शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र–बाबुरामको समाजवादी पार्टी अझै अवैधानिक

आइतबार, २६ जेठ २०७६, १० : २८
आइतबार, २६ जेठ २०७६

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकीकरण भएको एक महिनाभन्दा बढी भइसक्यो तर अझै पनि नयाँ पार्टीले वैधानिकता पाएको छैन । 
२३ वैशाखमा दुई पार्टीबीच एकीकरण भएर समाजवादी पार्टी, नेपाल घोषणा गरिएको थियो । 

तर हालसम्म समाजवादी पार्टी, नेपालले वैधानिकता प्राप्त गर्न नसकेको हो । 

 कानुनी रूपमा अहिले पनि दुवै पार्टीले अलग अलग काम गरिरहेका छन् । 

यी दुई पार्टी निर्वाचन आयोगमा पनि अलग अलग छन् भने संसद्मा पनि फोरम नेपाल र नयाँ शक्ति पार्टी भनेर अलग अलग रूपमा सम्बोधन हुने गरेको छ । यसैगरी सरकारमा सहभागी रहेको सङ्घीय समाजवादी फोरम नेपालकै नाममै प्रतिनिधित्व रहँदै आइरहेको छ । 

सङ्घीय समाजवादी फोरम नेपालको संसदीय दलमा नयाँ शक्ति पार्टीको समायोजन भएको छैन । दलका नेताहरू प्रदेश स्तरीय अभिमुखी कार्यक्रममा व्यस्त रहेका कारणले पार्टीको वैधानिकता प्राप्त गर्न ढिलाइ भएको समाजवादी पार्टी, नेपालका सचिव (फोरम नेपालको तर्फबाट) प्रकाश अधिकारीले बताए । 

‘केही दिन पहिले मात्र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेताहरू फर्किंदै हुनुहुन्छ । अब पार्टी दार्ताको प्रक्रिया सुरु गर्नेछौँ’, उनले भने, ‘अहिलेसम्म केन्द्रीय समितिको मात्र एकीकरण भएको छ ।

अरू समितिहरूको समायोजन बाँकी रहेकाले पनि पार्टी दर्ता प्रक्रियामा ढिलाइ भएको छ ।’ जिल्ला तथा प्रदेशमा समायोजनका लागि छलफल सुरु भएको छ । सबै समायोजन सकेर नै पार्टी दर्ता गराउने हो कि भन्ने सोचाइ भइरहेको छ तर तल्लो तहको समायोजनामा ढिलाइ भयो भने दर्ता प्रक्रिया अगाडि बढाउने उनले बताए । 

समाजवादी पार्टी, नेपालका अर्का सचिव (नयाँ शक्तिको तर्फबाट) प्रशान्त सिंहले पार्टीको नाममा केही समस्या देखिएको कारण पार्टी दर्तामा ढिलाइ भएको बताए । दुवै पार्टीका तर्फबाट एउटा टिम तयार भएको छ । त्यो टिम निर्वाचन आयोगको नियमित सम्पर्कमा रहेको बताउँदै उनले पार्टीका शीर्ष नेताहरू कार्यक्रममा व्यस्त रहेका कारण केही ढिलाइ भएको जस्तो देखिएको बताए । 
पार्टीको दर्ता प्रक्रिया चाँडै टुङ्गिने उनले बताए ।

एकीकृत पार्टीको कार्यालय बालकुमारीमा नै रहने सहमति भएको छ । पूर्वसङ्घीय समाजवादी फोरम नेपालले बालकुमारीमा सञ्चालन गर्दै आएको पार्टी कार्यालयमा नयाँ शक्तिले आफ्नो पार्टी कार्यालयका समान सार्न सुरु गरेको छ । 

नयाँ शक्ति नेपालको पार्टी कार्यालय बबरमहलमा थियो । बबरमहलको पार्टी कार्यालय साँघुरो भएको कारण बालकुमारीको कार्यालयलाई नै एकीकृत पार्टी कार्यालय बनाएको सचिव सिंहले बताए । 

दुवै पार्टीको भौतिक तथा नगद जेजस्तो सम्पत्ति छ ती सबैलाई एक ठाउँमा राख्ने सहमति भएको सचिव सिंहले बताए । कसको सम्पत्ति कति छ, त्यसको बारेमा आफूलाई जानकारीमा नरहेको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप