केन्द्रीय संस्करण
परम्परागत नीतिकथा

कछुवा र बाँदर

person explore access_timeजेठ १८, २०७६ chat_bubble_outline0

एउटा जंगलमा बाँदर र कछुवा घनिष्ट मित्र थिए । दुवैका बस्ने वास अलग अलग ठाउँमा थिए । दुवै एकार्कालाई आफ्आफ्ना घरमा बोलाइरहन्थे र आदरसत्कार गरिरहन्थे ।

एक दिन ती दुवै मित्र घुमफिर गर्ने विचारले बाहिरी यात्रामा निस्के । केही परपुगेका मात्र थिए, हुरीले ढालेको केराको एउटा थम्बा देखे । कछुवाले भन्यो, अहा केराको बोट । लैजाउँ, यो काम लाग्छ । बाँदरले आफ्नो चतुर्‍याइँ देखाउँदै भन्यो, हो त नि ल लैजाउँ । तिनीहरुले केराको थम्बा घिसारेर घरनजिकै पु¥याए ।

“अव भाग लगाउनुपर्‍यो,” बाँदरले भन्यो ।

“तपाइँ कतापट्टि लिनुहुन्छ ?” मित्रता जनाउँदै कछुवाले भन्यो ।

बाँदरले थम्बातिर हेर्दै भन्यो, “म टुप्पापट्टि लिन्छु, हुन्न ?”

“हुन्छ !”कछुवाले मन्जुरी दियो ।

केराको बोट बीचमा काटेर टुप्पापट्टिको भाग बाँदरले लग्यो । टुप्पामा केरा फल्छ । टुप्पापट्टि लिनु बुद्धिमानी हो भन्ने बाँदरले सोचेको थियो । कछुवाले फेदपट्टिको टुक्रा लग्यो । घरनजिकै खाडल खनेर त्यसलाई सा¥यो । केही दिनपछि थम्बामा गुवो पलायो । गुबोबाट बुंङ्गो निस्क्यो । क्रमशः केराको घरी लाग्यो ।

बाँदरले लगेको थम्बा भने दिनदिनै ओलाउँदै र सुक्दैगयो ।

कछुवाको बारीमा केरा फल्यो । राम्रो पहेँलो लदाबदी पाकेको केरा घरी हेरेर कछुवा रमाउँदै थियो । बाँदर टुप्लुक्क आइपुग्यो ।

पाकेको केरा देखेर मुखमा पानी भर्दै बाँदरले भन्यो, “मित्र, केरा पाकेछ ! यो अव कसरी टिप्नुहुन्छ त ?तपाइँ त रुख चढ्न सक्नुहुन्न क्यारे ?”

“मेरा हजुरबा रुख चढ्न सिपालु हुनुहुन्छ वहाँसँग सल्लाह गर्नुपर्ला !” कछुवाले भन्यो ।

“हजूरबा बूढा मान्छे ! वहाँको गोडा पनि बिरामी छ , वहाँ कसरी चढ्नसक्नुहोला र ?” बाँदरले शंका निकाल्यो

“मेरो भाइ जब्बरको छ ! उ चढ्न सक्छ कि ?” कछुवाले भन्यो ।

बाँदरले मायालु पारामा भन्यो, “तपाइँका भाइको पनि आँखा कमजोर छ !  वहाँलाई यो खतरकनाक काममा किन लगाउनु ? रुखमा म जान्छु । मैले टिपेर खसालेपछि तपाइँहरु यहीँ बसेर केँरा खानुहोला हुन्न ?”

कछुवाले “हुन्छ” भनेपछि बाँदर केराको रुखमा चढ्यो र एक एक कोसा केरा चुँडेर पकापक खान थाल्यो । केरा खाइसकेपछि बोक्राचाहिँ कछुवा भएतिर फालिदिन्थ्यो । कछुवालाई बाँदरको व्यवहार नराम्रो लाग्यो । उसको नियतै खराब भएको बुझेर कछुवाले हल्ला नगरिकन बाँदर ओर्लने ठाउँमा तिखातिखा काँडा ल्याएर ओच्छ्याइदियो । केरा खानमा लट्ठििएको बाँदरले त्यो चालै पाएन ।

केरा खाँदा खाँदा थामिनसक्नुको भुँडी भएपछि बाँदर रुखबाट तल हामफाल्यो । उसका जिउभरि काँडैकाँडा रोपिए । आत्था र एैया भन्दै बाँदरले चारैतिर हे¥यो । त्यहाँ कोही थिएन । बल्ल बल्ल काँडा थुतेर बाँदर कछुवाको खोजमा निस्क्यो । कछुवालाई भेटेर बदला लिने बाँदरको विचार थियो ।

‘यो बाँदर त सत्तामा पुगेपछि मुलुकको गुदी खाएर जनतालाई पुलिस प्रशासन लाठाले हिर्काउने नेपालका राजनेताजस्तै पो रहेछ !’ एकान्तमा बसेर कछुवा सोच्दै थियो । बाँदरले फेला पा¥यो । पक्राउ गरे बाँदरले भन्यो, “तैँले मलाई धोका दिइस् ! म तँलाई आगोमा पोलेर खान्छु !!”

यो सुनेर कछुवाले भन्यो, “आगो ? त्यो त मलाई अति नै मन पर्छ । राता राता झर्झराउँदा फिलिंगाहरु ! अहा कति प्यारो लाग्छ मलाई आगो !!

बाँदरले सोच्यो, ‘यसलाई यस्तो मन पर्ने आगोमा किन पोल्ने ?’ “त्यसो भए तँलाई खुकुरीले काटेर टुक्रा टुक्रा पार्छु !” बाँदरले भन्यो ।

“जति टुक्रा त्यतिवटै कछुवा ! अहिले म एउटा छु, त्यसपछि तिम्रा वरिपरि कछुवैकछुवा सलबलाउनेछन्् !! हुन्छ काट, बरु धेरै टुक्रा पार !!!” कछुवाले हाँस्दै भन्यो ।

‘लौ यसलाई त काटेर पनि नहुनेरहेछ’ भन्ने सोच्दै बाँदरले भन्यो, “म तँलाइृ काट्दिनँ । तँलाई म उ त्यो गहिरो खोलामा हालिदिन्छु !”

यस पटक कछुवा आत्तिएजस्तो देखियो र भन्यो, “बाँदर महान्, मेरा मित्र, अरु जे गरे पनि मलाई गहिरो खोलामा चाहिँ नहालिदिनुहोस् । बरु मलाई पोल्नोस् काट्नोस् !”

“एः त्यसो ? तँलाइ त म खोलैमा हाल्छु !” रिसाएको बाँदरले कछुवालाई दह्रोसुत समात्यो र घिसार्दै लगेर गहिरो खोलामा खसालिदियो । कछुवा खोलामा खसेको केही छिनपछि त्यहाँबाट एउटा आवाज आयो । बाँदरले हे¥यो, कछुवाले बडेमानको माछा समातेको रहेछ ।

बाँदरले माछा खान नपाएको धेरै दिन भएको थियो । उसले आफ्नो कर्तूत बिर्सेर भन्यो, “मित्र, त्यो माछा मलाई पनि भाग लाउने हैन ?”

“यो किन ? अर्को झन् ठुलो माछा छ यहाँ आऊ । तिमी बलिया पनि छौ र छिटो पनि छौ । आऊ हेर, कति ठूलो माछा !” कछुवाले पानीभित्र पसारिएको चच्चे ढुंगातिर देखाउँदै भन्यो ।

लोभी बाँदरले ढुंगालाई साँच्चै बडेमानको माछा देख्यो । त्यसलाई तुरुन्तै समात्ने हतारोमा झ्वाम्म फाल हाल्यो । चुच्चे ढुंगामा बजारिँदा टाउको फक्लक्कै फुट्यो । बेहोस भएर त्यो बाँदर तत्काल त्यहीँ ढल्यो ।

कछुवाले साथीहरुलाई बोलायो र बेहोस बाँदरलाई तान्दै किनारमा पु¥यायो । जडीबुडी जुटाएर उपचार ग¥यो । बाँदर होसमा आयो । उठेर टुक्रुक्क बस्यो ।

“बाँदरमित्र, तपाइँको लोभ,र हतारले अहिले यो हविगत भयो । अव अगाडिका दिनमा इमानदार र होसियार भएर जीवन चलाउनुहोला है !”

कछुवाको कुरा सुनेर बाँदर लज्जित भयो । कछुवाका अनुहारतिर हेर्नै सकेन । फरक्क फर्केर लुरुलुरु जङ्गलतिर लाग्यो ।

कछुवा फर्कँदो बाँदरलाई हेरेर मुसुमुसु हाँसिरहेको थियो ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...