बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कलाकार कृष्ण मल्लको जीवन : शत्रुघ्न सिन्हाले राजेश खन्नाकी प्रेमिका चिनाए

शनिबार, ३२ जेठ २०७६, ०८ : २७
शनिबार, ३२ जेठ २०७६

पुराना अभिनेता हुन् कृष्ण मल्ल । पछिल्लो समय उनी अभिनयमा त्यति सक्रिय छैनन् । तर कलाकारिताभन्दा बाहिर भने उनी होइनन् । अहिले कलाकारिताकै विभिन्न विधामा क्रियाशील रहँदै आएका छन् ।

पछिल्लो समय टीभीसी निर्माणमा व्यस्त उनको अभियान भन्ने सामाजिक संस्था पनि छ । यो संस्थाबाट उनी बालबालिका र वातावरणसम्बन्धी सामाजिक काम गर्दै आइरहेका छन् ।

उनको अर्काे संस्था नेपाल फिल्म सोसाइटी पनि छ । यसबाट भने उनी कलाकारितासम्बन्धी विभिन्न गतिविधि गर्दै आएका छन् ।

रङ्गमञ्च, फिल्म, टेलिचलचित्र, विज्ञान चलचित्र लगायत कलाकारिताका थुप्रै विधामा करिब ४ दशकदेखि क्रियाशील मल्लसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

मेरो खाना

मनपर्ने खाना नेपाली दाल, भात र तरकारी नै हो । जहाँ गए पनि नेपाली खाना खान पाइयो भने राम्रो लाग्छ । झोल हालेको तरकारी, काउली, लसुन, मुला, भिन्डी एकदमै मिठो लाग्छ । खाजामा मनपर्ने मम र चाउमिन हो । मन नपर्ने त्यस्तो केही छैन ।

धेरै अगाडि बनाएर राखेको अचार खान्न । मलाई चिया पकाउन आउँछ । त्योबाहेक अन्य परिकार बनाउन आउँदैन । एक पटक चाम्रे पकाउने प्रयास गरेको थिएँ, जानिनँ । रेस्टुरेन्ट कम जाने मध्येमा म पनि पर्छु । कहिलेकाहीँ साथीभाइ र फेमेलीसँग रेस्टुरेन्ट जाने गरको छु ।

मेरो पोसाक

क्याजुअल पोसाक प्रयोग गर्छु । जिन्स पाइन्ट र टिसर्ट सजिलो र हल्का लाग्छ । फर्मल हुन मलाई आउँदैन । निलो र कालो रङको पहिरन मनपर्छ । मेरो पोसाक धेरैजसो श्रीमतीले नै किनिदिन्छिन् । कहिलेकाहीँ आफै किन्छु । पोसाकका लागि वर्षमा २५ हजार जति खर्च होला ।

मेरो फिट्नेस

फिट्नेस मेरो जीवनमा टाढाको विषय रह्यो । कहिलेकाहीँ मन लाग्दा गरौँ गरौँ जस्तो लाग्छ । घरमा ट्रेडमिल पनि छ । घरमा आउनेले यो फिट्नेसमा निकै सचेत रहेछ भनेर सोच्नु होला तर म त्यस्तो छैन । बिहान सारै ढिला उठ्छु ।

मेरो अध्ययन

केही अगाडिसम्म म नियमित अध्ययन गर्थें । अहिले त्यो बानी पनि कम भएको छ । अध्ययन गर्नुपर्दा मलाई बायोग्राफी र उपन्यासहरू पढ्न मनपर्छ । नपढेको कसैको बायोग्राफी भएको पुस्तक भेट्टाएँ भने पढ्छु । पछिल्लो समय अल्छी भएकाले कुनै पुस्तक पढ्दैछैन ।

मेरो घुमफिर

घुमफिरमा असाध्यै रुचि छ । पहिले पहिले धेरै घुम्थेँ । तर अहिले घुमघाममा कमी भएको छ । तर पनि कहिलेकाहीँ घुम्ने जाने गरेको छु । प्राकृतिक सौन्दर्यले भरिएको पोखरा, धनकुटा, पाल्पा जस्ता ठाउँ मनपर्छ । ट्रेकिङ जाने जसरी घुमेको छैन । एक्लै होइन, साथीभाइ, फेमिलीसँग घुम्न मनपर्छ ।

नेपालका पूर्वी जिल्ला धेरै घुमेको छु तर सुदूरपश्चिम भने पुग्न सकेको छैन । अहिले जुम्ला, हुम्ला जान मन लागेको छ । विदेशमा युरोप, अमेरिका घुमेँ, अस्ट्रेलिया र जापान अझै  पुगेको छैन ।

मेरो फुर्सद

फुर्सद भएर म बेर्फुसदिलो भएको छु । फुर्सद भएपछि सबैतिरबाट बोलाउँदा रहेछन् । त्यसले पनि भ्याइनभ्याइ हुन्छ । म सामाजिक काममा पनि सक्रिय छु । अहिले विज्ञापन, चलचित्र निर्माणमा पनि सक्रिय छु । यो कामको सिलसिलामा धेरै मिटिङ गर्नुपर्दाे रहेछ । यी कामले फुर्सद छ भन्न सक्दिनँ ।

मेरो अभियान भन्ने एउटा सामाजिक संस्था छ । त्यो संस्थामार्फत बालबालिका र वातावरणसम्बन्धी अभियानमा क्रियाशील छु । अर्काे नेपाल फिल्म सोसाइटी पनि छ । त्यसले आफ्नो क्रियाकलाप नियमित गरिरहेको छ ।

मेरो खेलकुद

विद्यार्थी जीवनमा फुटबल, भलिबल र टेबुल टेनिस धेरै खेल्थेँ । क्याम्पस तथा स्कुल लेभलमा म यी खेलको राम्रो खेलाडी थिए । त्यतिबेला खेलको माध्यमले पुरस्कार, ट्रफीसमेत जित्थेँ । अहिले आएर खेलकुदमा समय नभए जस्तो नजुरे जस्तो भयो । अहिले टीभीमा खेलहरू हेर्छु । फुटबल, भलिबल हेर्न मनपर्छ ।

मेरो मोबाइल

मसँग दुईवटा मोबाइल छ । एउटा आइफोन छ । अर्काे सामसुङ जे सेभेन छ । आइफोन धेरैजसो बन्द हुन्छ । जे सेभन धेरै चलाउँछु । यसमा दुईवाट सिम लाग्छ । त्यसैले पनि फेसबुक, इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल यो मोबाइलमा चलाउँछु । मोबाइलमा फेसबुक, भाइबर, ट्विटर सबै चलाउँछु ।

मेरो टीभी

बेलुका प्रायः टीभी हेर्छु । परिवारले हेरिरहेको समयमा हेर्ने गरेको छु । आफै टीभी खेलेर कहिल्यै काही हेर्ने गरेको छु । हिन्दी सिरियल र समाचार टीभीमा हेर्छु ।

मेरो चलचित्र

अहिले फाट्ट फुट्ट चलचित्र हेर्छु । पछिल्लो समय तारिफ भएका फिल्महरू हेर्न थालेको छु । पछिल्लो समय हेरको फिल्म प्रसाद हो । चलचित्रमा पहिलेभन्दा अहिले धेरै परिवर्तन आएका छन् ।

राम्रा विषयवस्तुले प्राथमिकता पाएको छ । यसले सुखद् थालनी भएको मेरो बुझाइ हो । पछिल्लो समय बनेका चलचित्र प्राविधिक रूपमा, कथा, कलाकारमा धेरै परिवर्तन आएको छ । यो सकारात्मक पाटो हो । म घरमा, हलमा गएर नेपाली, हिन्दी सबै प्रकारका फिल्म हेर्छु ।

मेरो रोग

भगवानको कृपाले अहिलेसम्म त्यस्तो कुनै रोग छैन । बेलाबेलामा सानोतिनो समस्या देखिनु भनेको सामान्य हो । एक पटक ढाड दुख्ने समस्या आएको थियो । त्यो निराकरण भयो । अहिले त्यस्तो केही रोग छैन ।

मेरो भाषाशैली

कुराले नै मानिसले विश्व जित्ने हो । कुराले नै मानिसले आफूलाई सबैमाझ चिनाउने हो । व्यक्तित्व झल्काउने हो । कुरा गर्दा शिष्ट, मर्यादित हुनुपर्छ भन्ने लाग्छ । कुरा चपाएरभन्दा पनि प्रष्ट बोलेको मनपर्छ । बोल्नुपर्छ भन्ने मलाई लाग्छ ।

मेरो मापसे

घरमा म कहिल्यै रक्सी पिउँदिनँ । पार्टीहरूमा, साथीभाइले विभिन्न कार्यक्रममा निमन्त्रणा गर्दा खाने हो । यस्तो समयमा पनि मैले धेरै खाएँ भने दुई प्याक हो । त्योभन्दा बढी भयो भने तीतो लाग्छ । पहिले रक्सी खादिनँ थिएँ । सो समय विभिन्न पार्टी, कार्यक्रममा मैले आफू एक्लो भएको अनुभव गरेँ ।

मुम्बई जाँदा जहिले पनि शत्रुघ्न सिन्हाजीको घरमा पुग्छु । उहाँले खाना खान बोलाउनुहुन्छ ।   एक चोटि खाना खान बोलाउनुभएको थियो । तर आफ्नो घरमा नखुआएर अन्तै लिएर जानुभयो । अञ्जु भन्ने पहिला राजेश खन्नाकी पे्रमिका भेट्टाउनुभयो । उहाँले अञ्जुकै घर लैजानुभएको रहेछ । त्यहाँ उनको जन्मदिन रहेछ ।

हामी त्यहाँ पुग्दा १२ बजिसकेको थियो । सबैले प्याग लिएका छन् । गफ गरिरहेका छन् । मैले चिसो लिएको थिएँ । थप्दा थप्दै पेट फुलिसकेको थियो । कुरो पनि नमिलेको जस्तो भयो ।

त्यो समय एक पेग लिनुपर्छ भनेर मैले सुरु गरेँ । ब्रान्ड कन्सेस छैन तर सकेसम्म नेपाली खान्न । घरमा सजाएर राखेको छु । साथीहरूले ल्याएर दिन्छन् । त्यही सजाएर राख्ने गरेको छु ।

मेरो सङ्गीत

गीतसङ्गीत सुन्छु । मनपर्ने यस्तै भन्ने छैन । हरेक मानिसलाई केही न केही मन नपर्न सक्छ । तर सङ्गीत मन नपराउने सायदै होलान् । यस्तो सङ्गीत मनपर्छ भन्ने छैन । मेलोडी भरिएको, क्लासिकल, लोक सबै मनपर्छ । साउथ अफ्रिकाको सजिलै नबुझ्ने खालको पनि मनपर्छ । त्यो म्युजिकको कारणले हो ।

मेरो भूल

जीवनमा भूलहरू त पक्कै भए होलान् । मानिस जब केही गर्न खोज्छन् तब भूलहरू गर्ने हो । कैयौँ भूल भएका होलान् । भूलबाट सिक्दै जानुपर्छ भन्ने मेरो मान्यता हो । जीवनमा सधैँ पछुताउनु पर्ने भूल अहिलेसम्म भएको छैन ।

मेरो प्रेम

मेरो प्रेम विवाह हो । प्रेममा मेरो विश्वास छ । किनभने प्रेमले नै संसार जित्ने हो । प्रेमले घरबार बसाउने हो । मेलै जोसँग पहिलो प्रेम गरेँ त्यसलाई नै जीवन साथी बनाएँ ।

मेरो सपना

ठूलाठूला सपना देख्दिनँ । मैले देखेका भनौँ वा गर्नुपर्ने भनौँ । केही सपना छन् । तीमध्ये एउटा राम्रो चलचित्र बनाउने हो । त्यो चलचित्र कमर्सिल नहुन पनि सक्छन्, हुन पनि सक्छन् । दोस्रो आफ्नो एउटा टेलिभिजन स्टेसन राखौँला भन्ने सपना पहिलेदेखि देखेको थिए । साथीभाइलाई मिलेर गरौँ भन्ने कुरा पनि गरेको थिएँ । अहिले आँट आइसकेको छैन ।

मेरो राशि

मेरो राशि कुम्भ हो । ग्रहदशा खासै हेर्ने गरेको छैन । अलिअलि विश्वास त लाग्छ । ग्रहदशा देखाउन थालेपछि विभिन्न कुरा उठ्छन् । त्यतातिर ध्यान दिन मन पर्दैन ।

मेरो मृत्यु

जन्मेपछि मर्नुपर्छ । मृत्यु सत्य हो । यसलाई सबैले स्वीकार्नुपर्छ । सहज मृत्यु होस् भन्ने सबैको चाहना हो । मृत्युलाई सकेसम्म सबैले टाढा ढकेल्न सक्छन् । सबैको हाई हाई हुँदैमा मृत्युवरण होस् भन्ने मेरो चाहना हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप