शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भूकम्पको हल्ला फैलाउने ‘ज्योतिषी’ले प्रहरीलाई दिए यस्तो बयान

ज्योतिष महासंघले पनि कारबाही गरेको थियो
मङ्गलबार, २१ जेठ २०७६, १७ : ४४
मङ्गलबार, २१ जेठ २०७६

काठमाडौँ । नेपालमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन कुमार थापा क्षत्रीले प्रहरी समक्ष अनुमानको भरमा भूकम्पको भविष्यवाणी गरेको बयान दिएका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले अनुमानको भरमा क्षत्रीले देशमा विनाशकारी भूकम्प आउने भविष्णवाणी गरेको बयान दिएको रातोपाटीलाई बताए । 

क्षत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार दिउँसो गौशाला क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।  

सिनामगंलमा काशी विश्वनाथ रत्न प्रा.लि. कार्यालय सञ्चालन गर्दै आएका क्षत्रीलाई ज्योतीष महासंघले ज्योतिषहरुमाथि नै आँच आउने गरी जथाभावी बोल्दै हिँडको भन्दै कारबाही गरिसकेको थियो । सो कुरा प्रहरी अनुसन्धानबाट पनि खुल्न आएको प्रवक्ता बोगटीले जानकारी दिए । 

उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । युट्युबमार्फत क्षत्रीले जेठ २९ भित्र देशमा भूकम्प नआए आफू जेल जान तयार रहेको समेत बताएका थिए । 

पक्राउ परेका क्षत्रिमाथि विपद् जोखिम व्यवस्थापन ऐन २०७४ अन्तर्गत ६ महिना कैद र १ लाख जरीवाना हुनसक्ने बताइएको छ । 

क्षत्रीले आफूलाई ज्योतिष भनेर यसरी चिनाएका थिए 
पक्राउ परेका क्षत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर पहिलोपटक आफूलाई युवा ज्योतिष भन्दै चिनाएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । 

विस्तारै–विस्तारै जथाभावी बोल्न थालेपछि क्षत्रीलाई महासंघले कारबाही गरी निलम्बन गरेको ज्योतिष कमल पौडेल बताउँछन् । 

ज्योतिष पौडेलका अनुसार क्षत्रीले केही युट्युब च्यानलहरु किनेर आफूलाई ज्योतिष भनेर चिनाउन अन्तर्वार्ता लिन लगाएको समेत आरोप लगाए । पौडेलले भने, ‘ज्योतिष क्षेत्रमा धावा बोल्ने जो कसैलाई पनि कारबाही हुनपर्छ ।’ 

ज्योतिष पौडेलले भने, ‘जन्म मिति र जन्म स्थानको आधारमा मात्र भविष्यवाणी गर्न सकिन्छ । कसैले कसैको अनुहार हेरेर भविष्यवाणी गर्न सकिन्न ।’

पक्राउ परेका ज्योतिष भनिने क्षत्रीले एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदा आफूलाई अमेरिकाले एक लाख डलर अफर गर्दा समेत नगएको बताएका छन् । 

यो पनि...

महाभूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिषी’ पक्राउ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप