शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

९ महिनामा १८ हजार बढीले लिए निःशुल्क स्वास्थ्य सेवा, १ अर्ब १ करोड खर्च

सोमबार, ०२ असार २०७६, १२ : ४२
सोमबार, ०२ असार २०७६

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न ८ रोग लागेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएका देशभरका सम्बन्धित अस्पताललाई रकम भुक्तानी गर्ने भएको छ ।

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको अध्यक्षतामा बसेको बैठकले साउनदेखि चैत्रसम्म  जटिल ८ रोगका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरे बापत १ अर्ब १ करोड ५ लाख ९७ हजार ९ सय २ रुपैयाँ खर्च भएको र सो रकम भुक्तानी गर्ने तयारीमा मन्त्रालय रहेको जनाएको छ ।

साउनदेखि चैत्रसम्ममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको विपन्न नागरिक उपचार कोषबाट १८ हजार १ सय ९९ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको देखिएको छ ।

यस्तै विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका २०७५ को दफा ४ को उपदफा ६ अनुसार मृगौला प्रत्यारोण पूर्व अंगदाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्क रु. ५० हजार  र मृगौला प्रत्यारोपण पश्चात औषधी सेवन गर्ने व्यक्तिलाई रु. १ लाख उपलब्ध गराउने निणर्य पनि भएको छ ।

नेपालभित्र मृगौला प्रत्यारोपण गरेका १ सय २३ जना बिरामीहरुले प्रत्यारोपणपछि औषधी सेवनको लागि सो रकम पाउँने छन् । जसको लागि १ करोड ८३ लाख अठहत्तर हजार १ सय ३० रुपैयाँ छुट्याइएको छ ।

१८ हजार भन्दा धेरैले लिए स्वास्थ्य सेवा

साउन र भादौमा निःशुल्क स्वास्थ्य सेवा ५४ जना नागरिकले लिएका छन् । सो नागरिकको उपचार खर्च ८४ लाख ३७ हजार ५ सय ४६ रुपैयाँ ६ वटा अस्पताललाई भुक्तानी गर्न बाकी रहेको छ ।

यस्तै असोज र कात्तिक महिनामा देशभर विपन्न नागरिकको उपचारको लागि सरकारले तोकेको २२ वटा अस्पतालबाट २ हजार ३ सय ४२ जनाले स्वास्थ्य सेवा लिएका थिए । विपन्न नागरिक उपचार कोषबाट ४ करोड ९३ लाख ३६ हजार ७ सय ५९ रुपैयाँ सेवा प्रदान गरेको अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भुक्तानी गर्न बाँकी रहेको छ ।

मंसिर र पौष दुई महिनामा ६८ वटा अस्पतालबाट ७ हजार ८ सय ९५ ले स्वास्थ्य सेवा लिएका थिए भने ३६ करोड ३३ लाख ८० हजार ४ सय ५१ रुपैयाँ भुक्तानी गर्नु पर्नेछ ।

माघ र फागुनमा पनि ७ हजार ८ सय ९५ जनाले निशुल्क स्वास्थ्य सेवा लिएका छन् । ६९ वटा अस्पतालबाट स्वास्थ्य सेवा लिएको नागरिकको उपचारको ३७ करोड ७७ लाख ११ हजार पाँच सय ८१ रुपैयाँ भुक्तानी गर्ने गर्नुपर्नेछ ।

चैत्र महिनामा ६६ अस्पतालबाट ८ हजार ३ सय ७६ जनाले स्वास्थ्य सेवा लिएका छन् । यि अस्पताललाई सरकारले १९ करोड २० लाख ५३ हजार ३ सय ३५ भुक्तानी गर्नु पर्ने छ ।

साथै विदेशमा गएर मृगौला प्रत्यारोपण गर्ने १३ जनालाई एक लाखको दरले १३ लाख दिने तयारीमा सरकार छ । विपन्न नागरिकलाई सेवा दिने सबै अस्पताललाई भुक्तानी दिने अन्तिम चरणमा मन्त्रालय रहेको जनाएको छ । २०७५÷०७६ मा बजेट कम हुँदा विपन्न नागरिकले पाउँनु पर्ने सेवा सुविधानमा समस्या देखिएको कुरालाई मन्त्रालयले स्वीकारेको थियो ।

सरकारले स्पाइनल इन्जुरी, पार्किन्सन्स, मुटु, हेड इन्जुरी, अल्जाइमर्स, मृगौला, क्यान्सर, सिकलसेल एनिमिया रोगको निःशुल्क उपचार गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप