मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

होटल ह्यात अनिश्चितकालका लागि बन्द

मङ्गलबार, ०३ असार २०७६, २० : ४२
मङ्गलबार, ०३ असार २०७६

राजधानीको पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द भएको छ । मजदूर आन्दोलनका कारण विगत छ दिनदेखि होटल सेवा प्रभावित भएको थियो ।

व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरेको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेन्जलाई पठाएको छ ।
    
सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले गत जेठ ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन् । व्यवस्थापन पक्षले भने मजदूर बिनाशर्त काममा फर्किनुपर्ने अडान लिएको छ । दुवै पक्षको अडानका कारण होटल बन्द भएको हो । 

मजदूरको आन्दोलनका कारण होटल सञ्चालनको वातावरण नरहेकाले अनिश्चितकालका लागि सेवा बन्द गरिएको होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले राससलाई जानकारी दिए ।

‘प्रशासनले दुई पटक सूचना जारी गरी काममा फर्कनुस् भन्दा उनीहरु (मजदूर, कर्मचारी)ले मान्नुुभएन, पाहुनाको सुरक्षा त गर्नैप¥यो, त्यसैकारण सेवा बन्द गरिएको हो, बुकिङ रद्द गरी यहाँ भएका पाहुनालाई अन्यत्र सारिएको छ,’ उनले भने । 

मजदूर बिनाशर्त काममा फर्किएको अवस्थामा मात्रै होटल सञ्चालन गर्न सकिने व्यवस्थापनको तर्क छ । हायात इन्टरनेशनललाई सुरक्षाको सुनिश्चितता नभएसम्म सेवा सञ्चालनमा कठिन हुने निर्देशक परियारको भनाइ छ । 

उनका अनुसार छ दिनदेखि होटलको सेवा प्रभावित हुदाँ दैनिक रु ५० लाखका दरले करीब रु चार करोडको क्षति भएको छ । होटल पूर्ण क्षमतामा सञ्चालनमा आउन करीब छ महिना लाग्ने बताइएको छ । 

मजदूरले खाइपाई आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरेकाले बाध्य भएर सङ्घर्षमा उत्रनुपरेको होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले बताए । 
    
होटलको ‘स्टे वार्ड’ का १५ कर्मचारी दुई दिन अनुपस्थित भएपछि गत जेठ २९ गते स्पष्टिकरण सोधिएको र सोही बहानामा मजदूरले आन्दोलन चर्काएको व्यवस्थापनको जिकिर छ । 

मजदूरले भने व्यवस्थापनले श्रम ऐनको पालना नगरी सुविधाको सट्टा जबरजस्ती पेल्न खोजेकाले समस्या आएको बताएका छन् । मजदूर र व्यवस्थापनबीचको टक्करले होटल बन्द हुने अवस्था सिर्जना हुनु मुलुकको पर्यटन क्षेत्रका लागि दुःखद् भएको व्यवसायीहरु बताउँछन् । 

नेपाल भ्रमण वर्ष सन् २०२० अभियानको सन्दर्भमा पाँचतारे होटल बन्द हुनुले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश गएको छ । होटल व्यवसायीको छाता सङ्गठन (हान)ले सञ्चालनमा रहेको होटल बन्द हुनु दुःखद् भएको र सञ्चालनका लागि पहल गरिरहेको जनाएको छ । 

पछिल्लो समयमा होटल व्यवस्थापनले निरन्तर घाटा देखाएर सरकारी स्वामित्वको तारा गाउँ विकास समितिलाई कम सेयर दिएपछि होटल विवादित बन्दै आएको थियो । 

होटललाई सेयर संरचना परिवर्तन गरेर सरकारी सेयर ३९ प्रतिशतबाट नौ प्रतिशतमा झारेको र ३०४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ ।
    
हायातको व्यवस्थापन भारतीय लगानीकर्ता राधेश्याम सर्राफ नेतृत्वले गर्दै आएको थियो । दुई सय ८० शय्याको होटलमा करीब ४०० मजदूर कार्यरत छन् । 

हायातमा रहेका पाहुनालाई दरवारमार्ग स्थित होटल याक एण्ड यतीमा सारिएको बताइएको छ । हानका अनुसार अहिले मुलुकभर १० वटा पाँचतारे होटल सञ्चालनमा छन् । उपत्यकामा मात्रै हायातसहित सात वटा पाँचतारे होटल सञ्चालनमा थिए । 

थप सात वटा पाँचतारे होटल छिट्टै सञ्चलनमा ल्याउने गरी निर्माण भइरहेको छ । काठमाडौँ बाहिर पोखरामा दुई तथा नेपालगञ्ज र भैरहवामा एक÷एक वटा पाँचतारे होटल सञ्चालनमा छन् । 

अन्तर्राष्ट्रिय चेन होटल सेराटन, हिल्टनलगायत निर्माणका क्रममा छन् । केही महिनाअघि मेरियट होटल पनि सञ्चालनमा आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप