बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘गिरिजाप्रसादलाई रोस्टमै लडाइएको हो, हामीले के गर्‍यौँ ?’

बुधबार, ०४ असार २०७६, १६ : ०७
बुधबार, ०४ असार २०७६

हिजो मैले पहिले समय मागिसकेको थिएँ । प्रधानमन्त्रीले पनि समय मागेर राम्रै गर्नुभएको थियो । मैले बोलेको कुराको जवाफ दिन पाउनु हुन्थ्यो उहाँले । संसारभरी सदन भनेको विपक्षीको हुन्छ, सरकार भने सत्ता पक्षको हुन्छ । तर यहाँ उल्टो भएको छ, प्रतिपक्षीले पहिले बोल्छ, त्यसको जवाफ दिने हो । झन् उहाँलाई सजिलो हुन्थ्यो । जवाफ दिन पाउनु हुन्थ्यो ।

कुनै विधेयक सम्बन्धित मन्त्रीले संसद्बाट फिर्ता लिने हो । संसद् चलिरहेका बेला बाहिर फिर्ता लिन मिल्छ ? कहाँको संसदीय व्यवस्था हो यो ? म ०४८ सालदेखि संसद्मा भएको मान्छे हुँ । उहाँलाई थाहा नै छैन भन्ने कुरा हुन्छ कहीँ ?

गिरिजाप्रसादलाई रोस्टमै लडाइएको हो, हामीले के गर्यौँ ?

प्रधानमन्त्री गिरिजाप्रासद कोइरालालाई बोल्न नदिएर उहाँ बोल्दाबोल्दै रोस्टमबाट लड्नुभएको हो । हामीले के गर्यौँ यहाँ ? उहाँहरूले ४८ दिनसम्म लगातार संसद् अवरोध गर्नुभएको हो ।

हामीले त्यस्तो गरेका छैनौँ, यो हो नि । जवाफ दिने काम प्रधानमन्त्रीको हो । सरकारले काम गर्ने हो, बोल्ने त विपक्षले हो । उल्टै सत्तापक्षले बोल्ने विपक्षले बोल्न नपाउने ? यस्तो डेमोक्रेसी हुन्छ ?

त्यसकारण मैले बोलिसकेपछि प्रधानमन्त्री बोलेको भए भइहाल्थ्यो नि ? यो कहीँ नभएको कार्य नेपालमा भएको छ । यो बलमिच्याइँ चल्दैन, हामी कुनै हालतमा मान्न तयार छैनौँ ।

प्रधामन्त्रीको युरोप भ्रमण असफल

जहाँसम्म प्रतिपक्षीको कुरा छ त्यसमा उहाँको बेलायतको भ्रमण सफल भएको छैन भन्ने आएको छ । मलाई पनि बोलाइएको थियो । अफिसियल भिजिटमा म पनि उहाँ भेट्न भएको हो । हाम्रो सम्झौता भएको हो । भूतपूर्व गोर्खा सैनिकको पेन्सन बढाउने कुरामा त्यसबेला सहमति भएको थियो । अहिले केही पनि भएको छैन ।

गोर्खा सेनाले गार्ड अफ अनर पाउने कुरा छ । म पनि गएको थिएँ, मलाई पनि ब्रिटिस सेनाले गार्ड अफ अनर दिएको थियो । उहाँ (प्रधानमन्त्री) लाई गोर्खा सेनाले दियो ? ह्वाइटहरूले सलाम नै गर्न मानेनन् त के गर्ने ? अनि राजीनामा दिएकी बेलायतकी प्रधानमन्त्रीले के वचन गर्थिन्, के डिल गर्थिन् ? फ्रान्सका राष्ट्रपतिलाई भेट्न खोज्दा भेट्नै दिएनछन् । नेपालमा कार्यकारी प्रधानमन्त्री हुन्छन् भने फ्रान्समा राष्ट्रपति हुन्छन् । यिनै कारणलाई हेर्दा उहाँको युरोप भ्रमण असफल भएको छ ।

