केन्द्रीय संस्करण

गाईपालनको ‘हब’ बन्दै मेचीनगर

person explore access_timeजेठ ३०, २०७६ chat_bubble_outline0
file-photo

–चन्द्रकला भण्डारी
भद्रपुर– परिश्रम गरेर पैसा कमाउन विदेश जानुपर्दैन भन्ने उदाहरण पेश गर्न सफल भएका छन् झापा मेचीनगर–४ का युवा जमात । दुई दर्जनभन्दा बढी युवाको त्यो समूह गाईपालनबाट परिवारसँगै बसेर मासिक दुईदेखि अढाई लाख रुपैयाँ कमाउन सफल भएको छ । 

मेचीनगर–४ मा मात्र साना–ठूला गरी २६ गाई फार्म छन् । विसं २०६७ सालमा स्थानीय युवा निरोज बोगटीले वैदेशिक रोजगारबाट फर्केर आएपछि गाईपालन व्यवसाय शुरु गरेका थिए । ‘शुरुमा बोगटीले काम नपाएर गाई पाल्न थालेछ भन्नेहरुले पछि यही व्यवसाय शुरु गर्नुभयो,’ उनले भने– ‘दुई–चार लाख कमाउन विदेश जानुपर्दैन मिहिनेत गर्न सक्दा लण्डन, अमेरिका घरमै छ ।’

हाल उनले नियोग अभियान कृषि तथा पशुपालन नामक संस्था नै दर्ता गरेर दुई फार्म सञ्चालन गरिरहेका छन्, जहाँ १५० भन्दा बढी होलेस्टन जातका गाई छन् । उनी दैनिक ९०० लिटर दूध बिक्री गर्छन् । त्यहाँ १० युवकले रोजगारी समेत पाएका छन् ।

सोही वडाका ४१ वर्षीय केशव सुवेदीको फार्म अवलोकन गर्न आउनेको यतिबेला दैनिक भीड लाग्ने गरेको छ । उनले १२० होलेस्टन जातका गाई पालेका छन् । व्यावसायिक रुपमा बोगटीबाट प्रेरित भएर व्यवसाय सञ्चालन गर्नुभएका सुवेदीले दैनिक ८००/९०० लिटर दूध बिक्री गर्दै आएका छन् । सात वर्ष अघि रु सात लाखबाट शुरु गरिएको गाईफार्ममा हाल रु २ करोड भन्दा बढी लगानी भइसकेको छ ।

 ‘अन्य व्यवसायको तुलनामा गाईपालन उत्तम लाग्छ,’ उनले भने– ‘प्रदेश सरकारले दिने अनुदान र दैनिक हुने आम्दानीले पनि जो कोही आर्कषित हुने गरेका छन् ।’ उनलाई पनि सरकारले आधुनिक तरीकाले फार्म सञ्चालन गर्न साइलेस (घाँसलाई कुहाएर दाना बनाउने तरीका) मा ७५ प्रतिशत अनुदान दिएको छ । पाँच विघा आफ्नो र १७ विघा थप जग्गा भाडामा लिएर उनले घाँसको लागि मकैखेती गरेका छन् ।

बजारबाट किनेको दाना भन्दा कयौं गुणा बढी पौष्टिक तत्व हुने भएको हुँदा उनले घाँसको लागि मकै खेती गरेको बताए । वार्षिक प्रतिबिघा रु ४० हजारका दरले लिजमा लिएको जग्गाबाट वर्षमा तीन पटक मकै उत्पादन गरेर साइलेस बनाउँदै उनले गाईलाई खुवाउँदै आएका छन् । 

उनले रातभर गाईलाई आधुनिक गोठमा बाँधेर राख्ने र दैनिक दिउँसो ८ घण्टा बिरुवा घारीमा लगेर खुल्लै छाड्ने गरेका छन् । ‘सिमेन्टको भूइँ भन्दा माटोमा बस्न रुचाउँदो रहेछ गाईले,’ सुवेदी भन्छन्– ‘विभिन्न तालीममा लिएको ज्ञान र गाईफार्म सञ्चालन गरको अनुभव अनुसार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला छाड्ने गरेको छु ।’ गोठदेखि १५० मिटरको दूरीमा उहाँले गाईलाई बस्नका लागि तीन कठ्ठा जग्गामा खमारीको बिरुवा रोपर शीतल छहारी समेत बनाइदिएका छन् । 

दैनिक १३ युवकलाई रोजगारी दिँदै आएका सुवेदीले खर्च कटाएर मासिक अढाईदेखि तीनलाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताए । उनको गाईफार्ममा ‘रातो टीका निधार’ मा भन्ने फिल्मको समेत छायाङ्कन भएको छ ।’ उनले गाईफार्म आम्दानीको राम्रो स्रोत भए पनि दक्ष प्रविधिज्ञको भने अभाव रहेको बताए । गत वर्ष मात्र खोरेत लागेर उहाँका ३० दुहुना गाई मरेका थिए ।

जिल्लामै पहिलो व्यावसायिक गाईफाम सञ्चालन गर्ने बाहुनडाँगी –४ कै युवा रहेको दाबी गरे । स्थानीयवासी राजेश बास्कोटाले । ‘गाईफामबाट घाटा छैन नाफा नै छ,’ उनले भने– ‘नशा नशामा गाई कुदेको छ । मनबाटै व्यवसाय गर्दा आम्दानीसँगै सन्तुष्टि पनि मिलेको छ ।’

चार वर्ष कतार बसेर फर्किएका बास्कोटाको फार्ममा १५० गाई छन् । यही वर्षभित्रमा ५०० देखि एक हजार पु¥याउने लक्ष्य छ । त्यसो त उनलाई अमेरिकामा रहेका साथीले गाई पालेर नबस्न भन्दै प्रवेशाज्ञासमेत पठाइदिएका थिए । अमेरिकाबाट आएको प्रवेशाज्ञा नै त्यागेर व्यवसायमा लागेको बताउँदै उनले भने– ‘रातभरि सुतेर बिहान उठ्दा घरमै पैसा आइरहेको हुन्छ । किन जानु र अमेरिका ?’

गाईपालनमा युवाको भविष्य उज्ज्वल देख्नु भएको बास्कोटाले कामदार र डाक्टरको भने समस्या झेलिरहेका छन् । रु ५ करोड भन्दा बढी लगानी रहेको गाईफामबाट उनले मासिक रु तीन लाख भन्दा बढी आम्दानी गर्नुको साथै एक दर्जन युवालाई रोजगारी समेत प्रदान गरिरहेका छन् । 

उनका अनुसार बाहुनडाँगीलाई सरकारले जसरी मकै, धान, सुपारी र रबरलाई जोन, ब्लक र पकेट क्षेत्र नै छुट्याएर किसानलाई प्रोत्साहन र सुविधा प्रदान गर्दै आएको छ त्यसरी नै बाहुनडाँगी गाईफामको ‘हब’ भएको हुँदा ब्लक नै बनाएर लगानी गर्न आवश्यक छ ।

उनीहरुले उत्पादन गर्दै आएको दूध मेचीनगरमै रहेको ऋतिका डेरीले घरमै गएर खरिद गर्ने गरेको छ । दुग्ध विकास सङ्घ मेचीनगरका अध्यक्ष समेत रहेका सुवेदीले सरकारले धुलो दूधको कारखाना प्रदेश नं १ कै इटहरीमा बनाउन लागेको हुँदा अब ‘मिल्क होलिडे’ नहुने समेत अपेक्षा गरे । अहिले बाहुनडाँगीका गाईपालक किसानहरु सङ्गठित भएर अघि बढेका छन् ।

 उनका अनुसार जति पनि बाहुनडाँगीका गाईपालक किसान छन् उनीहरुले आफ्नै खर्चमा भारतको पञ्जाब गएर गाईपाल्ने सिप सिकेर आएका छन् । यस्तो तालीमको व्यवस्था सरकारले गरे यस व्यवसायमा अझै युवाको आकर्षण बढ्ने अध्यक्ष सुवेदीको भनाइ छ । पशुुको बीमादेखि कृत्रिम गर्भाधानजस्ता सामान्य विषयमा नगरबाट सहज सेवा उपलब्ध हुनुपर्ने उनको माग छ । 

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले पशुपालक किसानलाई नै लक्ष्य गरेर बाहुनडाँगी–४ मै पशु अनुसन्धान केन्द्र स्थापना गर्न लागेको बताए । त्यसको लागि जग्गाको खोजी भइरहेको छ र आगामी वर्षभित्र निर्माण गर्ने लक्ष्य नगरपालिकाको छ  । उपप्रमुख उप्रेतीका अनुसार केन्द्रमा पशु डाक्टर, प्रविधिज्ञ र प्रशिक्षकको व्यवस्था गरिने छ ।

मेचीनगर नगरका पशुपालक किसानलाई गोठ र गाईको सङ्ख्या हेरेर रु एक लाखदेखि रु दुई लाखसम्म अनुदान दिने गरेको बताउँदै उप्रमुख उप्रेतीले भने– ‘अनुदान मात्रले भएन प्रविधिज्ञ र डाक्टरको व्यवस्था गरेर उहाँहरुलाई पशुपालनमा प्रेरित गर्ने योजना छ ।’

उनले जिल्लामा सबैभन्दा बढी पशुपालनमा मेचीनगर नै अगाडि रहेको बताए । मेचीनगरका १, ३, ९ र ४ मा मात्र ६० भन्दा बढी गाईफार्म रहेका छन् । बाहुनडाँगीकै अर्का युवा सन्तोष सुवेदीले समेत साथीहरुबाट प्रभावित भएर व्यावसायिक गाईपालन शुरु गरेका छन् । उनको फार्ममा यतिबेला २५ वटा गाई छन् । एक महिनाभित्र थप ५० वटा गाई भारतको विहारबाट मगाएको उनले बताए । 

रोजगारीको नाममा लाखौं युुवा विदेशी भूूमिमा गइरहेको अवस्थामा बाहुनडाँगीका युुवा भने आन्तरिक स्वरोजगार बनेर कृषिमा योगदान दिइरहेको बाहुनडाँगी नागरिक समाजका अध्यक्ष नीलकण्ठ तिवारीले बताए । अपार सम्भावनालाई महशुुस गरी पछिल्लो चरणमा शिक्षित युुवा जमात नै पशुुपालन पेशामा आकर्षित भएको उनको ठम्याइ छ ।

‘केही गरौं, गाउँमै अवसर खोजौं, विदेश त्यागौं’ भन्ने प्रवृत्ति बाहुनडाँगीका युवामाझ बढ्न थालेको छ । बाहुनडाँगी कृषिका लागि उर्बरभूमि भएकाले पशुपालनसँगै यहाँका युवाका लागि तरकारी खेतीबाट बहुआम्दानी गर्न सक्ने राम्रो सम्भावना छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...