बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी हुन् गौतमबुद्ध रंगशालामा डोजर लगाउने ‘नाइके’, पार्टीबाट निलम्बित

बिहीबार, १६ जेठ २०७६, २० : ४४
बिहीबार, १६ जेठ २०७६

चितवन । भरतपुर महानगरपालिकाले क्रिकेट रंगशालामा डोजर लगाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुर– १५ मा निर्माणाधीन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही अराजक व्यक्तिहरुले गरेको तोडफोड र डोजर लगाएर सार्वजनिक सम्पत्ति क्षति पु¥याउने कार्य गरिएकोमा उक्त आपराधिक कार्यप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् । 

‘सुनियोजित रुपमा घटेको आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्न चाहन्छु । महानगरको तर्फबाट यस गैह्रकानुनी कार्यमा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानुनी कारबाही र क्षतिको एकिन गरी विगोबमोजिम क्षतिपूर्ति भराउने कार्यका लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।

दाहालले जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यलाई निरन्तरता दिन धुर्मुस–सुन्तली फाउन्डेसनलाई अनुरोध गरेकी छन् । 

साथै उक्त आयोजनाको सफल कार्यान्वयनका लागि सबै पक्षबाट पूर्ण सहयोग हुने विश्वासका साथ प्रतिबद्धता समेत व्यक्त गर्न चाहेको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन् । 

नेकपाको विरोध
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  चितवनले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरको छ । 

जिल्ला अध्यक्ष यमबहादुर परियारले बिहीबार विज्ञप्ति जारी गर्दै तारवार भत्काउने घटनाका मुख्य नाइके पार्टी सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्बन गरी कारबाही गरिएको बताएका छन् । 

विज्ञप्तिमा अर्का पार्टी सदस्य भैरव बस्ताकोटीलाई भने दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको उल्लेख छ ।

नेपाली काँग्रेस चितवनको ध्यानाकर्षण
यस्तै नेपाली काँग्रेस जिल्ला कार्य समिति चितवनका सभापति जीतनारायण श्रेष्ठले गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला केही अराजक र उदण्ड समूहले भत्काई निर्माण कार्यमा अवरोध गरेको घटनाका सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

उनले विहीबार विज्ञप्ति जारी गर्दै रंगशालाको बार भत्काउनेलाई कानुनी कारवाही गर्न सरकारसँग माग गरेका छन् ।  

यस्तै चितवनका अन्य पार्टीहरुले पनि घटनाको भत्र्सना गरेका छन् । सामाजिक सञ्जालमा पनि देश विदेशबाट विभिन्न संघ संस्था तथा व्यक्तिहरुले उक्त घटनाको तीव्र विरोध गर्दै दोषीलाई हदैसम्मको कारवाहीको माग गेरका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप