मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल मामिलामा असफल डोभल फेरि बने मोदीका सुरक्षा सल्लाहकार

सोमबार, २० जेठ २०७६, १७ : ५८
सोमबार, २० जेठ २०७६

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रिय सुरक्षा सल्लाहकार पुनः अजित डोभल नै नियुक्त भएका छन् ।

यसअघि पनि प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार रहेका डोभलको काम हेरेर उनलाई पुनः सोही पदमा नियुक्त गरिएको हो । उनलाई मन्त्री स्तरीय सुविधा दिएर पुनः पाँच वर्षका लागि नियुक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

पाकिस्तानको बालाकोटमा जैश–ए–मोहम्मदको ठेगानामा एयर स्ट्राइक उनकै निगरानीमा भएको थियो । एयर स्ट्राइक गर्ने सम्पूर्ण योजना बनाउने डोभलले त्यसको सम्पूर्ण जानकारी प्रधानमन्त्री मोदीलाई दिइएरहेका थिए । सन् २०१६ मा पनि पाकिस्तानमा माथि भएको सर्जिकल स्ट्राइकमा डोभलको भूमिका थियो ।

सन् १९६८ बाट आइपीएसको रुपमा काम गरेका उनी सन् १९७२ मा इन्टलेजेन्सी ब्युरोमा काम शुरु गरेका थिए । धेरै समय जासुसको रुपमा बिताएका डोभल सात वर्षसम्म मुसलमान भएर पाकिस्तानमा जासुस भएर बसेका थिए ।

उनी प्रधानमन्त्री मोदीको सुरक्षा सल्लाहकार बनिसकेपछि पाकिस्तानमाथि दुईपटक सर्जिकल स्ट्राइक उनकै निगरानीमा भएको र भारत सरकारले त्यसलाई सफलताको रुपमा लिएको छ । भारत सरकारमा शाक्तिशाली व्यक्तित्व मध्ये एक अजित डोभललाई नै मानिन्छ । प्रधानमन्त्री मोदीले हरेक निर्णय लिनुभन्दा पहिले एकपटक डोभलसँग सल्लाह लिनेको गरेको बताइन्छ ।

यसअघि डोभललाई सुरक्षा सल्लाहका साथ साथै सरकारको रणनीतिक नीति समूहका सचिव समेत रहेका थिए ।

यद्यपि ,डोभलमा सुरक्षा रणनीतिको बारेमा जति जानकारी छ, त्यति विदेशी कुटनीतिकको बारेमा जानकारी छैन । यसअघि उनीसँग भारतका प्रधानमन्त्री मोदीले सुरक्षाको साथ साथै विदेशी कुटनीतिको विषयमा पनि छलफल गर्थे । तर उनले विदेशी कुटनीतिमा दिएको सुझाव धेरै हदसम्म सफल नभएको भारतीय पक्षका जानकारहरु बताउँछन् ।

त्यसको उदाहरण नेपाललाई लिन सकिन्छ । शुरुदेखि नै प्रधानमन्त्री मोदी नेपालको कुटनीतिक सम्बन्धमा अजित डोभलसँग सल्लाह लिँदै आएका थिए । र, उनकै सल्लाह अनुसार प्रधामन्त्री मोदीले नेपालसँग व्यवहार गरेको जानकारहरुको दावी छ ।

नेपालबाट जाने उच्च डेलिगेशनहरु पहिला डोभलसँग ठोक्किनै पथ्र्यो । पहिलो भेट उनीसँग गरेपछि मात्र प्रधानमन्त्री मोदीसँग हुन्थ्यो । कतिपय अवस्थामा त प्रधानमन्त्री मोदीलाई भेट्न गएका व्यक्ति डोभलसँग भेटेर फर्किनु पथ्र्यो । संविधान निर्माण, नाकाबन्दी लगायतका विषयमा प्रधानमन्त्री मोदीले डोभलसँग गम्भीर छलफल गरेका थिए । त्यसमा उनी चुकेको भारतीय थिंक ट्याङ्कहरु नै बताउँछन् ।

एकताको सुत्रधार

तत्कलिन फोरम नेपाल र राजपा नेपालबीच एकता प्रकृया शुरु हुनुमा डोभलकै हात रहेको छ । फोरम र राजपा नेपाल जसरी पनि मिल्नुपर्छ भनेर उनले ती दुई दलका नेतालाई पटक–पटक दबाब दिएका थिए ।

समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव २०७५ असोजमा स्वास्थ्यसँग सम्बन्धित एक कार्यक्रममा भाग लिन भारत गएको बेला अजित डोभललाई भेटेका थिए । त्यहाँ उनले अध्यक्ष यादवलाई एकीकरणका लागि दबाब दिएका थिए ।

उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका यादव एकीकरणका लागि तयार भएपछि डोभलले त्यहीबाट राजपा नेपालका तत्कालिन अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई फोन गरेका थिए । ‘उपेन्द्र यादव एकीकरणका लागि तयार भएका छन्, अब तपाईंहरु पनि त्यसको तयारीमा लाग्नुस्’ भन्ने सन्देश दिएपछि उपेन्द्र यादव नेपाल फर्किने बित्तिकै वार्ताका प्रकृया अगाडि बढाएका थिए ।

उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतोसँग भेटेपछि पार्टीबाट एकीकरणको अधिकारिक निर्णय गर्दै वार्ता समिति गठन गरेका थिए । र, सोही वार्ता समितिबाट राजपा नेपाललाई पत्र पठाउने काम भएको थियो ।

चीन भ्रमण रद्द गराउनेसम्म

तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान निर्माणको क्रममा कमल थापा परराष्ट्र मन्त्रीको रुपमा पटक–पटक भारत गएका थिए । जतिपटक भारत जाँदा थापाले उनै डोभलसँग वार्ता गरेका थिए । त्यतिबेला भारतको तर्फबाट आएको चार बुँदे सुझावका डिजाइनर उनै डोभल थिए । नेपालमा अहिले चर्चामा रहेका एस जयशंकर नेपालमा संविधान घोषणाको मिति सार्न दबाब दिन डोभलकै सल्लाहमा काठमाडौँ आएका थिए ।

पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनले पहिलो भ्रमण चीनबाट गर्ने सोच बनाएका थिए । संविधान निर्माणमा भारतको अनावश्यक दबाब र नाकाबन्दी लगायतको विषयमा भारतसँग सम्बन्ध बिग्रिसकेको अवस्थामा उनी चीनसँगको सम्बन्धलाई बलियो बनाउनका लागि चीन भ्रमणमा जाने तयार गरिरहेका थिए ।

त्यो भ्रमणमो चाँजो पाँजो मिलाउन तत्कालिन परराष्ट्रमन्त्री कमल थापा चीन पनि गएका थिए । यो कुरा थाहा पाएर भारतबाट तत्कालिन विदेश मन्त्री सुष्मा स्वराज र सुरक्षा सल्लाहकार डोभल सुशील कोइरालाको निधनको बहानामा नेपाल आएका थिए । उनी नेपाल आउने बित्तिकै वालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए । उनीहरुले सोही बेला प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए । निम्तोपछि प्रधानमन्त्री ओलीले आफ्नो पहिलो राजकीय भ्रमण भारतबाट शुरु गर्न बाध्य भएका थिए ।

त्यति मात्र होइन, फागुनमा भारत भ्रमण गरेर फर्केका ओली चैत ७ गते चीन भ्रमणको तयारीमा रहेको बेला पनि तत्कालिन विदेश सचिव एस जयशंकर र सल्लाहकार डोभल नेपाल आएका थिए ।

भारतभित्र माओवादीविरोधी छवि बनाएका डोभल हिन्दुवादी अनुसन्धान संस्था विवेकानन्द फाउन्डेशनका प्रमुख पनि रहिसकेका हुन् । त्यति मात्र होइन, सन् १९९९ मा काठमाडौँबाट इण्डियन एयरलाइन्सको जहाज अपहरण हुँदा त्यसको मुख्य वार्ताकार डोभल नै थिए । नेपालबाट हवाई जहाज अपहरण भएका कारण सुरक्षा रणनीतिको रुपमा नेपाललाई कडा दृष्टिले हेर्नुपर्ने सुझाव डोभलको रहँदै आएको छ । नेपाली एयरपोर्टमा एयरमार्सल राख्नुपर्ने जस्ता सुझाव उनकै रहेको बताइन्छ ।

नियुक्ति पाउने वित्तिकै भारतीय गृहमन्त्री अमित शाहले आजै डोभलसँग सुरक्षा रणनीतिको बारेमा लामो छलफल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप