मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

समाजको म एक नारी

बुधबार, २९ जेठ २०७६, १२ : ०४
बुधबार, २९ जेठ २०७६

–बबिता पोखरेल

यही समाजमा जन्मेकी, यही समाजमा हुर्केकी बढेकी अनि यही समाजमा बाँचिरहेकी यही समाजले बनाइदिएका र तोकिदिएका नियम कानुनलाई मान्दै आफ्नो जिवनलाई अघि बढाइरहेकी ४० वर्षीय एक अविवाहित साधारण नेपाली नारी हुँ म । 

अविवाहित महिलाले समाजमा धेरै किसिमका लाञ्छना सहनुपर्छ । हरेक कुराका दुई पाटा हुन्छन् । सबै विषयमा नकारात्मक पक्ष र सकारात्मक पक्ष बराबर हुँदैनन् । कुनै विषयको सकारात्मक पक्ष बढी हुन्छ भने कुनै विषयको नकारात्मक । कसले के कुरालाई बढी महत्व दिएको छ भन्ने कुरामा भर पर्छ । के अविवाहित रहनु अभिशाप हो वा समाजले हेर्ने दृष्टिकोण यस्तो हो ? अविवाहित रहर हो कि बाध्यता ? यिनै विषयमा मैले थोरै चर्चा गरेकी छु । 

जीवन जिउन साथीको आवश्यकता पर्छ, किन एक्लै जीवन बिताउने ? भन्नेहरू पनि यहाँ धेरै छन् । तर जब जिउनेलाई एक्लै जिउँछु भन्ने लाग्छ भने किन कसैको करकापमा आएर विवाह गर्नुपर्याे ?  हाम्रो समाजमा अविवाहित प्रतिष्ठित महिलाहरू पनि छन् । 

राजनीति, कलाकारिता, पत्रकारिताजस्ता विभिन्न क्षेत्रमा रहने अविवाहित महिलालाई पक्कै पनि आफ्नो स्थान बनाउन कठिन भयो । आफ्नो जीवन जसलाई जसरी सहज हुन्छ, त्यसैगरी बाँच्न पाउनुपर्छ । यद्यपि यो समाजमा अविवाहित महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ । ती महिलाहरूमाथि समाजले अनेक प्रश्न उठाउँछ । किन विवाह नगरेकी ? 

तिमी एक्लै कसरी बाँच्छ्यौ ? गह्रो हुँदैन ? बुढेसकालमा के गछ्र्याै  ? मरेपछि क्रिया कसले गर्छ ? भन्ने प्रश्न मेरो जीवनमा पनि नआएका होइन । त्यसलाई सहज ढङ्गमा लिएर समाजको यही गलत सोच परिवर्तन गर्नुपर्छ भन्दै पुरुषविनाको एक्लो जीवन अधुरो हुन्छ भन्ने मान्यता गलत हो । 

जीवनको अविरल यात्रा एक्लै पनि पार गर्न सकिन्छ भने किन बाँधिनुपर्याे बन्धनमा ? जन्मिनु, विवाह गर्नु, सन्तान जन्माउनु मात्र हो जीवन ? अवश्य होइन । त्यसैले अविवाहित रहनु रहर हो, अभिशाप होइन । 
जसले जसरी बुझे पनि जसरी व्याख्या गरे पनि अविवाहित रहनु आफैमा चुनौती हो । मेरो ३ दिदी  २ दाजु र १ बहिनी छन् ।

 म सात सन्तानमध्येकी छैटौँमा पर्छु । मलाई मेरो परिवारले विवाह गर्नु पर्छ वा विवाह नगर भनेर दबाब पनि दिएका छैनन् । मैले विवाह गरिनँ, मलाई अंश चाहियो भनी मैले कहिले आवाज पनि उठाइन र उठाउदिन पनि बरू कहिले काहीँ आफूले सकेको केही सहयोग गर्दै आएकी छु । घरमा अभिभावकहरूले पनि यो उमेरसम्म यसले विवाह गरिनँ । यसले पाउने अधिकार हामीले दिनुपर्छ भन्ने भावना व्यक्त गरेको छन् । 

मेरो ठाउँमा छोरो भएको भए । उसले पाउने अधिकार ऊ जसरी भए पनि लिइसक्थ्यो र दिनेले पनि दिइसक्थे  यसैबाट स्पष्ट हुन्छ की हाम्रो नेपाली समाज अहिले पनि छोरा र छोरीको मतभेदमा अल्झिएको छ । यो सबै आफैमा भर पर्ने कुरा हो । छोरी नै भए पनि छोरा सरह केही गर्न सक्छु भन्ने आँट हिम्मत गर्न सके समाजमा जे पनि गर्न सके समाजमा जे पनि गर्न सकिन्छ भन्ने दृढ विश्वास लिएर अघि बढने प्रयास गरेकी छु । 

धेरैतिरबाट विवाहको कुरा आए । धेरै विवाहको कुरा गरे पनि मलाई खासै प्रभाव परेन । अविवाहित त्यो व्यक्ति मात्र बस्न सक्छ । जसको आत्मा विश्वास र आत्माबल बलियो हुन्छ । देखासिकीका आधारमा विवाह गदिनँ भनेर बस्नु हुँदैन । त्यसरी बसे  व्यक्तिको जीवन घर न घाटको हुन्छ ।  म भन्छु जुन कुराका लागि पनि मनबाट आँट र हिम्मत आउनुपर्छ । आँट अनि हिम्मत भए एक्लै बाँच्न सकिन्छ । मेरो आमा अनि ठूली आमा भन्नुहुन्छ बरू कुनै धार्मिक संस्थामा गएर बस तर अब विवाह नगरे पनि हुन्छ । मैले उहाँहरूकै प्रेरणाले अविवाहित बस्ने अठोट गरे । 

गीतामा लेखिएको छ, ‘जे भो राम्रै भो, जे हुन्छ राम्रैका लागि हुन्छ । भविष्यका बारेमा सोचेर चिन्तित हुनुहुँदैन । चिन्ताले मान्छेलाई चितामा पु¥याउँछ भन्ने कुरा सबैलाई थाहा भएकै हो । त्यसैले बितेका दिनमा के भयो विगतमा भएका कमी कमजोरीहरूलाई सुधार्ने र वर्तमानमा रमाउन सके जीवनयापन गर्न कठिन हँुदैन सहज तरिकाले जीवन यापन गर्न सकिन्छ । समाजमा यस्ता धेरै महिला छन् जो विवाह गरेर पछुताइरहेका छन् । 

सबैलाई त्यस्तै हुन्छ भन्ने पनि होइन । विवाह आफ्नो इच्छामा भर पर्ने कुरा हो । एक्लै पनि जिउन सकिन्छ । विवाह बन्धनमा बाँधिनै पर्छ भन्ने छैन । हिजोका दिनमा अविवाहित महिलाले धेरै समस्या भोग्नुपरेको थियो । अहिले हिजोको जस्तो अवस्था छैन । धेरै परिवर्तनहरु भएका छन् । 
जन्मिनु, विवाह गर्नु, सन्तान जन्माउनु मात्र जीवन होइन । जीवनको अविरल यात्रा एक्लै पनि पार गर्न सकिन्छ भनविवाह बन्धनमा रहनुपर्छ भन्ने होइन ।

प्रत्येक नारीका लागि हिजोका दिन पक्कै पनि सहज थिएनन् । हिजो छोरी रजस्वला नहुँदै कन्यादान गर्न पाए आमाबाबुले मोक्ष प्राप्त गर्छन् भन्ने संस्कार थियो । हामी महिलामा पुरुषमा भन्दा बढी सहनशीलता, लगनशीलता, धैर्य, इमानदारिता एवं आत्मविश्वास हुन्छ । अविवाहित रहँदा स्वतन्त्रता हुन्छ । सबै निर्णय आफैले गर्न पाइन्छ । 

स्वनिर्भर भइन्छ भने समाजप्रति जिम्मेवारीबोध पनि हुन्छ । समाजमा विभिन्न आरोप–प्रत्यारोपबीच अविवाहित महिलाहरूले धेरै किसिमका लाञ्छना सहनुपर्छ । जीवन जिउन साथीको आवश्यकता पर्छ, किन एक्लै जीवन बिताउने ? भन्नेहरू पनि धेरै छन् । आज आम नेपाली नारी विभिन्न युग र शताब्दीको कालखण्ड पार गर्दा पनि पितृसत्तात्मक सोच र चिन्तनको सङ्कुचित घेराबन्दीबाट उम्किन सकेका छैनन् । 


हुन त अविवाहित नारीलाई घर समाजले हेर्ने दृष्टिकोणमा पनि फरक पर्छ । विषेशतः आफ्नो दाइ भाइका बालाबाल जन्मेदेखि हुर्काउने, हेरचाह गर्ने, दिसा पिसाब सफा गर्ने त्यही अविवाहित नन्द आमा नै हुन्छे । तर पनि ऊ क्रमशः आफ्नै जन्म घरमा पनि ऊ विस्तारै अपमानित हुन थाल्छे । यसलाई अंश दिनुपर्छ । दाजु भाइमा हामी बराबर अंश लान्छे भन्ने एक प्रकारको डर हुन्छ भने भाउजु बुहारीबाट अनेकौँ अपशब्द पनि सुनिन्छ । 

अंश खान बिहे नगरी बसेकी यसको लागि कोही जन्मेको पनि रहेनछ, जानु नि एउटासँग पोइल जस्ता तिखा शब्दले वाण पनि हान्ने गर्छन् ।  तर भोलिका भविष्य कसले पो देखेको छ । के थाहा त्यही अविवाहित नन्दले,आमाजुले भाउजु बुहारीको हेरचाह गर्नु पर्छ कि ? अविवाहित महिलाप्रति घर परिवार अनि समाजले हेने हेर्ने दृष्टिकोण नै साँघुरो छ । 

महिलालाई कहीँ न कहीँबाट समाज र घर परिवारले दुर्बल नै मानिरहेकै अवस्था छ । हो समाज बदलिएको छ, व्यवस्था बदलिएको छ तर पनि अविवाहित नारीहरूलाई हेर्ने दृष्टिकोण खासै बदलिएको देखिदैन । हामी अविवाहित नारीले अझै पनि घर अनि समाजभित्र धेरै चुनौतीको सामना गर्नुपरेको छ । पहिलेको तुलनामा केही समानता त छ  तर पनि न्यायोचित रूपमा अविवाहित नारीका लागि कार्यनीति नै बनेको छैन । त्यसैले अविवाहित महिलाका हकमा राज्य पक्षले पनि केही निति नियम तर्जुमा गर्नु आवश्यक छ । यसबाटा हामी जस्ता अविवाहित नारीलाई  कुनै पनि सामाजिक, आर्थिक र राजनीतिक तत्वहरूले खासै असर पार्दैन ।  हरेक क्षेत्र पेसा व्यवसायमा अविवाहित नारीहरूलाई मान्यता दिनुपर्छ । अविवाहित नारीले यो सङ्घर्षलाई निरन्तरता दिन सक्नुपर्छ ।  त्यसैले सबभन्दा पहिले अविवाहित नारीहरूले आफ्नो मनोबल उच्च बनाउन जरूरी छ । कमजोर मानसिकताबाट सधैँ टाढा रहेर अगाडि बढेको खण्डमा अविवाहित नारीहरू पनि समानरूपमा सबै क्षेत्रमा अगाडि बढ्न सक्छन् यसमा दुई मत छैन ।  

अविवाहित महिला विश्वका सबैभन्दा खुसी मानिसमा पर्छन् । हालसालै एक नयाँ वैज्ञानिकले गरेको एक अनुसन्धानमा पनि बाल बच्चा नभएका अविवाहित महिलाहरू विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ । शीर्ष मनोविश्लेषकहरूको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो ।
 
एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिला घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरूको तुलनामा अधिक स्वस्थ र लामो जीवन जिउने गरेको वेल्सस्थित प्रोफेसर डोलानले बताएका हुन् । डोलान लन्डन स्कुल अफ इकोनोमिस्कसमा व्यावहारिक विज्ञानका शीर्ष विश्लेषक हुन् । यस्तोमा सबैभन्दा पछिल्लो डाटाले पनि ‘खुसी रहन र सुखी जीवन बिताउन विवाह र मातृत्व जस्ता सामाजिक सफलताका पारम्परिक उपाय नै अपनाउनुपर्छ भन्ने जरूरी नभएको सङ्केत गरेको उनले बताए । यी विषयहरू खुसी जीवनको स्तरसँग सम्बन्धित नहुन पनि सक्ने उनको भनाइ छ । 

उनका अनुसार एक्लो रहनुसँग सम्बन्धित समाजको नकारात्मक धारणाले गर्दा नै आज धेरै महिलाहरू बेखुसी छन् । उनले धेरै अभिभावकसँगको आफ्नो खुलस्त अन्तक्र्रिया र विवाहबारे सामान्य अवस्थामा अध्ययन गरेपछि यस्तो तथ्य फेला पारेको बताएका हुन् ।  यसरी महिलामा एक्लो जीवन बिताउनुका फाइदाबारे यो पहिलो पटक उल्लेख गरिएको होइन । 

यसअघि पनि मनोविश्लेषकहरूले यस विषयमा प्रकाश पारिसकेका छन् । 
केही समय अगाडि मात्र इतिहासविद् डाक्टर बब निकोल्सनले १८८९ को टिट–बिट्स म्यागजिनको कपी ट्विटरमा पोस्ट गरेका थिए जुन १९औँ शताब्दीमा एक्ला महिलाले कस्तो महसुस गरिरहेका छन् भन्नेबारे रहेको थियो । यसमा ‘तपाईं उमेर कटिसकेपछि पनि किन एक्लो हुनुहुन्छ  ? भन्ने प्रश्न गरिएको थियो । जसको जवाफमा त्यस बेलाका थुप्रै महिलाहरूले आफू एक्लो जीवनमै धेरै रमाउने गरेको भन्ने जस्ता टिप्पणी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप