शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘महारानी’ भन्दै बालुवाटारबाट ठगीधन्दा चलाउने लक्ष्मी, यस्तो छ वास्तविकता

शनिबार, १८ जेठ २०७६, १३ : ५३
शनिबार, १८ जेठ २०७६

काठमाडौं । डोल्पा घर भएकी लक्ष्मी बोहराले आफू बेलायतमा बस्ने र नाम बडामहारानी राज्यलक्ष्मी राणा भएको बताउँदै आएकी थिइन् । ‘राणा परिवारको मान्छे हुँ’ भन्दै हिँड्ने न उनी ‘महारानी राज्यलक्ष्मी राणा’ हुन् न त राणा परिवारको मान्छे नै । उनी बेलायतमा समेत नबस्ने गरेको खुल्न आएको छ । 

नागरिकता र पासपोर्टमा उनको नाम लक्ष्मी बोहोरा नै छ । उनै महारानी नाम दाबी गर्ने लक्ष्मीलाई प्रहरीले महाराजगञ्जबाट पक्राउ गरेको छ । 

बेरोजगार बनेर बसेकाहरुलाई अनेक प्रलोभनमा झुक्याएर ठगी धन्दा सञ्चालन गर्दै आएकी बोहोराविरुद्ध ५३ जनाले जाहेरी दिएको आधारमा प्रहरीले वैशाख २४ गते पक्राउ गरेको हो । 

प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर रानी डाइना विजनेश ग्रुपमार्फत ‘भ्याकेन्सी’ माग गर्दै आएकी बोहोराले ३३ लाख ७३ हजार १४० रुपैयाँ ठगी गरेको खुल्न आएको छ । 

के हो रानी डाइना विजनेश ग्रुप ?
रानी डाइना विजनेश ग्रुप बोहराले सञ्चालन गर्दै आइरहेको कम्पनीको नाम हो । उक्त कम्पनीको संस्थापक उनै हुन् । यो ग्रुपको अफिस बालुवाटारमा छ । 

कम्पनीले इभेन्ट म्यानेज गर्दै आइरहेको बताइएको छ । सो कम्पनीको हालका प्रेसिडेन्ट सुन्दर रिजाल हुन् । काभ्रे धुलिखेल नगरपालिका–७ घर भएका रिजाललाई पनि प्रहरीले वैशाख २३ गते पक्राउ गरिसकेको छ । 

बालुवाटारमा कार्यालय रहेको रानी डाइना विजनेश ग्रुपले रोजगारीका नाममा श्रम शोषण गर्दै दर्जनौँ युवाहरुलाई ठगेको पाइएको छ । लण्डनमा बस्ने विदेशी भएको भन्दै उनले अर्कैको नाममा कम्पनी दर्ता गरेकी हुनसक्ने प्रहरीले बताएको छ ।  

पूर्वप्रहरी अधिकृत र नायक समेतलाई प्रभावमा पार्न सफल
महारानी नाम बताउने बोहोराले सशस्त्र प्रहरीका आईजीपी भइसकेका प्रहरी अधिकृत र नेपाली सिने क्षेत्रमा कहलिएका व्यक्तिहरुलाई समेत प्रभावमा पार्न सफल भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

लक्ष्मीले सशस्त्र प्रहरीका पूर्वआईजीपी, चर्चित नायक र चर्चित व्यापारीलाई बोलाएर आफ्नो इभेन्टको प्रमुख अतिथि बनाइ कार्यक्रम गरेको समेत खुल्न आएको छ । 

ठगीको तरिका
कम्पनीले सुरुमा आकर्षक तलबको प्रलोभनमा देखाई जागिरको विज्ञापन खुलाउने गरेको पाइएको छ । विज्ञापनपछि पुग्नेहरुलाई जब अफर लेटरको फर्म भराउने गरेको प्रहरीले जनाएको छ । 

उनीहरुलाई तालिमपछि रोजगारी दिने भन्दै पर्सनालिटी एण्ड लिडरशीप ट्रेनिङ का लागि सुुरुमा १४ देखि १६ हजार रुपैयाँसम्म लिएको पनि पाइएको छ । १८ देखि ३० हजारसम्म दिने भन्दै नियुक्ति पत्र समेत दिइएको छ । तर काम भने नदिलाएको बताइएको छ । 

पछि पैसा फिर्ता माग्दा उनले उल्टै  धम्की दिने गरेको पनि एक पीडितले बताए ।  

ठगीमा परेका युवाहरुले प्रहरीमा जाहेरी दिएपछि लक्ष्मीले उच्च अदालत पाटनबाट पक्राउ नगराउने आदेश गराएकी थिइन् । 

उच्च अदालत पाटनका न्यायाधीश हरिप्रताप केसीले महारानी राज्यलक्ष्मी राणालाई पक्राउ नगर्न २०७६ वैशाख २२ मा अन्न्तरिम आदेश दिएका थिए । 

रानी डायनाको उद्देश्य 
महारानी नाम बताउने लक्ष्मी संस्थापक अध्यक्ष भएको कम्पनी रानी डायना कम्पनीको उद्देश्य गजबको छ । प्रबन्धपत्रका उल्लेख गरिएअनुसार यो कम्पनीले नेपालमा नगर्ने कुनै काम नै छैन् । 

जस्तै ३ वटा उद्देश्य हेरौं
१. नेपालका विभिन्न अञ्चल जिल्लाहरुबाट उत्पादन हुने जडीबुटी संकलग गर्ने एवं प्रशोधन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बिक्री वितरण गर्ने । 

२. जडीबुटीलाई पहाडी, तराई तथा हिमाली क्षेत्रमा नगदेबालीको रुपमा विकास गर्ने । 

३. कम्पनीले विशेषगरी उन्नत जातका राँगा, भैँसी, खसीबोका, बाख्रा, बंगुर, कुखुरा, हाँस, खरायो, माहुरी पालन, माछा व्यवसाय आदीको व्यवसायीक रुपमा उत्पादन गर्ने, बिक्री वितरण एवं सप्लाई तथा बजार व्यवस्थापन गर्ने गराउने । 

यता महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राणा र रिजालविरुद्व ठगीको उजुरी परेपछि प्रहरीले यस विषयमा छानविन गरिरहेको वृत्तका प्रमुख फणिन्द्र प्रसाईंले जानकारी दिए । 

उनले भने, ‘राणा र रिजाल पक्राउ परिसकेका छन् । ठगीको यो केसमा थप ४ जना पनि संलग्न रहेको पाइएको छ । उनीहरुको खोजीकार्य जारी छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप