शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसान बन्यो सत्तारुढ नेकपाको गतिविधि

नेकपा नेता भन्छन्, ‘सिङ्गो पार्टी युरोप भ्रमणमा छ, कहाँबाट होस् गतिविधि ?’
बिहीबार, ३० जेठ २०७६, १५ : ०७
बिहीबार, ३० जेठ २०७६

काठमाडौँ । देशको ठूलो पार्टी । दुई तिहाई मत भएको सत्तारुढ दल । दुई अध्यक्ष्यात्मक प्रणाली । र, झन्डै दश लाख कार्यकर्ता । तर, त्यहि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गतिविधि यतिबेला सुनसान जस्तै छ । धुम्बाराही र पेरिसडाँडामा रहेका पार्टी केन्द्रीय कार्यालय सुनसान छन् । नेता कार्यकर्तामा उत्साह भन्दा निराशा ज्यादा छ ।

पार्टी एकीकरण भएको एक वर्ष बितिसक्दा पनि गाँउ तहसम्मका कमिटीले पूर्णता पाउन सकेका छैनन् । शीर्ष नेताहरु एक वर्षसम्म बेरोजगार बनेका छन् । तत्कालिन दुई पार्टीबीचका नेता कार्यकर्ताबीचमा अझै भावनात्मक एकता भएको छैन ।

सरकारका निर्णयदेखि गाउँ तहसम्म पार्टीले गर्ने निर्णयमा पुरानै समूह हावी हुँदै गएका छन् । सामाजिक सञ्जालमा पूर्व पार्टीगत रुपमै आरोप प्रत्यारोपमा देखिन थालेका छन् । सामाजिक सञ्जालबाहेक नेकपाका नेताहरु पार्टी संगठनका काममा देखिँदैनन् । पार्टीका बैठक बस्न सकेका छैनन् । एकीकरण भैसकेका जनवर्गीय संगठनका गतिविधि पनि सुनसान छन् ।

यति बेला सवत्र चासोको विषय बनेको छ, किन सुनसान बन्यो सत्तारुढ नेकपा ? के गर्दै छन् शीर्ष नेता ? हामीले केही नेतासँग बुझ्न चाह्यौँ । सचिवालयका एक बरिष्ठ नेतालाई सोधेको यो प्रश्नमा उनले व्यङ्ग्य गर्दै भने, ‘यतिवेला सिङ्गो नेकपा यूरोप भ्रमणमा छ । भ्रमण सकिएपछि नेकपाका गतिविधि पनि चलायमान होलान् ।’

हामीले स्थायी कमिटीका एक नेतालाई पनि यहि प्रश्न गर्यौँ । औपचारिक रुपमा बोल्न नचाहेका उनले पनि व्यङ्ग्य गर्दै भने, ‘प्रधानमन्त्रीले केपी ओलीले सिङ्गो पार्टीलाई यूरोप भ्रमणमा लग्नुभएको छ । नेपालमा भए पो गतिविधि हुनु ? हामीलाई केही जिम्मेवारी छैन । कसैले कार्यक्रममा बोलए जाने । कार्यकर्ता आए भेटघाट गर्ने बाहेक अरु छैन ।’

यी दुई नेताहरुको मिश्रित व्यङ्ग्यले सिङ्गो नेकपाको अवस्था झल्काउँछ । पार्टीका एक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला यूरोप भ्रमणमा छन् । उनी भ्रमणमा निस्केसँगै नेकपामा शिथिलता पैदा भएको छ । प्रधानमन्त्री ओली जेठ २५ गते अन्तराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजना भएको समारोहमा सहभागी हुन यूरोप भ्रमणमा गएका उनी असार १ गतेमात्रै स्वदेश फर्किने छन् । अर्का अध्यक्ष प्रचण्डलगायत अन्य नेताहरु पनि मौन छन् । अर्थात उनीहरुका पार्टीसँग सम्बन्धित अभिव्यक्तिसमेत आएका छैनन् ।

पार्टी अध्यक्ष विदेश भ्रमणमा जाँदा पार्टीका सिनियर नेतालाई कार्यवाहकको जिम्मेवारी दिने प्रावधान राजनीतिक पार्टीहरुमा भएपनि नेकपामा भने त्यस्तो अवस्था छैन । किनकि नेकपामा समान हैसियत भएका दुई अध्यक्ष छन् तर अध्यक्ष ओली देशमा नहुँदा प्रचण्ड पनि भूमिकाविहिन जस्तै हुने गरेका छन् । यसै प्रशंगमा हामीले सचिवालय सदस्य वामदेव गौतमलाई सोधेका थियौँ, किन पार्टीका गतिविधि सुनसान भए ? अध्यक्ष प्रचण्डले चाहे भने पार्टीको बैठक बोलाउन सक्ने अवस्था नेकपामा नभएको हो ?

त्यसको जवाफमा नेता गौतम भन्छन्, ‘जसरी प्रधानमन्त्री ओली विदेश भ्रमणमा जाँदा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोख्रेलजीलाई दिनुभएको छ । त्यस्तै गरेर पार्टीका दुई अध्यक्ष मध्ये एक अध्यक्ष नहुँदा वा व्यस्त हुँदा अर्का अध्यक्षले बैठक बोलाउने, निर्णय गर्न सक्नु हुन्छ नि, उनले भने, ‘उहाँहरुको केही समझदारी होला । फोनबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ । प्रचण्ड कमरेडले बैठक बोलाउन नसक्ने भन्ने कुरा त भएन ।’

पार्टीका गतिविधि किन सुनसान ?

पछिल्लो समय नेकपामा उत्पन्न भएको एक तरङ्ग अझै सेलाएको छैन । गणतन्त्र दिवसको दिन पारेर अध्यक्ष प्रचण्डले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा सत्ता आलोपालोका प्रशंग निकालेसँगै उत्पन्न भएको तरङ्ग अझै मथ्थर बनेको छैन । त्यतिबेला प्रधानमन्त्री ओली भारत भ्रमणमा थिए । यहि प्रशंगलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सार्वजनिक रुपमै एकअर्कालाई जवाफ दिन पनि पछि परेनन् । जसले गर्दा दुई अध्यक्षबीच दुरी बढेको अनुमान नेकपाकै नेताहरुले गरेका छन् ।

स्थायी कमिटीका अर्का एक नेता भन्छन््, ‘केही दिनअघि प्रधानमन्त्री ओली भारत भ्रमण गएका बेला सत्ता सञ्चालनमा आलोपालो प्रशंग चलेसँगै दुई अध्यक्षबीचको सम्बन्ध हार्दिक देखिदैँन । दुई अध्यक्षबीचका भेटघाटमा पनि ओली कमरेडले प्रचण्ड कमरेडलाई प्रश्न गर्नुभएको थियो भन्ने सुनेको छु,’ उनले भने, ‘म जहिले विदेश भ्रमणमा जान्छु, त्यहि समय सिङ्गो पार्टीमा तरङ्ग पैदा गर्ने अभिव्यक्ति किन आउँछन् ? मै नभएको बेला तपाईहरुको छुट्टै बैठक किन हुन्छ ? सायद अहिले त्यसकै जवाफ प्रचण्ड कमरेडले दिनुभएको होला । अन्य नेताहरुको पनि जिम्मेवारी नहुँदा गर्ने के ?’

उनि थप भन्छन्, ‘दुई अध्यक्षबीचमा सहमति गरेर एक अध्यक्ष नभएको खण्डमा अर्का अध्यक्षले बैठक बोलाउन सक्नुपर्दथ्यो । तर, प्रचण्डले त्यसो गर्न सक्नुभएन । हुन त ओली कमरेड स्वदेशमै भएको बेला पनि पार्टीका गतिविधि के हुने गरेका थिए र ? यस्तै त हो सुनसान ।’

प्रधानमन्त्री व्यस्त हुँदा कार्यविभाजन पनि अन्योलमा

पार्टी एकताको एक बर्ष पुरा भैसक्दा पनि नेताहरु बेरोजगार छन् । अर्थात पार्टीमा जिम्मेवारी वाँडफाँड भएको छैन । जिल्ला कमिटीका अध्यक्ष सचिव र जनवर्गिय संगठनको नेतृत्व टुंगाएपनि जिल्ला कमिटी र जनवर्गिय संगठनले पूर्णता पाउन सकेका छैनन् ।

स्थायी कमिटी सदस्य एवं प्रदेश ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्य भन्छिन्, ‘पार्टी अहिले पुरै ठप्प जस्तै छ । पार्टीलाई विधि प्रणालीमा चलाएको भए यस्तो अवस्था आउने थिएन ।’

प्रधानमन्त्री ओली यूरोप भ्रमण जानु पूर्व नेकपाको सचिवालय बैठकले केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड गर्ने भनेपनि टुङ्गाउन सकेन । जेठ २३ गते बस्ने भनेको सचिवालय बैठक प्रधानमन्त्री ओलीको कार्यव्यस्तताको कारण स्थगित भएको थियो ।

तर पार्टीभित्र अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मापदण्डको विषयलाई लिएर विवाद सिर्जना भएपछि दुई अध्यक्षले तयार गरेको प्रस्तावसमेत अगाडि बढन सकेको छैन । अव प्रधानमन्त्री ओली भ्रमण सकेर स्वेदश फर्केपछि कार्यविभाजन टुङ्गाउने नेताहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप