बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लिङ्गभेदलाई हराउँदै लोकसभा चुनाव जितेका दुई कलाकार

बुधबार, १५ जेठ २०७६, १३ : ४४
बुधबार, १५ जेठ २०७६

सौर्योदिप्तो सन्याल

सन् २०१९ को लोकसभा चुनावमा प्रतिस्पर्धाका लागि तृणमूल कांग्रेसले १७ महिलालाई टिकट दियो । तीमध्ये दुईजना बङ्गाली फिल्म र टेलिभिजनसँग आबद्ध नायिका थिए – मिमी चक्रवर्ती र नुसरत जाहान । उनीहरुलाई प्रतिष्ठित जाधवपुर र बासिरहत सिटमा लड्ने जिम्मेवारी सुम्पिएको थियो । यद्यपि, उनीहरुसँग राजनीतिसम्बन्धि यसअघि कुनै अनुभव थिएन ।

चक्रवर्ती र जाहानलाई भारतका अन्य स्थानमा धेरैले नचिनेपनि उनीहरु बङ्गाली भाषीबीच निकै चर्चित छन् ।

बासिरहतबाट जाहानले ३ लाख ५० हजार ३ सय ६९ भोटले जीत हासिल गरिन् भने मिमी चक्रवर्ती २ लाख ९५ हजार २ सय ३९ भोटसहित अग्र स्थानमा आइन् । तृणमूल काँग्रेसले सन् २०१४ को लोकसभा चुनावमा पनि यो दुई सिटमा जीत हासिल गरेको थियो ।

उनीहरुको जीत यसकारण पनि महत्वपूर्ण थियो किनभने राजनीतिमा प्रवेश गरेको जानकारी सार्वजनिक भएदेखि नै यी दुई ट्रोलर्सको निशानामा परेका थिए ।

ममता बनर्जीले यी बङ्गाली नायिकाहरुलाई चुनावी मैदानमा उतार्ने घोषणा गरेदेखि नै सोसल मिडियामा यी दुई अत्यधिक आलोचित हुनुपर्‍यो ।

ट्वीटर प्रयोगकर्ता @iAssangeJulian ले यी दुईको नाचिरहेको भिडियो सेयर गर्दै लेखे, ‘चुनाव.. ? तृष्णमूल लोकसभा प्रतिद्वन्द्वी मिमी चक्रवर्ती र नुसरत जाहानले आ–आफ्ना निर्वाचन क्षेत्रका लागि यसरी भोट माग्दै । किप इट अप बेब्स !’

युट्युबमा राखिएको त्यही भिडियोमा अर्का प्रयोगकर्ताले बङ्गालीमा यस्तो कमेन्ट गरे, ‘तिमीले आफ्नो टप्स (टिसर्ट) फुकालेर नाचे पनि म तिमीलाई भोट दिने छैन ।’

अर्का ट्वीटर प्रयोगकर्ता @hemantraha ले जाहान र चक्रवर्तीको ‘पाउट’ गरिरहेको तस्बिर पोष्ट गर्दै क्याप्सन लेखे, ‘नुसरत जाहान र मिमि चक्रवर्तीले आ–आफ्ना निर्वाचन क्षेत्रका लागि भोट माग्दै ।

उनीहरुलाई यस्तै तल्लो स्तरको भाषाको प्रयोग गरी आलोचना गरिएका थुप्रै कमेन्ट देख्न सकिन्छ ।

यी दुईको प्रभावशाली जीतपछि पनि उनीहरुमाथि कटाक्ष हुन छोडेको छैन । चक्रवर्तीले आफ्नो जीतपछि पत्रकार सम्मेलनमा गरेको सम्बोधनमा एकजनाले कमेन्ट गरे, ‘मलाई लाग्छ, मलाई लाग्छ.... ओइ म्याडम ! यो टलीवुडजस्तो होइन ।’

तर, जाहान र चक्रवर्तीभन्दा पाका उमेरका पुरुष सेलिब्रिटी, चर्चित व्यक्तित्व र अभिनयबाट राजनीतिमा प्रवेश गरेकाहरुले कहिले पनि यस्तो रोषको सामना गर्नु परेन ।

सन् २०१४ को लोकसभा चुनावमा तृणमूलले भारतीय फुटबल खेलाडी भाइचङ्ग भुटिया र हार्वाडका इतिहासकार सुगता बोसलाई उतारेको थियो । यस्तै, भारतीय जनता पार्टीले बलिउड गायक बबुल सुप्रियोलाई चुनावी मैदानमा उतारेको थियो । यीमध्ये कसैले पनि राजनीतिमा नयाँ भएकैमा यत्तिका प्रहार सहनु परेन ।

सन् २०१४ र २०१९ को लोकसभा चुनावमा तृणमूलले देव (दीपक अधिकारी), चर्चित बंगाली नायकलाई घाताल निर्वाचन क्षेत्रका लागि उतारेको थियो ।

न्यूज १८ बङ्गलाले गत मार्च महिनामा जाहान र चक्रवर्तीसँग लिएको अन्तरवार्तामा वरिष्ठ पत्रकार विश्व मजुम्दरले भने, ‘देव पनि पछिल्लो पटक चुनावी मैदानमा उत्रिएका थिए । देवले पनि जिते । तर उनले यस्तो आलोचना सहनु परेन । किनभने तपाईंहरु महिला हुनुहुन्छ... ।’

‘किनभने उनी पुरुष हुन् । त्यसकारण त्यस्तो केही भएन,’ मजुम्दरलाई बीचमा रोक्दै चक्रवर्तीले भनिन् । यसमा जाहानले पनि स्वीकारोक्ति जनाउँदै भनिन्, ‘पक्कै पनि ।’ चक्रवर्तीले थपिन्, ‘के देवले कहिले पनि आफ्नो सर्टलेट फोटो पोष्ट गरेनन् होला ? म पक्का छु, उनले यस्तो गरेका छन् ।’

चक्रवर्तीले पनि आफूमाथि विपक्षी पार्टीद्वारा गरिएको लिङ्गभेदी टिप्पणीबारे कुरा गरेकी छिन् । मार्चमा चुनावी अभियानका क्रममा उनले आफ्ना विपक्षी नेताले कुर्ता सुरुवाल लगाएर अभियान चलाएर आफूलाई  जिस्काएको भन्दै आलोचना गरेकी थिइन् । किनभने उनले धेरैजसो जिन्स नै लगाएर चुनावी अभियान गरिरहेकी थिइन् ।

त्यतिबेला उनले भनेकी थिइन्, ‘अन्य पार्टीका महिलाले सलवार लगाएपछि काम गर्न सक्ने, सारी लगाएपछि काम गर्न सहज हुने बताइरहेका छन् । यदि मैले जिन्स लगाएँ भने के म काम गर्न नसक्ने हुन्छु ? के कहिले त्यस्तो दिन आउँला ?’

जाहान र चक्रवर्ती चौतर्फी आलोचनाका बीच पनि अडिग रहे । उमेर र लैङ्गिकतामाथि पटकपटक प्रहार हुँदा पनि उनीहरुले अत्यधिक भोटसहित प्रभावशाली जित हासिल गरे । उनीहरुको यो जीत पश्चिम बंगालका थुप्रै महिलाका लागि प्रेरणादायी कथा हो ।

द वायरबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप