बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

मिक्लाजुङ हत्याकाण्डमा बाँचेकी बालिका प्रदेश सरकारको जिम्मामा

शनिबार, १८ जेठ २०७६, ०९ : ४९
शनिबार, १८ जेठ २०७६

गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा भएको सामूहिक हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी बालिकाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिएको छ ।

उक्त घटनामा भागेर बाँचेकी १२ वर्षीया सीता खजुम लिम्बूको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश सरकारले लिएको हो । यही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्यसमेत रहका
प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा खजुमलाई शुक्रबारबाट सुनसरीको इटहरी उपमहानगरपालिका–१९ शहीद स्मृति आवासीय विद्यालयमा भर्ना गरिएको छ । 

मन्त्री आङ्बोका अनुसार सीताकी आमासहित उनको परिवारका सदस्यसँगको सहमतिमा सीताको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश सरकारले लिएको हो । 

सशस्त्र द्वन्द्वका शहीद परिवारका बालबालिकाले आवासीय रुपमा अध्ययन गर्दै आएको सरकारद्वारा सञ्चालित यस विद्यालयमा सीताले अध्ययन गर्नेछिन् । 

गत जेठ ६ गते राति मावलीमा बसेकी सीता सामूहिक हत्याको घटनामा भागेर बाँच्न सफल भएकी थिइन् । हातमा चोट लागेकी उनको झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भएको थियो । 

सामूहिक हत्याको घटनामा सीताका मावलीतर्फका हजुरबुबा बमबहादुर फियाकसहित हजुरआमा, कान्छी सानीआमा र उनकी बहिनी आशिका खजुमको हत्या भएको थियो । 

सीता विगतबाटै मावलीमा बसेर अध्ययन गर्दै आएकी थिइन् । सीताका बाबुले कान्छी आमा ल्याएपछि उनकी आमाले समेत दोस्रो विवाह गरेकीले उनी वृद्ध हजुरबुबा हजुरआमासँग बस्दै आएकी थिइन् । 

उक्त घटनामा उनकी माइली ठूलीआमा जस्मिता फियाक (शेर्मा) सहित शेर्माको परिवारका पाँच जनाको समेत हत्या भएको थियो । 

हत्यामा बमहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमलाई मुख्य अभियुक्त मानिएको छ  । माखिमको शव जेठ ७ गते उनको घर नजिकै मिक्लाजुङ गाउँपालिका–७ लुमाङ्दिनमा फेला परेको थियो । 

श्रीमती मनकुमारीसँग सम्बन्धबिच्छेद गर्नुपरेको झोकमा उनले ससुराली र साढुदाइको परिवारका नौ जनाको सामूहिक हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनाबारे प्रहरीले अझै अनुसन्धान जारी राखेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप