारी दिन नमिल्ने बताए । यसैबीच त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित विज्ञान संकायका सहायक डिन शम्भुप्रसाद पट्टेल वुधबार पक्राउ परेका छन् । विभिन्न कलेजको नविकरण गर्ने क्रममा घुस लिँदालिँदै पट्टेल पक्राउ परेका हुन् । उनलाई अख्तियारको विशेष टोलीले ५० हजार घुस लिँदालिँदै बुधबार कीर्तिपुरस्थित टयाङलाफाटबाट पक्राउ गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप