बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लोकसेवा टिप्स : वस्तुगत प्रश्नोत्तर

शुक्रबार, २४ जेठ २०७६, ११ : ४८
शुक्रबार, २४ जेठ २०७६

१. परराष्ट्र मन्त्रालयमा ब्रेन गेन सेन्टर (बीसीजी) को आरम्भ कहिले गरिएको हो ? 
विसं २०७६ जेठ १७ गते ।
–    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीद्वारा उद्घाटित बीसीजीले विश्वमा रहेका नेपाली विज्ञहरूको तथ्याङ्क सङ्कलन गरी व्यवस्थित गरेर सूचीकृत गर्ने साथै विज्ञको पहिचान गरी परिचालन गर्ने र योगदानका आधारमा पुरस्कृत गर्ने जनाइएको छ ।
२. बेलायतस्थित एपोलिटिकल नामक संस्थाले सन् २०१९ मेमा सार्वजनिक गरेको विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल नेपाली व्यक्तित्व को हुन् ?
 भूमिका श्रेष्ठ 
–    संस्थाले विश्वभरबाट छनोट गरेका नौ हजारजनाबाट लैङ्गिक समानताका लागि योगदान दिने प्रभावशाली व्यक्तिमध्ये भूमिका श्रेष्ठलाई छनोट गरिएको जनाइएको ।
३. सरकारले खाद्य संस्थानलाई कुन कम्पनीका रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ ?
 खाद्य व्यवस्था तथा व्यापार कम्पनी 
–    २०७६ जेठ १० गतेको मन्त्रिपरिषद् बैठकबाट संस्थानलाई ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ बनाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको । संस्थान व्यापारिक कम्पनीमा परिणत भएपछि देशमा महँगी बढेको, विभिन्न दैवीप्रकोपका कारण खाद्य सङ्कट परेको बेला देशभरका आमउपभोक्तालाई सहज रूपमा खाद्यान्न उपलब्ध गराउनेगरी खाद्यान्न भण्डारणको व्यवस्था गर्ने उद्देश्य रहेको ।
४.    नेपाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको सदस्यमा कहिले चयन भएको हो ? 
सन् २०१८ डिसेम्बर १२
–    नेपाल सो महासन्धिअन्तर्गतको प्राविधिक कार्यसमितिमा एसिया प्रशान्त क्षेत्रबाट पहिलोपटक छनोट भएको । 
–    नेपालले दुई वर्षसम्म समितिमा रही कार्य गर्ने । 
५.    सुदूरपश्चिम प्रदेश सरकारले आव २०७६÷०७७ का लागि नीति तथा कार्यक्रम कहिले प्रस्तुत गरेको हो ? 
विसं २०७६ जेठ १९
–    सरकारका तर्फबाट जेठ १९ मा प्रदेश प्रमुख मोहनराज मल्लद्वारा प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको । 
–    कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको नीति तथा कार्यक्रम । एक स्थानीय तह एक उत्पादन कार्यक्रम सञ्चालन गरिने । 
–    आगामी तीन वर्षभित्र प्रदेशलाई पूर्ण साक्षर बनाउने लक्ष्य । 
–    एक जिल्ला एक नमुना सहर बनाउने साथै नौवटै जिल्लामा मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम लागू गर्ने । 
६.    नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका साथ तेस्रो हिमालयन ट्राभल मार्टको आयोजना कहिले र कहाँ गरिएको हो ? 
विसं २०७६ जेठ २३–२६, काठमाडौँ ।
७.    टर्कीमा सन् २०१६ जुलाई २० देखि लगाइएको सङ्कटकाल कहिले हटाइएको हो ? 
सन् २०१८ जुलाई १९ ।
८.    नेपालको सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला रौतहट (१६ वटा) हो भने धेरै गाउँपालिका भएको जिल्ला कुन हो ? 
धादिङ (११ गाउँपालिका) ।
९.    नेपालको सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो ? 
सर्लाही (२० स्थानीय तह) ।
१०.    ललितपुर महानगरपालिकालाई हस्तकला नगरी कहिले घोषित गरिएको हो ? 
विसं २०७५ कात्तिक २८ गते ।
११.    नेपालमा अपाङ्गतालाई कति प्रकारमा वर्गीकरण गरिएको छ ? 
चार ।
१२.    सन् २०१८ मा वल्र्ड बुक रेकर्डमा सूचीकृत भएका नेपालका दुई सम्पदा कुन–कुन हुन् ? 
पशुपतिनाथ र लुम्बिनी (विसं २०७५ कात्तिक २५)
१३.    ७७ वटै जिल्लामा लागू हुनेगरी नेपाल प्रहरीद्वारा समुदाय–प्रहरी साझेदारी कार्यक्रम कहिलेदेखि सञ्चालन गरिएको हो ? 
विसं २०७५ कात्तिक ११ गते ।
१४.    सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन कहाँ आयोजना गरिएको छ ? 
नेपाल (विसं २०७६ जेठ २२–२३) ।
– विज्ञान र प्रविधिको क्षेत्रमा भएका उपलब्धि, ज्ञान र अनुभव आदान–प्रदानका लागि प्रदेश ३ सरकारको आयोजना तथा त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान विभागको समन्वयमा सम्मेलन आयोजना भएको । 
१५.    उपत्यकाको चौडा सडकमा सवारी साधनको गति मापनका लागि हालै प्रयोगमा ल्याइएको प्रविधि कुन हो ? 
लेजर स्पिड गन
– लेजर स्पिड गन राडारभन्दा अत्याधुनिक रहेको बताइएको । लेजर स्पिड गनबाट सवारीसाधनको गति नाप्ने कार्य २०७६ जेठ २० बाट सुरु गरिएको । 
१६. पोलिमर अन्तर्राष्ट्रिय सम्मेलन कहाँ आयोजना गरिने भएको छ ?
 नेपाल
–    सम्मेलनमा २३ देशका एक सय ५० भन्दा बढी वैज्ञानिकको सहभागिता हुने बताइएको ।
–    पदार्थ विज्ञान र नानो टेक्नोलोजीबारे अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो सम्मेलनको नारा ‘दिगो विकासका लागि पोलिमर’ भन्ने छ ।
१७. नेपाल र चेम्बर अफ कमर्स (कम्बोडिया) बीच नौबुँदे सम्झौता कहिले भएको हो ?
 सन् २०१९ मे १३ ।
–    दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्स र कम्बोडिया चेम्बर अफ कमर्सबीच दुई देशको व्यापारिक विकास र वैदेशिक सम्बन्ध प्रगाढ बनाउनेसम्बन्धी विषय उल्लेख गरिएको ।
१८. केन्द्रीय तथ्याङ्क विभागद्वारा विसं २०७६ जेठ ६ मा सार्वजनिक राष्ट्रिय लेखा तथ्याङ्क प्रतिवेदनअनुसार आव २०७५÷०७६ सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्ने प्रदेश कुन हो ?
प्रदेश नम्बर ५ ।
–    आव २०७५÷७६ मा प्रदेश ५ को आर्थिक वृद्धिदर ७.३७ प्रदेश हुने अनुमान ।
–    प्रतिवेदनअनुसार आव २०७५÷७६ मा गण्डकी प्रदेशले ७.०६ प्रतिशत तथा प्रदेश ३ ले ७.०४ प्रतिशत आर्थिक वृद्धि गर्ने अनुमान गरिएको ।
१९. नेपालमै पहिलो मानवअधिकारमैत्री गाउँ कुनलाई घोषणा गरिएको छ ? 
राँचुली गाउँ (कालिकोट) ।
–    तिलागुफा नगरपालिका वडा नं. ४ राँचुली गाउँलाई नेपालकै पहिलो मानवअधिकारमैत्री गाउँ घोषणा गरिएको । 
–    २०७५ जेठ १७ मा सो घोषणा भएको । 
२०.    नेपालमा बालमैत्री स्थानीय शासन नगर भनी चिनिने ठाउँ कुन–कुन हुन् ? 
देवचुली र सुनवल ।
२१.    नेपालसँग द्विपक्षीय हवाईसेवा सम्झौता भएका राष्ट्रहरू कति छन् ? 
३९ ।
–    ३९औँ राष्ट्र कम्बोडिया रहेको । 
–    कम्बोडियासँग सन् २०१८ नोभेम्बर २९ मा हवाईसेवा सम्झौता भएको । 
२२. प्रदेश नं. २ मा रेडियो नेपालको प्रादेशिक प्रसारण कहिलेदेखि सुरु भएको हो ?
 विसं २०७६ जेठ १८ गते ।
–    महोत्तरी जिल्लाको बर्दिवासबाट रेडियो नेपालको प्रादेशिक प्रसारण सुरु भएको ।
–    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा प्रादेशिक प्रसारण शुभारम्भ गरिएको ।
२३. वीरेठाँटीदेखि मुक्तिनाथसम्मको प्रस्तावित केबलकारको दूरी कति छ ?
८३.६५ किमि ।
–    कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म केबलकार लाइन विकास तथा सञ्चालनका लागि २०७५ भदौं २७ मा लगानी बोर्ड र मुक्तिनाथ दर्शन केबलकार प्रालिवीच सम्झदारीपत्रमा हस्ताक्षर भएको । प्रस्तावित केबलकार निर्माणका लागि डीपीआर निर्माणकार्य सुरु भएको ।
२४. काठमाडौँको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा कलेजोको सफल प्रत्यारोपण कहिले गरियो ?
विसं २०७६ जेठ १७ गते ।
(नेपालमै पहिलोपटक कलेजोको सफल प्रत्यारोपण भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा गरिएको ।)
२५. गण्डकी प्रदेश सरकाले कतिवटा नयाँ पर्यटकीय गन्तव्य थप्ने योजना तय गरेको छ ?
 ४० ।
२६. नेपालमा चलचित्र पत्रकारिता दिवस कहिले मनाइन्छ ?
 जेठ ७ गते ।
(चलचित्र पत्रकार सङ्घ नेपालले २०७६ जेठ ७ मा आफ्नो २०औँ वार्षिकोत्सव मनाएको । सो अवसरमा सङ्घले चलचित्र पत्रकारद्वय नरेश भट्टराई र श्याम स्मृतलाई चलचित्र पत्रकारिता सम्मान–२०७६ प्रदान गरेको ।) 
२७. अर्थमन्त्री युवराज खतिवडाद्वारा विसं २०७६ जेठ १५ मा सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आव २०७६÷७७ को बजेटको राशि कति रहेको छ ?
रु. १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख ।
–    कुल विनियोजनमध्ये चालुतर्फ रु. ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख (६२.४ प्रतिशत), पुँजीगततर्फ रु. ४ खर्ब ८ अर्ब ५९ लाख (२६.६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ रु. १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख (११ प्रतिशत) छुट्याइएको । 
–    आव २०७६÷७७ मा ८.५ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त गर्ने लक्ष्य । 
–    नयाँ बजेटले ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको । 
–    ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई दिइँदै आएको भत्तामा रु. एक हजार वृद्धि गरी मासिक तीन हजार पु¥याइएको । त्यस्तै, लोपोन्मुख आदिवासी र जनजाति, अशक्त र अपाङ्गता भएका नागरिकलाई दिइँदै आएको सामाजिक सुरक्षाभत्तामा पनि मासिक एक हजार वृद्धि गरी तीन हजार बनाइएको । श्रीमान्बाट परित्यक्त तथा अविवाहित महिला र विधवाले मासिक एक हजार रुपियाँ पाउँदै आएकोमा अब दुई हजार पाउने भएको । कर्णालीलगायत पिछडिएका क्षेत्र र दलित वृद्धवृद्धाले ६० वर्षदेखि पाउँदै आएको भत्तामा पनि मासिक एक हजार थप भएको ।
–    आगामी वर्षसम्ममा दुई दर्जन वस्तुमा आत्मनिर्भर हुने । 
–    बन्द र रुग्ण उद्योग सहकारी–निजी क्षेत्रको साझेदारीमा सञ्चालन ।
–    दमक, मोतीपुर, मयुरधाप, शक्तिखोर, नौबस्ता, चौरासे र दैजीमा औद्योगिक क्षेत्र ।
–    पाँच स्थानमा औद्योगिक करिडोरको विकास
–    धौबादी फलाम खानीबाट फलाम उत्पादन
–    महाभारत क्षेत्रमा शीतल आवास विकास गरिने
–    गर्भदेखि मृत्युसम्मको सामाजिक सुरक्षा सरकारले लिने
–    नेपाल र चीनबीच भएको व्यापार सम्झौताको प्रोटोकललाई अन्तिम रूप दिई चीनको बन्दरगाहमार्फत तेस्रो मुलुकसँगको व्यापार सुरु गर्ने
–    नारायणी र कोसीमा पानीजहाज चलाइने
–    पाँच वर्षमा सबै सार्वजनिक सेवा विद्युतीय बनाउने
२८. नेपालमा डीटीएच प्राविधिको सुरुवात कहिलेबाट भएको हो ?
 सन् २०१० ।
२९. बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश कहाँ दिएका थिए ?
 सारनाथ ।
३०. हाल विश्व सम्पदा सूचीमा सबैभन्दा बढी कुन देशका सम्पदा सूचीकृत छन् ?
इटाली (५३ सम्पदा) ।
–    चीन ५२ सम्पदासहित दोस्रो स्थानमा रहेको । 
–    विश्व सम्पदा सूचीमा नेपालका १० सम्पदा सूचीकृत रहेका । 
–    नेपालले प्रत्येक दस–दस वर्षमा सूची परिमार्जन गरेर पेस गर्दै आएको भए पनि थप सम्पदा सूचीकृत हुन नसकेको ।
–    यसअघि सन् १९९६ मा मुक्तिनाथ उपत्यकाको गुफा, तोरीतेल पेल्ने खोकनाको प्रविधि, रामग्रामस्थित बुद्ध स्तुपा, पनौती र गोरखाका मध्ययुगीन पूर्वाधार, तिलौराकोटका शाक्यवंशीय पुरात्त्विक अवशेष र बुद्धजन्मस्थल लुम्बिनीलाई युनेस्कोसमक्ष पेस गरिएकोमा सन् १९९७ मा लुम्बिनीमात्रै सूचीकृत भएको । 
–    पुरात्त्विक विभागद्वारा सन् २००८ मा दैलेखको भूर्ति मन्दिर, कीर्तिपुरको मध्ययुगीन बस्ती, ल्होमन्थाङको मध्ययुगीन माटोको पर्खाल, नुवाकोट दरबार, रामजानकी मन्दिर, रुरुको ऋषिकेश क्षेत्र, जुम्लाको सिञ्जा उपत्यका, मध्ययुगीन तानसेन बजार, वज्रयोगिनी मन्दिर, साँखुको परापूर्वकालीन बस्तीलगायतका सम्पदालाई युनेस्को समितिसमक्ष पेस गरिएको । 

 प्रस्तुतकर्ता : टङ्क केसी/हेमचन्द्र शर्मा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप