शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेइमारविनै ब्राजीलको गोल बर्षा

सोमबार, २७ जेठ २०७६, ०९ : २५
सोमबार, २७ जेठ २०७६

कोपा अमेरिका कपको तयारीका लागि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजीलले होन्डुरसमाथि गोलबर्षा गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा ब्राजीलले  होन्डुरसलाई ७–० गोलले हरायो । घुँडाको चोटका कारण आराममा रहेका नेइमारविनै ब्राजीलले शसक्त प्रदर्शन गरेको थियो ।

ब्राजीलको शानदार र फराकिलो जितमा गाब्रियल जेससले छैटौं र ४७औं मिनेटमा दुई गोल गरे । थिएगो सिल्भाले १३औं, पेनाल्टी मार्फत फिलिप कोउटन्होले ३७औं, डेभिड नेरेसल ५६औं, रोबर्टाे फिर्मिनोले ६५औं र रिचालीसनले ७०औं मिनेटमा गोल गरेका थिए ।

२९औं मिनेटमा होन्डुरस १० खेलाडीमा समेटिएको थिया । रोमेल कुइएटो रातो कार्ड पाउँदै बाहिरिएपछि होन्डुरस खेलभर दबाबमा रह्यो । कोपा तयारीका लागि एक सातअघि खेलिएको खेलमा ब्राजीलले कतारलाई २–० गोलले हराएको थियो । सोही खेलमा नेइमारको घुँडाको चोट बल्झिएको थियो । नेइमार अझै चार साता खेल्न नसक्ने बताईएको छ ।

घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिका कपमा ब्राजीलले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्दैछ । यस समूहमा बोलिभिया, भेनेजुएला र पेरु रहेका छन् । ब्राजीलले १५ जुनमा बोलिभियासँग पहिलो खेल खेल्नेछ । कोपा अमेरिका कपकै तयारीका लागि आइतबार राति खेलिएको अन्य मैत्रीपूर्ण खेलमा कोलम्बियाले पेरुलाई ३–०, मेक्सिकोले इक्वेडरलाई ३–२, पाराग्वेले ग्वाटेमालालाई २–० र भेनेजुएलाले अमेरिकालाई ३–० गोलले हराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप