बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुविधानगरमा सिसी टिभी जडान

सोमबार, ०२ असार २०७६, १९ : ४३
सोमबार, ०२ असार २०७६

काठमाडौं– काठमाडौँ उपत्यकामा हुने अपराध नियन्त्रणका लागि ७४ वटा सिसी टीभी जडान गरिएको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले सामुदायिक विकास समिति र एकीकृत उपभोक्ता सङ्घ एवं सुरक्षित नागरिक समाजको सहकार्यमा काठमाडौँ महानगरपालिका–३२ सुविधानगरमा उक्त सिसी टीभी जडान गरिएको हो । 

प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जडान गरिएको उक्त सिसी टिभीको आज महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उद्घाटन तथा प्रहरीलाई हस्तान्तरण गर्दै समाजसँगको सहकार्यमा प्रहरीले अपराधको सफल अनुसन्धान गर्न सक्ने बताए । उनले अपराध र अपराधी समाजको वरिपरि रहने भएकाले प्रहरीले अपराधको अनुसन्धान गर्ने क्रममा समुदायको सहयोग लिनु आवश्यक रहेको बताए । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले नेपाल प्रहरीले अङ्गीकार गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सफल बनाउन समुदायको पूर्ण विश्वास र सहयोग प्राप्त हुने अपेक्षा राखे । सिसी टिभी क्यामेराले प्रहरीको काम कारवाहीमा थप चुस्त हुने उनको भनाइ थियो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले राज्यको उपस्थिति प्रत्येक कुना र कन्दरामा हुन नसक्ने भन्दै सिसी टीभीले अपराध नियन्त्रणमा सहयोग पुग्ने बताए । 

सिसी टिभीमार्फत २०७५ सालमा १६ हजारभन्दा बढी ट्राफिक नियम उल्लङ्घनमा संलग्नलाई कारवाही गरिएको, ९३ मुद्दामा ‘हिट एण्ड रन’मा नम्बर नखुलेका सवारी साधनहरु पछि पहिचान भएका तथा ४६ लुटपाटको घटनामा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको उनले जानकारी दिए । 

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले कूल रु ३७ लाख ३५ हजारको लागतमा हाल ५७ वटा सिसी टिभी जडान गरिएको र १७ वटा जडान गर्ने क्रममा रहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप