भक्तपुरमा यस्तो देखियो गाईजात्रा (फोटोफिचर)
भक्तपुर । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज भक्तपुरमा गाईजात्रा पर्व मनाइएको छ ।
गाईजात्रा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । भक्तपुरमा गाईजात्राको औपचारिक शुरुवात जनैपूर्णिमाको साँझ नै गरिन्छ । तर सर्वसाधारणले मुख्यरुपमा आजमात्र गाईजात्रा निकालिन्छ । सर्वसाधारणले गाईजात्रा निकाल्नुअघि आजै बिहान सबेरै दरबार स्क्वायरस्थित तलेजु भवानीको गाईजात्रा निकाल्ने परम्परा रहेको छ । सोअनुसार आज बिहान कुखुरा नबास्दै तलेजुको गाईजात्रा निकालिएको थियो ।
भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्राभन्दा भिन्न र मौलिक शैलीका रुपमा लिइन्छ । यहाँको मुख्य आकर्षण घिन्ताङ्घिसी नाच हो । त्यससँगै मृतात्माको प्रतीकस्वरुप नगर परिक्रमा गरिने तहामचा अर्को आकर्षण हो । तहामचा बाँसबाट बनाइन्छ । हरियो, करिब १५ फिट लामा चारवटा बाँसलाई ठाडो पारेर आयताकारमा बाँधेर त्यसलाई कपडाले बेरेर तहामचा बनाइन्छ ।
तहामचाको शिरमा गाईको चित्र, परालको सिङ राख्ने र त्यसलाई छाता ओढाइन्छ । तहामचालाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । तहामचामा मृतकको तस्बिरसमेत राखिन्छ । त्यसले जात्रा हेर्न आएकाहरुलाई कसको तहामचा निकालेको त्यो स्पष्ट हुने गर्छ । तहामचालाई नगर परिक्रमा गराउनु पूर्व मृतकको घरको मूलढोका अगाडि पुरोहितले किरियापुत्रीद्वारा संकल्प गराई विधि बमोजिम पूजा गर्ने प्रचलन रहेको छ ।
भक्तपुरकै तालाकोस्थित कुमालेहरुले भने मृतात्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराउँछन् ।
गाईसँगै मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला, रामायण र श्रीकृष्ण लीलासमेत प्रदर्शन गरिन्छ । साथै, केटाकेटीलाई आकर्षक तवरले महादेव–पार्वती, कृष्ण–राधिकाका रुपमा सिंगारी बाजागाजाका साथ ‘वासा लुइके’ गरेर प्रदर्शन गर्ने प्रचलनसमेत रहेको छ ।
गाईजात्राको दिन विधिवत्रुपमा गाईलाई नगर परिक्रमा गराएमा मृतात्माहरु सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहेको छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतात्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास रहेको छ ।
गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किंवदन्ती भएपनि नेवार समुदायबाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन ।
किंवदन्तीअनुसार राजा प्रताप मल्लको छोराको मृत्युपश्चात् रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको हुन्छ भन्ने देखाउन गाई निकाल्ने प्रचलन शुरु भएको मानिन्छ । यतिले पनि रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हास्य व्यंग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न राजाले आदेश दिए बमोजिम गाईजात्राको अवसरमा हास्य व्यंग्यसमेत प्रदर्शन गरिन्छ ।
गाईजात्राकै अवसरमा भक्तपुरमा माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी नाचलगायतका नाच प्रदर्शन गर्ने प्रचलन रहेको छ । यस वर्ष मध्यपुर थिमिमा लाय्कु भैल, अप्सरा नाच, सलँचा प्याखः महाकाली प्याखः प्रदर्शनको तयारी भइरहेको छ । आठदिने गाईजात्राकै अवसरमा मध्यपुरथिमिको बोडेमा निलबाराही नाचसमेत प्रदर्शन गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु
-
सवारी दुर्घटनामा दम्पतीको मृत्यु