शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी रक्षा मन्त्रालयले मात्रै उत्सर्जन गर्छ पोर्चुगलले भन्दा बढी हरितगृह ग्यास

सोमबार, ०२ असार २०७६, १५ : ०७
सोमबार, ०२ असार २०७६

एजेन्सी– अमेरिकाको रक्षा अभियानमा स्वीडेन र पोर्चुगलजस्ता औद्योगिक राष्ट्रभन्दा बढी हरित गृह ग्यास उत्सर्जन हुने कुरा बुधबार प्रकाशित एक अनुसन्धानमा लेखिएको छ ।  अनुसन्धानका अनुसार अमेरिकी सेनालाई निगरानी गर्ने पेन्टागनले सन् २०१७ मा ५.९ करोड मेट्रिक टन कार्वन डाइअक्साइड र अन्य हरितगृह ग्यास उत्सर्जन गर्यो । 

ब्राउन विश्वविद्यालयको अनुसन्धान यस्तो बृहत तथ्याङ्क संकलन गर्ने पहिलो अनुसन्धान हो ।  ‘पेन्टागनले उत्सर्जन गर्ने हरितगृह ग्यास कुनै एक वर्षमा धेरै साना राष्ट्रको हरित गृह ग्यास उत्सर्जनभन्दा बढी हो,’ अध्ययनले भनेको छ । 

बोस्टन युनिभर्सिटीमा राजनीतिकशास्त्री र अनुसन्धानमा संलग्न नेटा क्रफोर्डका अनुसार अमेरिकी रक्षा मन्त्रालय अलग देश हुन्थ्यो भने उ अत्यधिक ग्यास उत्सर्जन देशको ५५ औं स्थानमा हुन्थ्यो ।  ‘अहिले भइरहेको धेरै हिस्सा उत्सर्जन घटाउन सकिने अवस्था छ,’ क्रफोर्डले भने । 

अनुसन्धान अनुसार चलायमान फौज र हतियारले पेन्टागनको उर्जा उपभोगको सबैभन्दा धेरै अथवा ७० प्रतिशत हिस्सा ओगट्थ्यो । तिनले प्रयोग गर्ने ठूलो संख्याको वाहनले गर्दा त्यो उत्सर्जन हुने गर्छ ।  पेन्टागनले जनवरीमा कँग्रेसलाई बुझाएको एउटा रिपोर्टमा जलवायु परिवर्तनको मुद्दालाई ‘राष्ट्रि सुरक्षा मुद्दा’ भनेको थियो । सो रिपोर्टमा समस्यासँग जुध्न तयारी गर्नको लागि अग्रसरता अघि सारेको छ । 

नोभेम्बरमा संयुक्त राष्ट्रको विश्व जलवायु संगठनले जारी गरेको एउटा रिपोर्टमा विश्वव्यापी तापक्रम यो शताब्दीसम्म ३ डिग्री सेल्सियसदेखि ५ डिग्री सेल्सियसबीचमा पुग्नेतर्फ अग्रसर रहेको देखाएको छ ।  पेरिस सम्झौताले यो शताब्दीको अन्त्यसम्म विश्वव्यापी तापक्रमलाई २ डिग्री सेल्सियसमा सिमित गर्ने लक्ष्य लिएको छ । 

क्रफोर्डले बताएअनुसार पेन्टागनले सन् २००९ यता उलेख्य मात्रामा इन्धन उपभोग घटाएको छ । त्यसका लागि उसले वाहनलाई थप प्रभावकारी बनाउनेदेखि आधारमा सफा उर्जाको स्रोत उपभोग गर्नेतर्फ अघि बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप