छिमेक नीतिमा भारतको ठूलदाइपनः विमानस्थलमा अवरोध !
प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो पटकको शपथग्रहणसँगै छिमेकमा भारतीय दादागिरी पुनः सुरु भएको छ । भारतीय जनतापाटी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले हालै सम्पन्न सत्रौँ लोकसभा निर्वाचनमा सानदार विजय हासिल गरेको थियो । भारत यतिखेर त्यसैको दम्भ प्रदर्शन गर्दैैछ । गत शुक्रबारबाट यसको विधिवत सुरुवात गरेको छ सप्तरी हनुमान नगरबाट ।
यसैका कारण कङ्कालिनी नगरपालिका १३ गोबरगाढाका ९० घरपरिवार कोसी नदीको बहावमा घेरिन पुगेका छन् । नदीको प्राकृतिक बहाव हनुमान नगरको पूर्वी भागमा पर्छ तर उसले एकतर्फी बनाएको पश्चिमतर्फको पाइलट च्यानलमा विनासूचना पानी छाडिदिँदा यस्तो अवस्था आएको हो । गोबरगाढामा करिब ३०० घरधुरी नेपाली बस्दै आएका छन् ।
यसको लगत्तै उसले नेपालीमाथि अर्को दम्भ प्रस्तुत गरेको छ । उसको मिचाहा प्रवृत्तिका कारण ११ जना नेपाली तीर्थयात्री इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिनुपरेको थियो । बोर्डिङ्पास लिएर उड्ने तरखरमा रहेका उनीहरूलाई यस कहिल्यै नसुनिएको नियम तेस्र्याएर जुन बाटो आएको हो, त्यही बाटो जानुपर्छ भन्यो, फिर्ता गरिदियो । केही समय अघि तीर्थयात्रका लागि त्यता लागेका यी नेपाली तीर्थयात्रीले जाँदा आफू अनुकूल रेल तथा बस प्रयोग गरेका थिए तर फर्कंदा भने अत्यधिक गर्मीका कारण विमानको टिकट लिएका थिए । न उनीहरूले टिकटको पैसा फिर्ता पाए न बस्ने खाने व्यवस्था नै भयो । चर्को गर्मीको मार आफ्नो स्थानमा छँदैछ ।
पहिले भारत हुँदै तेस्रो मुलुक जाने नेपालीहरूले घर फर्कंदा सजिलै प्रवेश पाउँथे भारतीय नाकामा । उनीहरूले न रोकतोक गर्थे न सोधखोज नै तर हाल उनीहरूसँग समेत राहदानी माग्न थालिएको छ । त्यही मुलुक हुँदै तेस्रो मुलुक जाँदा राहदानी नचाहिने उताबाट घर फर्किंदा भने राहदानी देखाउनुपर्ने कस्तो नियम हो यो ? यसलाई अनावश्यक दुःख दिने अचाडु र मिचाहा प्रवृत्ति नभनेर के भन्ने ? यी केही प्रतिनिधि घटना हुन् । यस्ता उदारहण अनगिन्ती छन् जसले गर्दा विनाकारण सिधासाधा नेपालीले दुःख पाउनुपरेको छ । कहिले कोसी बाँध एकलौटी पूरै थनिदिन्छ, कहिले पूरै खोलिदिन्छ । कहिले नेपाली घरआगनमा प्रवेश गरी आतङ्क मचाउने गर्छन् । यसैका लागि हेटौँडासम्म आइपुगेका थिए केही समय अघि बर्दीसहित भारतीय सुरक्षाकर्मी ।
मोदीको अगिल्लो पटकको सत्तारोहणसँगै अनपेक्षित नाकाबन्दी ब्योहोर्नुपरेको थियो । अनेका बाहनामा यतिबेला पुनः त्यसैलाई निरन्तरता दिन खोजिँदै छ । उनको २५ सदस्यीय वर्तमान मन्त्रिपरिषद्का विदेश मन्त्रीमा पूर्वपरराष्ट्र सचिव सुब्रह्मण्यम जयशङ्कर छनोट भएका छन् । यो उनीहरूको आन्तरिक मामिला हो तर जयशङ्करको नियुक्तिलाई सहज मान्न सकिरहेका छैनन् अधिकांश नेपालीले । जयशङ्कर लोकसभाका निर्वाचित सदस्य पनि होइनन्, भाजपाका खाटी कार्यकर्तामा पनि पर्दैनन् । उनी जत्तिकै काविल व्यक्ति अरू नभएका पनि होइनन् । तैपनि आठवटा देशसित सीमा जोडिएको भारत जस्तो विशाल मुलुकको विदेशमन्त्रीमा उनकै खोजी हुनुले आशङ्का गर्ने ठाउँ दिएको छ । जयशङ्कर नेपालका लागि त्यति प्रिय नाम होइन । उनले संविधानसभाबाट संविधान जारी गर्ने बेला जुन किसिमको कूटनीतिक मर्यादा विपरीत हर्कत प्रस्तुत गरेका थिए, त्यसलाई नेपालीले अझै विर्सेका छैनन् ।
छिमेकमा भारतीय दृष्टिकोण कहिल्यै सन्तुलित छैन, हुन सकेको छैन । उसको छिमेक नीतिमा सदैव ठूलदाइपन हाबी छ, हुन्छ भन्छन् जानिफकारहरू । व्यवहारमा पनि त्यस्तै देखिँदै आएको छ । सिक्किम यसै पनि पहिले नै लिसकेको छ, भुटानमा दबदबा कायमै छ । बङ्गलादेशसित बेलाबेलामा खटपट हुने गरेकै छ । श्रीलङ्का र मालदिभ्ससित पनि खासै राम्रो छैन । उसका लागि पाकिस्तान त यसै पनि जानी दुस्मन नै हो । दक्षिण एसियामा उसलाई टक्कर दिन सक्ने कुनै देश छ भने पाकिस्तान नै छ, बेलाबेलामा दिँदै आएको पनि । मोदीले शपथग्रहण समारोहमा त्यसैको केही तुष ओकलेका छन् ।
शपथग्रहण समारोहमा विमस्टेकका सदस्य राष्ट्रलाई निम्तो गर्न भ्याउने मोदी प्रशासनले सार्कका सदस्य राष्ट्र पाकिस्तानलाई देखेन छ । हजारभन्दा बढी पाहुना अटेका मोदीका अतिथिगृहमा छिमेकी मुलुक पाकिस्तानका समकक्षी इमरान खान अटेनन् । इमरान खान विगतका तुलनामा बढी नै उदारवादी पाकिस्तानी नेतृत्व मानिएका छन् । छिमेकमा विशेषगरी भारतसित मित्रता बढाउन चाहेको देखाउँछ उनको पछिल्लो गतिविधिले तर भारत त्यसलाई अनदेखि गर्दै आएको मात्र छैन भेट्नघाटलाई नै रुचाइरहेको छैन ।
मोदी प्रशासनले विदेशी फोरममा पाकिस्तानलाई एक्ल्याउन चाहेको प्रतीत हुन्छ । कहिले पाकिस्तानले विदेशी पाहुनालाई दुव्र्यवहार गर्यो भन्छ कहिले देशभित्र र बाहिर भएको आतङ्कवादी घटनामा पाकिस्तानी हातको आरोप लगाउन पछि पर्दैन । घटनामा ‘इस्लामिक स्टेट’ को आशङ्का गर्ने वित्तिकै उसको हेराई पाकिस्तानतिर सोझिने गर्छ । हालै श्रीलङ्काको कोलम्बोमा भएको शृङ्खलाबद्ध बम विस्फोटमा पनि यस्तै भएको थियो, जतिबेला करिब ३५० भन्दा बढीको ज्यान गएको थियो ।
यी केही यस्ता उदाहरण हुन्, जुन भारतको छिमेक नीतिमा प्रयोग हुँदै आएको छ । विश्व अर्थतन्त्रमा उदीयमान राष्ट्रको हैसियत बनाएको भारत भौगोलिक र जनसङ्ख्याको हिसाबले पनि ठूलो राष्ट्र हो तर उसको सोच भने सो अनुरूप हुन सकिरहेको छैन । ऊ कुरो त छिमेकीको हितकै गर्छ तर व्यवहार भने त्यसको ठीक विपरीत हुने गर्छ । जति ठूलो भयो दिल पनि त्यति नै उदार हुनुपर्ने हो तर स्थिति त्यस्तो छैन । यसले अन्ततः अरूलाई भन्दा हानि भारतलाई गर्छ, जुन कुरो भारतले खासगरी मोदी प्रशासनले जति चाँडो मनन गर्यो त्यति नै राम्रो हुनेछ ।