शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राधे भण्डारीलाई रिहा गर्न तरुण दलको माग

शनिबार, २५ जेठ २०७६, १३ : ०९
शनिबार, २५ जेठ २०७६

 काठमाडौं –गुण्डागर्दीको झूटो आरोप लगाएर आफ्नो कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे दाबी नेपाल तरुण दलले गरेको छ । 
प्रहरीले केहीदिन अघि धादिङ जिल्ला उपाध्यक्ष समेत रहेका राधाकृष्ण (राधे) भण्डारीलाई पक्राउ गरेको थियो । 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार पत्रकार सम्मेलन गरी तरुण दलले बिनाकसुर प्रहरीले पक्राउ गरेको भन्दै उनलाई तत्काल रिहा गर्न माग गरेको छ । 


किटानी जाहेरी दिएको भनिएका व्यक्तिले होइन भन्दाभन्दै राज्यले नै किर्ते कागज बनाएर भण्डारीलाई फसाउन खोजेको तरुण दलको आरोप छ । 

तरुण दलले भण्डारीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले घटना भएको भनिएको स्थानमा उपस्थित नै नभएको व्यक्तिलाई राजनीतिक प्रतिशोधका कारण मात्र पक्राउ गरिएको आरोप लगाए ।

भण्डारीविरुद्ध किटानी चाहेरी दिएको भनिएका घाइते जनक मगरले पनि आफूले घटना भएको स्थानमा देख्दै नदेखेको र चिन्दै नचिनेको व्यक्ति विरुद्ध जबरजस्त रुपमा प्रहरीले किटानी जाहेरी लेखेर आफूलाई हस्ताक्षर गर्न लगाएको दाबी गरे ।

कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगानाले किटानी जाहेरी दिएको भनिएका व्यक्तिले नै घटनामा भण्डारीको संलग्नता नरहेको भन्दाभन्दै पनि पक्राउ गर्नु राजनीतिक प्रतिशोध मात्र भएको बताए ।

यही जेठ २२ गते धादिङको रोराङ गाउँपालिकामा स्थानीय बासिन्दाबीच भएको विवादमा भण्डारी पनि संलग्न रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रदेश ३ प्रहरीले हिजो पत्रकार सम्मेलन गरी स्थानीयलाई धम्क्याएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप