केन्द्रीय संस्करण
साहित्य

कथा :  कुवेतकी मारियम

person explore access_timeजेठ ३२, २०७६ chat_bubble_outline0

‘मारियम, ह्वेन इन्ता’ (मारियम, कहाँ छस् ?) खिरिलो स्वरमा बुढो इब्राहिमले बोलायो । बुढो पनि कम बुढो हो र ? भरखर चारबीसा काटेको मान्छे । उनी मारियमको मालिक हुन् । बजारमा उनको मोबाइल दोकान छ । उसँग पैसाको कुनै कमी थिएन । तर बुढो भए पनि काम नगरी बस्नै नसक्ने । 

बुढोले मारियम भने पनि कता कता आवाज चाहिँ ‘महारानी’ भने जस्तो सुन्थेँ । महारानी त उहिले उहिले रानीहरूलाई भन्थे । अँ, अहिले पनि कसैकसैले महारानी भनेर बोलाएको सुनेको छु । तर म अभागी कसको महारानी ? मारियमलाई महारानी बन्ने सपनाको अङ्कुर टुसाए जस्तो छ ।

दिनको २ बजेको थियो । बिहान १० बजे खब्बुस (अरबी रोटी) खाएर दोकान गएको मालिक हरेक दिन बेलुकी ११ बजे घर फर्कन्थे । तर आज उनी दिउँसै घर फर्के । बिरामी पो भए कि, मारियमले यस्तै लख काटिन् ।

घरमा मालिक र मालिक्नी मात्रै बस्दथे । छोरीहरू हुर्केर बिहे गरी ज्वाइँको घर गइसके । छोराहरू बिहे गरेर छुट्टिसके । सबै आफ्नो आफ्नै गरी खान्छन्, अलग्गै बस्छन् । संसारको सबै कुनामा सबै जीवहरूमा चलेको रीतितिथि यही हो । हुर्केपछि बचेराले अर्कै गुँड हाल्छन् । माउ छोड्छन् । मानव सभ्याताको अर्काे उचाइ पनि होला ।

अरबियन सीको लास्टमा रहेको कुनैबेला ईराकले थिचेको एउटा सानो मुलुक कुबेत । आर्थिक समृद्धिका कारण हरेक रात पनि उज्यालोको झकिझकाउले भरिपूर्ण कुवेतकै अर्काे सहर ‘सल्मिया सिटी’ । बहराइन स्ट्रिट, अल अमल इन्डियन स्कुलको छेउ, प्लट नम्बर ‘एम २०१’ मा रहेको एक तले घर । कुवेतमा घरलाई बेथ (भिल्ला) भन्दा हुन् । भिल्लाको गेटबाट भित्र छिर्ने बित्तिकै दायाँतिर कम्पाउन्डको कुनामा दुईकोठे हाउस मेड घर । एउटा कोठा भान्साघर र अर्काे मारियमको कोठा ।

कम्पाउन्डको सिधा पर ठूलो ५ कोठे एकतले घर । इब्राहिमका २ भाइ छोरा र ३ बहिनी छोरी यही घरमा हुर्केका हुन् । अहिले यो घर चकमन्न छ । छोराछोरी आफ्नो आफ्नो बाटो लागे । समयको चक्र न पर्याे, हिजो उनीहरूले गुँड छोडेका थिए आज उनीहरूका सन्तानले त्यही क्रम दोहोयार्ए ।  त्यसैले घरमा बुढाबुढी मात्र बस्छन् ।

यिनै बुढाबुढीको स्याहारसुसार गर्न मारियम नेपालबाट कुवेत पुगेकी हुन् ।

मारियम त यिनै बुढाले राखिदिएको नाम हो । खास नाम त माया हो । अरबी मालिकले नै उनको नाम परिवर्तन गरिदिए । भलै नाममा के राखेको छ र ? त्यो त केवल एक लेबल न हो । जहाँ जसलाई सजिलो लाग्छ सोही अनुसार न्वारान गरिदिन्छन् ।


मारियमको अर्थ र परिभाषा मायालाई थाहै थिएन । त्यसो त मायाको अर्थ पनि त उनले घोत्लिएर कहिल्यै सोचेकी थिइन  । गाउँका ठिटीहरू लर्काे लागेर अरब जान थालिसकेका थिए । पैसा कमाएर पठाउन थालिसकेका थिए । त्यसैले मायाले पनि विदेश जाने रङ्गीन सपनाहरू सजाउन थालिसकेकी थिई ।


मायालाई नामसँग के मतलब, मतलब थियो त दामसँग । तलबसँग । पैसासँग ।

मारियमको अर्थ र परिभाषा मायालाई थाहै थिएन । त्यसो त मायाको अर्थ पनि त उनले घोत्लिएर कहिल्यै सोचेकी थिइन  । गाउँका ठिटीहरू लर्काे लागेर अरब जान थालिसकेका थिए । पैसा कमाएर पठाउन थालिसकेका थिए । त्यसैले मायाले पनि विदेश जाने रङ्गीन सपनाहरू सजाउन थालिसकेकी थिई ।

 ..................

म, माया अर्थात् मारियम । २०५६ साल असोजको महिना हुनुपर्छ । गाउँकै बिर्खे दाइले जिल्ला सदरमुकाम धुन्चे लगे । कसैले उमेर सोधेमा १९ वर्ष पुगेँ भन्नु भनेर सिकाए । आफ्नो सपनाले अण्डा कोरल्ने कल्पनामा मोहित हुँदै मेरा पाइलाहरू पनि पाउजु बजेको धुन जस्तै रोमाञ्चित नभएको कहाँ हो र ?

रजस्वला सुरु भएको ५ महिना जति भएको थियो । उमेर पुग नपुग १४ वर्ष मात्रै थियो । धुन्चेको एउटा कम्पाउन्डवाला घरमा लगे । सिड्योको अफिस भन्थे । केको अफिस हो थाहा थिएन । एकजनाले सोधे, कति वर्षकी भयौ ? १९ वर्ष, जवाफ फर्काएँ । मोबाइलको सिरी जस्तै प्रश्न, सिरी जस्तै उत्तर । प्रश्न र उत्तर नै बनिबनाउ थिए । यसरी म १४ बाट नेटो काटेर १९ वर्षकी भएँ । पासपोर्ट बनाइदिए । पासपोर्टमा उमेर १९ लेखिदिए ।

पासपोर्ट बनाएको १५ दिनपछि बस चढाएर काठमाडौँ लगे । आहा, कति मनमोहक थियो त्यो बसको यात्रा । पैदल हिँडेर गरेका अनगिन्ती उकाली ओरालीभन्दा सहज र सरल थियो । झ्यालबाट परपर डुब्न लागेका घाम अनि सुलुलु पछाडि हराउने हरिया रूखका पोथ्रापोथ्रीहरू देख्दा निरन्तर यसैमा यात्रा गरिरहन पाए हुन्थ्यो भन्ने कुरा मनमा नखेलेको कहाँ हो र ?

भोलिपल्ट हावाइजहाज चढाए । त्यत्रो अजङ्गको हवाइजहाज देख्दा मुटुमा जोडले हानिरहेको थियो । हतासिएर पिसाब चुहिएला जस्तो, हातखुट्टा लगलग काम्दै झुत्ति खेलिरहेका थिए । बिर्खे दाइले हातमा दुई चार थान कागज थमाए । हावाइजहाज चढ्नेखेर दाइले भनेका थिए, प्लेन सारजाह भन्ने ठाउँमा रोक्छ, ओर्लिनु । कागजमा के छ मैले हेर्दा पनि हेरिन । हेर्नु पनि थिएन । हेरे पनि पढ्न कहाँ सक्नु र कालो अक्षर .... ।

नेपाल एयरपोर्टमा उसै गरी सिरी बोल्यो, कहाँ जाने बहिनी ? मेरो मुखको सिरीले उत्तर दियो, दुबई । उसले चुपचाप पासपोर्ट ढ्याप ढ्याप गर्यो । त्यो ढ्यापले जाने सङ्केत गरेको थियो । म अघि बढेँ । 

हवाइजहाज उड्ने बेलामा दगुर्दा खेरी मुटु मुखबाट झर्ला जस्तो भएको थियो । छेउमा बसेको मान्छेले भन्यो, सारजाह आइपुग्न लाग्यो । हवाइजहाज रोकियो । जीवनमा पहिलो पटक जहाज चढ्न पाएको थिएँ । सपना साकार भएको दिन थियो । रोमाञ्चित र त्रसित भएकी थिएँ । सारजाह एयरपोर्टमा केही नेपाली दाजुभाइको सहायताले बाहिर निस्केँ ।

एयरपोर्टमा लिन मलाई एउटी नेपाली महिला आइन् । विदेशी भूमिमा आफ्नै गाउँकी दिदी जस्ती नेपाली नै भेट्दा हतासिएको मनमा थोरै भए पनि सान्त्वना मिलेको थियो । कतै अलपत्र नपर्ने भएँ भनेर खुशी भएँ । कता लगिन् ठ्याक्कै थाहा छैन । म जस्ता अरू धेरै दिदीबहिनीहरू पनि त्यही अजङ्गको जाहाजमा आएका रहेछन् ।

अजमान रे, एउटा पुरानो घर । त्यहाँ त म जस्ता नेपालका दिदीबहिनीहरू एउटै कोठामा अटाएका रहेछन् । एक हप्ता बस्दा आफ्नै गाउँमा भए जस्तो आभाष भएको थियो ।

आठौँ दिनमा सेतो कपडाले शरीर ढाकेको एक बुढो मान्छे आएर घुरेर हेर्याे । चोर औँलाले मलाई देखायो । सबैले मलाई भाग्यमानी भने । किनकि कतिपय दिदीहरू त महिनौँदेखि त्यहीँ बसिरहेका थिए । काम गरेर पैसा थुपार्ने कल्पनामा आएकाहरू कामविहीन भएर बस्दा कसलाई पो मज्जा लाग्ला र ? उनीहरूलाई कसैले चोर औँलाले छानेको थिएन ।

म भाग्यमानी ठहरिएँ । बेचिनुमा पनि भाग्य हुँदो रहेछ । त्यसैले उनीहरू भन्दा पनि पहिले म नै बेचिएँ । मन कस्तो चसक्क भयो । मान्छेलाई यसरी छानेर किनेको पहिलो पटक देखेकी थिएँ । गाउँको हटियामा खसी बाख्रा बेचे जस्तो, खसी बाख्रा किने जस्तो ।

तिनै बुढो मान्छेले अर्काे जहाज चढाएर मलाई यता ल्याए । बुढोले जता ‘ताल’ (आउ) भन्थ्यो म उतै गएँ । कता ? कुवेत ?

पहिलो दिन थियो । अरबी मालुम ? बुढोले सोध्यो । मैले थाहा छैन भन्ने इसारा गरेँ । हिन्दी मालुम ? फेरि सोध्यो । मैले फेरि थाहा छैन भन्ने इसारा गरें । इङ्लिस मालुम ? उसैगरी आउँदैन भनेर मुन्टो हल्लाएँ । खै के भन्यो कुन्नी, बुढो बरबरायो । ठूलो स्वरले करायो ।

म निकै आत्तिएकी थिएँ । बुढोले धेरै कुरा भन्यो । मैले केही पनि बुझिन । बुझ्ने कुरा पनि त भएन ।

निकै भोकाएको थिएँ । २ दिनदेखि पेटमा केही परेको थिएन । कालो कपडा ओढेकी एउटी बूढी मान्छे हातमा कचौरो र एउटा कालो लुगा बोकेर आइन् । लुगा लगाऊ भनिन् । मैले लगाएँ । अर्काे कपडाले टाउको छोप भनिन् । मैले कुरो नबुझे पछि आफैँ छोपिदिइन् । कचौरोमा अलिकती मासु र एउटा गहुँको बाक्लो रोटी थियो । खाऊ भनिन् । खानेकुरा निकै मीठो थियो । बुढी मान्छेले मैले खाएको भित्रबाट चियाउँदै थिइन् । मिठो मानेर खाएको देखेर होला बुढीे मुस्कुराइन् । उनको मुस्कुराहटले मेरो मनलाई अलिकति भए पनि सान्त्वना दियो । भाषा नबुझे पनि भावना, भोक र प्यासहरू कति सजिलै बुझ्न सकिन्छ हगि !                 

बुढोले केही महिना बिराएर एउटा कागजमा मेरो औँठा छाप लगाउँथ्यो । कागजमा के लेखिएको छ मैले कहिल्यै पढ्न सकिनँ । सोध्ने हिम्मत पनि गरिनँ । त्यो कागज मैले तलब बुझेको प्रमाण रहेछ । धेरै पछि कुरा बुझेँ ।


दिउँसो अचानक बुढो घर आयो । त्यही दिन थियो म पहिलो पटक लुटिएको । त्यो लुटाइले मेरा म हुनुको अस्तित्वमा नै नराम्ररी प्रहार गर्यो । भर्खर फुल्न लागेको फूललाई कसरी निर्चाेन सक्छन् पुरुषहरू ? उसले पनि आफ्नो पुरुषार्थ प्रदर्शन गर्यो । उमेरका हिसाबले मैले उसलाई गरेको बाबु समानको व्यवहारलाई लत्याएर अखिरमा ऊ पनि मेरो नजरमा एक हिंस्रक पशु नै ठहरियो ।


गाउँमा केही नदेखेको मैले कति छिट्टै वासिङ मिसिनमा लुगा धुन सिकेँ । खाना बनाउन सिकेँ । भाषा पनि विस्तारै बिस्तारै बुझ्न र बोल्न थालेँ । उनीहरू जे खान्छन् त्यही खान थालेँ । उनीहरूको भाषा र संकृतिमा म विस्तारै घुलित भएँ । समय र परिस्थितिले मानिसलाई कति सजिलै सिकाउँदो रहेछ । हिजो सिलौटो र लोहोरोले मसला पिस्ने म आज मिसिनमा मसला पिस्न सिपालु बनेँ । पढेर भन्दा परेर सिकिन्छ भनेको यही रहेछ ।   

मालिक्नी उमेरले तीन बिसा कि होलिन् । नाम थाहा छैन । सोध्दा पनि सोध्दिनँ । बिरामी भइरहन्छिन् । अनुहार गलेर होला ७० वर्षभन्दा कम देखिन्नन् ।

एक दिन मालिक्नी माइत जाने भन्दै मलाई नै घर र घरका अरनखटन सुम्पिएर बिहानै हिँडिन् । जे होस् उनको विश्वसनीयता हासिल गर्न सफल भएकी थिएँ । 

दिउँसो अचानक बुढो घर आयो । त्यही दिन थियो म पहिलो पटक लुटिएको । त्यो लुटाइले मेरा म हुनुको अस्तित्वमा नै नराम्ररी प्रहार गर्यो । भर्खर फुल्न लागेको फूललाई कसरी निर्चाेन सक्छन् पुरुषहरू ? उसले पनि आफ्नो पुरुषार्थ प्रदर्शन गर्यो । उमेरका हिसाबले मैले उसलाई गरेको बाबु समानको व्यवहारलाई लत्याएर अखिरमा ऊ पनि मेरो नजरमा एक हिंस्रक पशु नै ठहरियो ।

त्यसपछि पटक पटक लुटिएँ । कसलाई सुनाउनु मेरा पीडाहरू ? बाहिर निस्कौँ कुनै निश्चित गन्तव्य थिएन । मनका व्यथा सुनाउन कोही आफन्त थिएनन् । भिल्लाको चौघेरा नै मेरा संसार थिए । त्यसैले मनमोजी मच्चिने अधिकार प्राप्त गरेको थियो ।

अचानक समयको चक्रसँगै मेरो मासिक श्रावको चक्र पनि रोकियो । मलाई के थाहा, ती दुवै चक्र रोकिनुको अर्थ के हो ? तर मेरो पेटहरूको फुक्ने क्रम र वान्ता हुने क्रमले थाहा भयो, आखिर समय किन रोकिएको रहेछ भनेर ।

गर्भवती भएको कुरा बुढोलाई सुनाएँ । पेट ठूलो हुँदै आयो । मालिक्नीले थाहा पाउलिन् भनेर ठूलो म्याक्सीले जिउ ढाक्थेँ । पेट लुकाउँथे । म्यासीले भलै मेरो ऊर्वर पेटलाई त लुकाउँथ्यो तर ९ महिनापश्चात आउने नाबालकलाई त लुकाउन सक्दैन थियो । यदि कुवेतको कानुनको सानो हावाले मात्र छोयो भने के हुने हो, त्यसको कुनै निश्चितता थिएन ।

अब मसँग दुईवटा विकल्पहरू थिए । एक, बुढोले मलाई श्रीमतीको रूपमा स्वीकार्र्ने, जुन सम्भव थिएन । अर्काे नेपाल गएर गर्भपतन गर्ने । तर कसरी आफ्नै शरीरमा टुसाएको मुनालाई फ्याँक्न सक्छु होला र ? बिलखबन्दमा परेँ ।

त्यसैले बुढोलाई धेरै माया गरे जस्तो नाटक गर्न थालेँ । मैले यति धेरै बिन्ती बिसाएँ कि मेरो मनमा म साँच्चै बुढोकै श्रीमती नै हुँ जस्तो लाग्न थालिसकेको थियो । नलागोस् पनि कसरी, मैले कसैको श्रीमती नभई आमा बनेको कहिल्यै देखेको थिइनँ । मलाई श्रीमती बनाऊ, पेटको नासोको बाबु बन भनेँ । उसले सुनिरहयो ।

अन्ततः नेपाल गएर गर्भपतन गर्न सुझाव दियो । गर्भपतन गरेर फेरि कुबेत फर्कन भन्यो ।  एउटा सन्तानको बाबु बन्न नसक्ने हुतिहाराले के बल गरेको ? बाली रोपेर अन्न भित्र्याउन नसक्नेले किन बाली रोपेको ? हुतिहारा नामर्द पुरुष । मनमनै गाली गरेँ । सुन्ने गरी साह्रो बोल्ने हिम्मत थिएन । संसारभरका लोग्ने मान्छे यस्तै हुँदारहेछन क्यारे !

मैले नेपाल नै फर्कने निधो गरेँ । बुढोले ट्याक्सी बोलायो । म त्यही ट्याक्सीमा चढेर कुवेत एयरपोर्ट गएँ । ट्याक्सी ड्राइभर बङ्गाली थियो । तर बुढो थिएन । किनकि म बुढोको श्रीमती थिइन । सायद जीवनमा धेरै आँशु बहेको त्यही दिन थियो । किन भने म अब कहिले नर्फकने गरी र्फकँदै थिएँ आफ्नो देशमा । आर्जन गरेकी थिएँ भने एक भ्रुण, जसको कुनै आफ्नै बाबु हुनेछैन अब ।

जसै म नेपाल फर्किएँ, मैले मेरा लागि एउटा लोग्ने खोजेँ । श्रीमान खोजिनँ । लोग्ने र श्रीमानमा थोरै भिन्नता छ । श्रीमानको स्नेह लोग्नेमा हुन्थेन । लोग्नेको सबै थोक श्रीमानमा हुन्थ्यो । त्यसैले मैले केही थान हजारका नोटमा एउटा लोग्ने किनेँ । त्यो लोग्ने मेरा लागि थिएन । यो समाजलाई देखाउनका लागि थियो । बच्चा जन्मिएर ६ महिना पुगेपछि ऊ स्वतन्त्र हुने शर्तमा । मैले ६ महिनाको लागि मात्र लोग्ने किनेको थिएँ । त्यसपछि ऊ स्वतन्त्र भयो । तर कसैलाई नभन्ने अर्काे शर्तमा ।

अब मेरो इज्जत र बच्चाको भविष्य त्यही किनेको लोग्नेमा थियो । मेरो निक्र्याैल थियो, मेरो समाजले मेरो सत्य पचाउन सक्दैन । मेरो इज्जत ढाक्न मैले लोग्ने किन्ने निर्णय गरेको थिएँ । मैले न्याय पाउने उत्तम विकल्प यही थियो ।       

नेपाल आएको ७ महिनापछि काठमाडौँमा छोरो जन्माएँ । छोरो जन्माउँदा बल्ल मेरो उमेर १९ वर्ष पुगेको थियो । म यो समाजले थाहा नपाउने गरी गर्भ तुहाउन पनि सक्थेँ । तर भ्रुण बन्नुमा त्यो भ्रुणको कुनै दोष थिएन । मेरो हरेक खुसीमा ऊ चलमलाउँथ्यो मेरो पेटमा । त्यसैगरी मेरो दुःखमा मौन र स्थिर रहन्थ्यो । ऊ मेरो पेटमा चल्माउँदा आमा बनेको आभाष हुन्थ्यो ।

छोरोको न्वारन गरेँ । पण्डितले नाम जुराए । अहँ, पण्डितको नाम राम्रो लागेन । मैले आफै नाम जुराएँ, पेम्बा इब्राहिम । पेम्बा मेरो पहिचान, जात, धर्म र संकृतिसँग जोडिएको नाम थियो । इब्राहिम त्यही बुढोको नाम थियो । इब्राहिमले नचाहेर जन्मिएको भए पनि मेरो सन्तान । इब्राहिम र इब्राहिमका मनोवृत्ति नबोकेको पुरुष बनाउने चाहानामा मैले उसको नाम पेम्बा इब्राहिम राखेँ ।

कुवेतबाट लुटिएर फर्किएका कयौँ चेलीहरूमा समर्पित यो कथाका पात्रहरू काल्पनिक हुन् ।

यूएई

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...