सशक्त प्रतिवादको चेतावनी

अर्को कुरा, दर्ता भएका विधेयक छन् । विधेयक फिर्ता लिएको विषयलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । तर संसद्को विधेयक संसद्बाटै फिर्ता गर्नुपथ्र्यो । मैले माग गर्ने हो । माग गर्यो भन्नासाथ किन डराउनुपथ्र्यो । मेरो अरू पनि माग छन्, माग गर्यो भन्दैमा डराइहाल्नुपर्ने ? शेरबहादुरले माग्यो, मैले दिनुपर्यो भनेर भन्ने ? हाम्रो कामै बोल्ने काम हो । हामीले देऊ त भनेको छैन नि, हामी सत्ता पक्ष होइन नि ?

मैले अरू कुरा बोल्नु छ यहाँ । मिडिया काउन्सिल विधेयक छ । सूचना तथा प्रविधि विधेयक छ । मानव अधिकार आयोग विधेयक छ, राष्ट्रिय सुरक्षा परिषद् विधेयक छ । मिडिया काउन्सिल विधेयकले मिडिया त्रसाउने, धम्क्याउने काम गरेको छ । प्रजातन्त्र भएको देशमा निर्वाध बोल्ने, लेख्ने स्वतन्त्रता हुन्छ । त्यसपछि प्रजातन्त्रमा राम्रो गरे, खराब गरे उही जिम्मेवार हुन्छ । प्रजातन्त्रमा बोल्न पाइन्छ, लेख्न पाइन्छ । 

विधेयकमा कडा दण्डको व्यवस्था गरेर मान्छे लेख्न बोल्न नै डराउने भए । त्यसैले यो विधेयक प्रजातन्त्र र बहुदलीय व्यवस्थामाथिको आक्रमण हो । जुन देशमा पे्रस स्वतन्त्र छैन त्यो देशमा डेमोक्रेसी चल्दै चल्दैन । त्यसकारणले जुनदेशमा डेमोक्रेसी हुन्छ त्यहाँ प्रेस स्वतन्त्र हुन्छ । प्रेस स्वतन्त्रता अति आवश्यक छ । मेरो विरुद्धमा लेख्छ कि मेरो पक्षमा लेख्छ कि भन्ने मलाई छैन । जनताले मूल्याङ्कन गर्ने हो । पाठकले मूल्याङ्कन गर्ने हो । प्रेसले लेख्दैमा खत्तम भइहाल्छ भन्ने कुरा हुँदैन ।

 मिडिया काउन्सिल विधेयक प्रजातन्त्र विरोधी छ । सूचना तथा प्रविधि विधेयक अनलाइनका लागि यस्तै घातक छ । यो प्रजातन्त्रमाथिको पहिलो आक्रमण हो । मिडिया र प्रजातन्त्र माथिको आक्रमण हो । कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक पास गर्न दिने छैनौँ । हामी अझ सशक्त प्रतिवाद गर्ने छौँ । सूचना पाउने अधिकार सबैलाई हुन्छ नि ? सूचनाको हक रोक्ने ? सूचनाको पूर्ण हक हाम्रो संविधानमै लेखेको कुरा हो ।

सबैले सूचनाको हक पाउनुपर्छ र त्यसको जवाफ सरकारले दिनैपर्छ । यो बाध्यात्मक कुरा छ । सूचनाको हकलाई नियन्त्रण गर्न खोज्ने ? हरेक व्यक्तिलाई चाहेको सूचना पाउनुपर्ने अधिकारलाई  रोक्न पाइन्छ ? सरकारले ल्याएका अधिकांश विधेयक प्रजातन्त्रका खिलापमा छन् । चाहे मिडिया काउन्सिल होस्, सूचना तथा प्रविधि विधेयक होस् वा मानव अधिकार आयोग सम्बन्धित विधेयक होस् । विश्वमा जहाँसुकै पनि मानव अधिकार आयोग स्वतन्त्र हुन्छ । स्वतन्त्र न्यायालय हुन्छ । मानव अधिकार आयोग पनि त्यस्तै हो । त्यसलाई हस्तक्षेप गरेर जान मिल्छ ? मानव अधिकार आयोगलाई हेपेको होइन ।

मानव अधिकार सबैभन्दा शक्तिशाली हुन्छ । कसैको अंकुशले चल्दैन । मानव अधिकार सम्बन्धित विधेयक ल्याएर प्रजापन्त्रमाथि अर्को आक्रण गरिएको छ । जुन देशमा मानव अधिकार आयोगमाथि नियन्त्रर्ण गर्न खोजिन्छ, मानव अधिकारको गरिमा कमजोर गर्न खोजिन्छ । त्यहाँ प्रजातन्त्र कहाँ हुन्छ ।

 अर्को छ राष्ट्रिय सुरक्षा परिषद् विधेयक । राष्ट्रिय सुरक्षा परिषद् पहिलेदेखि नै चलेको हो । त्यो एकदमै सुन्दर छ । राष्ट्रिय सुरक्षा परिषद्को सहमतिमा पहिले राजाले सेना परिचालन गर्थे, अहिले राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

अहिले त्यो प्रधानमन्त्रीको सिफारिसमा गर्ने गरी विधेयक ल्याइयो । आफूले विश्वास गरेको मन्त्रीसँगको सल्लाहमा अगाडि गढ्ने ? प्रधान सेनापतिलाई अविश्वास गर्ने, यस्तो अविश्वासबाट देश चल्छ ? सेना परिचालनको परिस्थिति आएमा सबैले सहयोग गर्छन् । पहिले उहाँहरू विपक्षमा हुँदा पनि गरेकै हो । प्रधानमन्त्री सेना परिचालन गर्ने व्यक्ति होइन । यो सेनामाथि मात्र होइन, रक्षामन्त्रीमाथि पनि अविश्वास हो । यो गृहमन्त्रालय लगायत सबैमाथि अविश्वास गरेको हो ।

अविश्वास गरेको होइन भने किन चाहियो अहिले विधेयकमा यो व्यवस्था ? उहाँले के गर्नुपरेको छ ? एउटा विप्लवहरूलाई तह लाउन सकेको छैन । यहाँ अरू कुरा गर्छन् । मानव अधिकारलाई कमजोर बनाउने कुरा, पे्रसमाथिको नियन्त्रर्ण गरेर लेख्न बोल्न पाउने अधिकार रोक्न खोज्नु प्रजातन्त्रको मर्मविपरीत हुन्छ । मैले पहिले पनि भने, यो कुरा हामीलाई मान्य हुँदैन । यसलाई रोक्न हामी बढी सशक्त भएर आउने छौँ । यी विधेयहरू फिर्ता हुनुपर्छ ।

प्रधानमन्त्रीले हेपे

अर्को कुरा, प्रधानमन्त्री बोल्दा विपक्षी नेता आउनै पर्छ, विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री आउनै पर्छ । यहाँ उनले जहिले पनि हेप्ने काम गरेका छन् ।  यो पनि कुनै हालतमा मान्दैनौँ सभामुख मोहदय । नेपालमा पहिलेदेखि चलिआएको कुरालाई तोड्ने काम भएको छ । म फेरि पनि भन्छु, प्रजातन्त्र विरोधी राष्ट्र विरोधी विधेयकहरू,  नेपालको संविधानले दिएको अधिकारको खिलापका विधेयकहरू कुनै पनि हालतमा हामी मान्ने छैनौँ ।

(बुधबार बसेको प्रतिनिधिसभा बैठकको विषय समयमा प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवाले गरेको सम्बोधनको सार)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप