शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘को पहिला बोल्ने’ लाई किन बनाइयो प्रतिष्ठा ?

काँग्रेसको संसद बैठक अवरोध ठीक कि बेठीक ?
मङ्गलबार, ०३ असार २०७६, १५ : २६
मङ्गलबार, ०३ असार २०७६

मंगलबार प्रतिनिधिसभाको बैठक काँग्रेस सांसदहरुले अवरोध गरेसँगै समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले ट्वीट गर्दैै असन्तुष्टि पोखे । उनले–‘ संसदमा को पहिले बोल्ने भन्ने मुद्दामा गलफल्ती गरेर अमूल्य समय र श्रोत खेर फाल्नु शोभनीय भएन ! गुठी, लोकसेवा विज्ञापन, प्रेस काउन्सिल, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, बजेट विनियोजन लगायत अनगिन्ति जनसरोकारका विषयमा छलफल गरेर समाधान खोज्ने थलो संसद गैरजिम्मेवार र निष्प्रभावी नबनोस् ।’

यस्तै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि ट्वीट गर्दै प्रश्न गरे –‘संसदमा प्रधानमन्त्रीले बोल्न नपाउने ? उठेका वा उठाइएका मुद्दाहरुको बारेमा संसदलाई स्पष्ट पार्न नपाउने ? नेकाले संसदमा आज जे ग¥यो त्यो हाम्रो संसदीय लोकतन्त्रलाई क्षति पु¥याउने अमर्यादित, अशोभनीय र गैरजिम्मेवार व्यवहार हैन ?’

बैठक सुरु हुनु अघि नेपाली काँग्रेसले बैठकको सुरुमा नै प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्न समय माग गरेको थियो । सभामुख महराले सत्ता पक्ष र प्रतिपक्ष दलका प्रमुख सचेतकसँग छलफल गरी निकास खोजेका थिए तर दुबै पक्षबीच कुरा नमिलेपछि काँग्रेसले संसद बैठक सुरु भएसँगै ८ मिनेटसम्म रोष्टम घेराउ ग¥यो । विवादित बनेको गुठी विधेयक, युरोप भ्रमण लगायतका विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने विषय तय भएको थियो ।

बैठक स्थगित भएपछि संसद भवनबाट बाहिरिँदै गर्दा प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता शेर बहादुर देउवाले संसदमा सधै विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय अभ्यास अनुसार प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने भएको प्रतिक्रिया दिएका छन् । उनले जहाँ पनि प्रधानमन्त्रीले पहिला बोल्ने नभएको बताउँदै प्रतिपक्षी दलको प्रश्नको जवाफ दिने उल्लेख गरेका छन् ।

संविधानसभाका पूर्वअध्यक्ष एवम् नेकपाका सांसद सुवास नेम्वाङले संसद सचिवालयले तय गरेको कार्यसुची अनुसार कुनै सार्वजनिक महत्त्वको बिषयमा प्रधानमन्त्रीले बोल्न खोज्दा काँग्रेसले संसद अवरोध गर्नु उचित नभएको बताए ।

उनले भने–‘आजको कार्यसूचीको १ नम्बर बुँदामा सार्वजनिक महत्त्वको विषयमा मतव्य दिने उल्लेख थियो । प्रधानमन्त्रीले समय माग्नुभयो, सभामुखले समय दिनुभयो । अन्तर्राष्ट्रिय चलन भनेर कुनै एक ठाँउमा देखाएर हुन्छ ? प्रधानमन्त्री संसदको बहुमत प्राप्त पार्टीको नेता पनि हो, उहाँले संसदमा पहिला बोल्न पाउनुहुन्छ, यही चलन हो ।’

उनले काँग्रेसले गरेको कामप्रति कुनै टिप्पणी नभएपनि सभामुखले नै समय दिएर प्रधानमन्त्रीलाई बोल्न दिएपछि यो धेरै ठूलो विवादको विषय नभएको बताए । प्रोटोकल अनुसार पनि प्रधानमन्त्री एक नम्बरमा रहेको भन्दै उनले भने– ‘दुई तिहाई प्राप्त प्रधानमन्त्रीलाई रोष्टममा पुग्दा बोल्न दिइएन, यसबारेमा सत्तापक्ष, प्रतिपक्ष, पत्रकार सबैले निधार खुम्चाएर सोच्नुपर्ने बेला आएको छ ।’

यता पूर्व सभामुखसमेत रहेका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सदन अवरुद्ध हुनुमा सभामुखको कमजोरी रहेको जिकिर गरे । रातोपाटीसँग कुरा गर्दै नेता पौडेलले सदन भनेकै प्रतिपक्षको लागि भएको बताए । उनले भने–‘सरकार दुई तिहाइको होस् वा तीन तिहाइको, यो कुरा हैन । संसदमा प्रतिपक्षले समसामयीक इस्यू प्रस्तुत गर्न पाउनुपर्छ । प्रधानमन्त्रीले त्यसको जवाफ दिए हुन्थ्यो । अहिले गुठी बिधेयक, मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार बिधेयकबारे नागरिकको व्यापक असन्तुष्टि छ । त्यसलाई प्रतिपक्षले ध्यानाकर्षण गर्न पाउनुपर्छ ।’

अहिले नागरिक अधिकार खोसिन लागेको बेलामा प्रतिपक्षले बोल्न पाउनुपर्ने बताउँदै अगाडि नै जानकारी गराउदा पनि सभामुखले त्यसको ब्यवस्थापन गर्न नसक्नु कमजोरी रहेको उल्लेख गरे ।

प्रधानमन्त्रीले सुरुमै सम्बोधन गर्दा विवादित विधेयकहरुको बारेमा जवाफ आउने र प्रमुख प्रतिपक्षको भूमिका कमजोर हुने भएपछि काँग्रेसले बैठकको सुरुमै बोल्ने समय माग गरेको थियो । प्रधानमन्त्रीले संसदमा बोल्न नपाएपछि आजै साँझ ५ बजे प्रधानमन्त्री कार्यालयबाट विशेष संबोधन गर्ने तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप