शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आँधीबेहरी पीडितलाई जनही १ लाख ५० हजार

आइतबार, २६ जेठ २०७६, १८ : ४४
आइतबार, २६ जेठ २०७६

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारले आँधीबेहरीका कारण मृत्यु भएका परिवारलाई राहतस्वरुप जनही रु एक लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आँधीबेहरीका कारण पूर्ण क्षति भई पीडित भएका परिवारलाई जनही रु २० हजार र आंशिक क्षति पुगेका परिवारलाई रु १० हजार उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।  

यसैगरी पशुपंक्षी र कृषिमा पुगेको क्षतिको अध्ययन गरी मापदण्ड बनाएर विषयगत मन्त्रालयले राहत वितरण गर्ने निर्णयसमेत मन्त्रिपरिषद्को बैठकले गरेको छ । गत बिहीबार राति आएको भीषण आँधीबेहरीले कैलालीमा दुई जनाको मृत्यु भएको थियो भने ७६ जना घाइते भएका थिए । 

घाइतेमध्ये तीन जनाको जिल्ला बाहिरका अस्पतालमा र अन्य छ जनाको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ६६ जना भने उपचारपछि घर फर्किएका छन् । 

क्षतिको प्रारम्भिक विवरण 

कैलालीका सहायक प्रजिअ मोहनराज जोशीले आँधीबेहरीका कारण जिल्लामा सात हजार ८४४ घरपरिवार प्रभावित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिए । प्रभावितमध्ये दुई हजार २१६ घरपरिवारमा पूर्ण क्षति पुगेको छ । क्षतिको यकिन विवरण भने वडास्तरमा वडाध्यक्षको संयोजकत्वमा गठित समितिले सङ्कलन गरिरहेको जोशीले बताए।

आँधीबेहरीले कञ्चनपुर जिल्लामा पनि धनमालको ठूलो क्षति पु¥याएको थियो । जस्तापाताको अभाव आँधीबेहरीले जस्तापाताले छाएका जिल्लाका ठूलो सङ्ख्याका घरका छाना उडाएर क्षति पु¥याएपछि छानाको पुनःमर्मतका लागि जस्तापाताको माग बढ्दा यसको अभाव सिर्जना भएको स्थानीयवासीले बताएका छन् ।

‘पसलमा सहजरुपमा जस्तापाता पाउन पनि गाह्रो विषय भइसक्यो’, स्थानीयवासी खगराज भण्डारीले भने, ‘यसको माग बढ्दा व्यापारीले मूल्य पनि वृद्धि गरेका छन् ।’ राहत वितरण नहुँदा पीडितलाई समस्या आँधीबेहरीबाट धनगढी क्षेत्रका पीडित केही परिवारलाई त्रिपाल उपलब्ध गराइएको छ तर खाद्यान्नलगायतको राहत सामग्री वितरण नगर्दा समस्या भएको पीडितले गुनासो गरेका छन् । आफूलाई राहत दिन कसैले चासो नदिँदा समस्यामा परेको धनगढीका नरबहादुर कामीले गुनासो गरे ।  

धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले घरको छाना उडाएका केही परिवारलाई त्रिपाल उपलब्ध गराइएको बताए । आँधीबेहरीले छाना उडाएपछि कैयौँ घरमा भण्डारण गरी राखिएको खाद्यान्न भिजेर नष्ट भएको भए पनि खाद्यान्न उपलब्ध गराउनेतर्फ कसैले चासो नदिएको गुनासो पीडितको छ ।

विद्युत् अझै सञ्चालन हुन सकेन

बिहीबार रातिको आँधीबेहरीले ठूलो सङ्ख्यामा बिजुलीका खम्बा भाँचिएपछि ठप्प रहेको धनगढीसहित कैलाली जिल्लाको विद्युत् सेवा आजसम्म पनि सञ्चालन हुन सकेको छैन । विद्युत् आपूर्ति ठप्प हुँदा कैलाली जिल्लाबाट प्रकाशन र प्रसारण हुने सञ्चारमाध्यमले आफ्नो सेवा नियमित गर्न सकेका छैनन् । 

विद्युत्को अभावमा मोबाइल चार्ज नहुँदा सर्वसाधारण नागरिकबीचको सञ्चार सम्पर्क पनि टुटेको छ । चर्को गर्मी बढेको बेला विद्युत् आपूर्ति ठप्प हुँदा सर्वसाधारण थप गर्मीको सास्ती खेप्न बाध्य छन् । आँधीबेहरीका कारण जिल्लाभरिमा एक हजारभन्दा बढी सङ्ख्याका बिजुलीका खम्बा भाँचिएको र तार चुँडालिएर क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण धनगढीले जनाएको छ । विद्युत् सञ्चालन हुन अझै केही दिन लाग्ने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप